मंगली थामीको राष्ट्रियता
श्रीबाबु कार्की ‘उदास’
चौतर्फी नापेर सुस्पाको आकाश
हरेक दिन
आफ्ना वाचाल ओठहरूमा आफैं लगाउँछे
मंगली थामी आफ्नै जीवनविरुद्ध
कडा निषेधाज्ञा !
सुसाउँछे, सुस्केरा छोडेर तामाकोसीझैं
र भन्छे
अरूजस्तै म पनि हुँं
यही देशको नागरिक
पुर्खौंदेखि आफ्नो थातथलो
थामेर बसेको
थामीकै एक थोपा रगत हुँ म
मैले पनि यो देशको परिवर्तनमा
पुर्खाहरूले जस्तै
गाएकै हुँ स्वतन्त्रताको गीत
र भनेकै हुँ, इन्क्लाब– जिन्दावाद !
निरंकुशता– मुर्दावाद !!
मेरो पनि आँखाका पत्रहरूमा
चप्केको छ
यो देशका लागि मर्ने सहिदहरूको दृश्य
हो, मैले पनि थामी झाँकी नाच्दै
कैयौंपटक आन्दोलनहरूमा
गरेकै हुँ, निरंकुशताविरुद्ध हुँकार !
आज मौन छे मंगली थामी
र, उसका वाचाल ओठहरू
छन चुपचाप र चुपचाप !
हरेक दिन सपना भएर
वायुपंखी घोडामा सवार
इन्द्रेणी पखेटा फिजाएर उडिजाने
मंगली थामीका सपना
ब्युँझनुअघि–
फिर्की सकेका हुन्छन् स्वप्न संसार
बिहान उठेदेखि
बेलुकी नसुतेसम्म
अभावहरूमा रिंगिँदा–रिंगिँदै
दुःखहरूमा पिल्सिँदा–पिल्सिँदै
त्यही सुस्पाको सिरेटोले सिटिरहँदा
त्यही सुस्पाको पीडाले पोलिरहँदा
जस्तै भए पनि
भनेकी छैन, मंगली थामीले
नाथे देश मुर्दावाद !
नाथे लोकतन्त्र मुर्दावाद !!
जीवनभर पीडाका लट्ठामा पिङ खेलिरहँदा
मंगली थामीले अहँ
अलिकति पनि सोच्दै सोचेकी छैन
देश टुक्राउने सपना
वोन्साईजस्तै
गमलामा खुम्चिएको वनस्पतिझैं
खुम्चिनुको पीडाभित्रबाट
बिर्सेर विरह
भुलेर दुःखका चाहहरू
सम्झिएर सहिदका अनुहारहरू
अहँ ! पटक्कै भनेकी छैन आजसम्म
मंगली थामीले ‘नाथे देश मुर्दावाद !’
‘नाथे लोकतन्त्र मुर्दावाद !!
पुर्खौदेखि,
कोही आएका छैनन् मंगली थामीका दरसन्तान
यो देशको अग्रभागमा
कोही पुगेका छैनन् मंगली थामीका दरसन्तान
यो देशको नीति निर्माणमा
तथापि–
आफ्नै वाचाल ओठहरूमा
लगाएर निषेधको पर्खाल
लगाएर आफ्नै विरुद्ध कडा निषेधाज्ञा
चुपचाप छे मंगली थामी
चुपचाप छ उसको सपना
चुपचाप छ उसको चाहना
बिहान सखारै
टाउकोमाथिबाट उदाउने घाम
र,
देशको अनुहार उस्तै लाग्छ
पोतेका लुङमा उनेको
तिलहरीको काँडाजस्तो मेरो देश
भन्छे, ‘पिरिमले टाँसेकी छु छातीमा ।’
हुरीले बढारेर लैजाने यी परिवर्तनका खेस्रा कागज
अथवा
सुस्पाकै सिमसारमा उम्रेको पानीझारमा
देख्दिनँ उस्तो भिन्नता
तथापि
उक्लिँदा हरेकचोटि चरिकोट
सरकारी कार्यालयमा पीपलको पातझैं फर्फराउने
देशको राष्ट्रिय झन्डा हेरेर
अहँ ! भन्दै भनेकी छैन
मंगली थामीले
नाथे देश–मुर्दावाद !
नाथे लोकतन्त्र–मुर्दावाद !
(सुस्पा, दोलखाको एक थामी गाउँ हो । )
Leave a Reply