२६ फाल्गुन २०७७, बुधबार ०४:५७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
दुई गजल
लीलाराज दाहाल
पीठो दिई चामल साट्ने तिम्रै बानी रहिछ
चाप्लुसीको डोरी बाट्ने तिम्रै बानी रहिछ !
अघि पर्दा चाकरीको तेल लगाउँछौ
पछिल्तिर कुरा काट्ने तिम्रै बानी रहिछ !
स्वार्थ पूरा हुँदासम्म नजिकिए पनि
बासी दूधजस्तै फाट्ने तिम्रै बानी रहिछ !
तिमी कस्ता छौ भनेर बल्ल थाहा भयो
मीठो भेटे जुठो चाट्ने तिम्रै बानी रहिछ !
तराजुमा जोखेर नै बेच्छौ इमान पनि
रुपैयाँमा आत्मा साट्ने तिम्रै बानी रहिछ !
बताऊ कथा लौ ससाना पुराना
निकाल्दै सुसेल्दै ल गाना पुराना
बढी भो कि के हो क–कस्ले भरेका
निकाले यिनैले कि माना पुराना
कि हामी यिनैका छलैमा थियौं कि
खुवाई पठाथे कि दाना पुराना
अहो प्रेमको यो निसानै हरायो
सजाई पठाए कि पाना पुराना
Leave a Reply