राष्ट्रपति जोडिएको कार्यक्रम अलपत्र
बुधवार डेस्क
काठमाडौं । राष्ट्रपतिको नाम जोडेर विभिन्न कार्यक्रम ल्याइन्छन् । त्यस्ता कार्यक्रम वा आयोजनाका निम्ति करोडौं, अर्बौं बजेट पनि छुट्याइन्छन् । तर, त्यस्ता कार्यक्रम भने प्रभावकारी नहुनुका साथै अलपत्रसमेत पर्दै आएका छन् ।
आर्थिक वर्ष २०७७÷७८ को सरकारको नीति तथा कार्यक्रममा उल्लेख ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ पनि अलपत्र पर्ने सम्भावना बढेको छ । कार्यक्रम आएको करिब पाँच महिना बित्न लागे पनि अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो कार्यक्रमलाई अघि बढाउन अहिलेसम्म कुनै पहल थालेको देखिँदैन । यो कार्यक्रमका लागि सरकारले ६ अर्बभन्दा बढी नै रकम विनियोजित गरेको छ । देशभरिका शैक्षिक संस्थाहरूमा सुधार गर्ने हेतुले कार्यक्रम ल्याइएको हो । कोरोना महामारी भित्रिएसँगै सबभन्दा धेरै समस्या झेल्नुपरेको शैक्षिक क्षेत्र र संस्थाहरूमा सुधार ल्याउन कार्यक्रम ल्याए पनि र अहिले कोरोनाको संक्रमण दरमा केही कमी आए पनि मन्त्रालयले भने यो कार्यक्रमलाई अघि बढाउन तत्परता देखाइरहेको छैन ।
गएको वर्ष पनि राष्ट्रपतिसँग जोडेर मन्त्रालयले छात्रा कोषसम्बन्धी कार्यक्रम ल्याएको थियो । उक्त कार्यक्रमका निम्ति करोडौं रकम विनियोजन गरेको थियो । तर, छात्रासम्बन्धी कार्यक्रम ल्याए पनि मन्त्रालयले सो रकम खर्च गर्न सकेन । कोरोनाको कारण चैतको दोस्रो हप्तादेखि लकडाउन सुरु भएपछि सो कार्यक्रमका लागि विनियोजित रकम खर्च नहुनुलाई अन्यथा मान्न सकिँदैनथ्यो । तर, यो आर्थिक वर्षमा आएको शैक्षिक सुधार कार्यक्रमको रकम खर्च गर्न सकिने अवस्था र आधार भने छन् ।
राष्ट्रपतिको नाम जोडेर कार्यक्रम ल्याउने र बजेट खर्च नहुने अवस्था देखेरै हुनुपर्छ, केही दिनपूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र शिक्षा सचिव गोपीनाथ मैनालीलाई राष्ट्रपति भवनमा बोलाएकी थिइन् । सो कुराको पुष्टि मन्त्रालयका प्रवक्ता दीपक शर्माले गरिसकेका छन् । सो भेटमा राष्ट्रपति र मन्त्री एवं सचिवबीच के–के विषयमा कुराकानी भयो भन्नेबारे सार्वजनिक त भएको छैन । तर, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबारे भने राष्ट्रपति भण्डारीले चासो राखेको अनुमान गरिएको छ । विगतमा पनि पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति चुरे कार्यक्रमबारे चासो राख्ने र आफूलाई चित्त नबुझेका कुरा मिडियामार्फत व्यक्त गर्ने गरेका दृष्टान्त रहेको हुँदा वर्तमान राष्ट्रपति भण्डारीले पनि राष्ट्रपतिको नाम जोडिएको कार्यक्रम वा आयोजनाबारे चासो राख्ने गरेको हुन सक्ने बताइन्छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply