पुर्नस्थापित प्रतिनिधिसभाको आज पहिलो बैठक, के के छ कार्यसूची ?

काठमाडौं । पुर्नस्थापित प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज (आइतबार) बाट शुरु हुँदैछ । गत पुस ५ गते विघटन भएको प्रतिनिधिसभा फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापना भएपछि पहिलो बैठक आज बस्न लागेको हो । संसद् बैठक अपराह्न ४ बजे बस्दैछ ।
यसका लागि संसद् सचिवालयले सम्भावित कार्यक्रमका सूची तयार पारेको छ । जसअनुसार बैठकको सुरुवातमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् । यस्तै राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पनि पढेर सुनाइने छ । अनि सभामुखको अनुमतिमा सभाको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिने छ ।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ । यसबीच वर्तमान तथा पूर्वसांसदको निधनप्रति शोक प्रस्ताव पनि पेस गर्ने कार्यक्रम छ । तर बैठक शुरु हुनुअघिसम्म सम्भावित कार्यक्रम थपघट हुन सक्ने संसद् सचिवालयले जनाएको छ ।
अधिवेशन शुरु भएपछि अन्त्य हुने अवधिसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने वा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरे त्यसमाथिको कारबाही अघि बढ्ने छ । प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिए संसद् अधिवेशनमा अविश्वासको प्रस्तावबाट वा अन्य विकल्पबाट प्रधानमन्त्रीबाट ओलीलाई हटाउने रणनीति अघि सार्दै नेकपा प्रचण्ड–नेपाल समूह लागिरहेको छ । प्रधानमन्त्रीले राजीनामा नदिए आइतबार नै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा प्रचण्ड–नेपाल समूह छ ।
यता नेकपाको ओली समूह भने वैठकमा सभामुख सापकोटाको भूमिका अनुसार प्रस्तुत हुने तयारीमा छ । प्रचण्ड–नेपाल समूहप्रति सभामुख लचिलो देखिए वैठक अवरुद्ध बनाउने रणनीतिमा ओली समूह छ । संसद् विघटन प्रतिगामी कदम भएको जनाउँदै सडकमा नेकपाकै प्रचण्ड–नेपाल समूह, कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक समाज, सञ्चार क्षेत्र सबैले त्यसको विरोध गरेका थिए ।
संसद् पुनर्स्थापनाको १२ दिनसम्म पनि प्रधानमन्त्री ओलीबाट राजीनामा नआएपछि अबको बाटो कसरी तय गर्ने भन्ने विषयमा प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रतिपक्षी जसपासँग प्रचण्ड–नेपाल समूहले संयुक्त बैठक गर्न सकेन । संसदमा प्रधामन्त्रीले विश्वासको मत लिने र अविश्वासको प्रस्ताव दर्ता हुने विषयमध्ये कुन प्रस्ताव अघि बढ्छ भन्ने विषयमा कांग्रेस र जसपाको अन्तिम निर्णयको पर्खाइमा नेकपाका दुवै समूह देखिन्छन् ।
प्रधानमन्त्री ओलीविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता नहुने, प्रधानमन्त्रीले आफैं विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने हो भने प्रधानमन्त्रीले संसद् अधिवेशन एक दिनमै अन्त्य गर्न सक्ने दाहाल–नेपाल समूहले आशंका गरेको छ ।
संसदमा बहुमत पुग्न १३८ सदस्यको समर्थन आवश्यक पर्छ । ओली समूहको प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ११५ जना रहेको दाबी गरे पनि हस्ताक्षर गर्ने स्थायी सांसदको संख्या ८१ भन्दा माथि छैन । प्रचण्ड–नेपाल समूहमा प्रचण्डलाई संसदीय दलको नेता बनाउन निर्णयमा भाग लिने सांसदको संख्या ११५ जना पुगेको बताइएको छ । १७३ सिट रहेको नेकपा विभाजनको संघारमा पुगेकाले एउटा समूहले बहुमत सदस्य आफ्नो पक्षमा लैजान निकै कठिनाइ रहेकाले अन्य दलको सहायताको आवश्यकता देखिएको हो ।
सम्बन्धित समाचार
-
कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने, संसद सचिवालयमा पत्र दर्ता
-
एमालेमा एकताको बिन्दुको खोजी
-
एमालेको नौ प्रदेश र ६७ जिल्ला नेतृत्वमा पुनर्गठन
-
दलहरुबीच नयाँ समन्वय र समझदारी कायम हुने सभामुखको विश्वास
-
उपत्यकासहित ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
-
प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने
-
तत्काल कुनै क्षेत्र बन्द नहुने, आज नयाँ स्वास्थ्य मापदण्ड सार्वजनिक गरिने
-
अहिलेको संकटको मुख्य दोषी प्रधानमन्त्री – प्रदीप गिरी
-
सभामुखले बोलाउँदा किन गएनन् मुख्यमन्त्री छुट्टै बोलाए सर्वदलीय छलफल
-
लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुन्छ – मन्त्री केसी
-
निर्वाचन आयोगले फैसला नदिनु विडम्बना – नेता नेपाल
-
कांग्रेसको पदाधिकारी बैठक बस्दै
Leave a Reply