आज तीन पार्टीको निर्णायक वार्ता
काठमाडौं । सत्तारुढ नेकपा एमालेमा समानन्तर कमिटीको अभ्यास अघि बढिरहेका बेला नयाँ सत्ता समीकरणका लागि आज (सोमबार) कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच पहिलोपल्ट त्रिपक्षीय छलफल हुँदैछ ।
छुट्टाछुट्टै रुपमा औपचारिक–अनौपचारिक छलफल र संवाद गर्दै आएका तीन दलको आज संयुक्त बैठक बस्न लागेको हो । अन्तरदलीय छलफलका क्रममा कांग्रेस, माओवादी केन्द्र र जसपा समेत प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु अपरिहार्य रहेको निष्कर्षमा देखिएका छन् ।
अहिलेसम्मका छलफलहरु सकारात्मक रहेको निचोडमा रहेका यी तीन दलका नेताहरु ओलीको विकल्पमा निर्णायक निष्कर्ष निकाल्नु पर्ने बेला आएको निचोडमा पुगेको संकेत देखिएको छ । पहिलो चरणको छलफलमा तीनै दल ओलीको विकल्प खोज्ने विषयमा तयार भएको अवस्था रहेकाले यो छलफल गठबन्धनका लागि निर्णायक हुन सक्ने कांग्रेस सभापति देउवा निकट एक नेता बताउँछन् ।
तीन दलीय छलफलको पूर्वसन्ध्यामा कांग्रेस सभापति देउवाले लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने वेला आएको बताएका छन् । देउवाले आइतबार बारामा खेलकुद विभागले स्व. खुमबहादुर खड्काको स्मृतिमा गरेको कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै भनेका छन्, ‘अहिले जो राजनीतिक परिस्थिति विकास भइरहेको छ, एकदमै अन्योल छ । क्लियर स्थिति आइसकेको छैन । क्लियर स्थिति नआएसम्म कांग्रेसले बोलेर काम छैन । प्रधानमन्त्री पदका लागि कांग्रेस लोभी छैन, तर आइहाल्यो भने भाग्ने कुरा पनि छैन ।’
प्रधानमन्त्री ओलीको विकल्प खोज्न माओवादी केन्द्र र जसपा समेत तयार भएपछि देउवाले नै तीन दलीय बैठकको संयोजन गरेका छन् । बैठक सोमबार अपराह्न २ बजेपछि देउवानिवास बुढानीलकण्ठमा बस्दै छ । बैठकमा तीन दलका तर्फबाट प्रतिनिधिमूलक रूपमा शीर्ष नेताहरू सहभागी हुनेछन् । कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला बैठकमा सहभागी हुँदै छन् ।
यस्तै, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा जसपाका तर्फबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो सहभागी हुँदै छन् । तीन दलका बीचमा छुट्टा–छुट्टै छलफल भए पनि अहिलेसम्म गठबन्धन बन्ने कि नबन्ने र गठबन्धन गर्दा त्यसको नेतृत्व कसले गर्ने भन्ने विषय नै टुंगिएको छैन ।
जसपाभित्र आफ्नै नेतृत्वमा मात्रै सरकारमा जाने वा आफ्ना मागहरूको सम्बोधन हुने अवस्थामा अरूलाई पनि समर्थन गरेर जाने भन्ने विषयमा मत विभाजित छ । देउवा आफ्नै नेतृत्वमा गठबन्धन सरकार बन्ने अवस्थाका लागि परिस्थितिको पर्खाइमा छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि ओलीको विकल्पका लागि लचिलो भएर प्रस्तुत भएका छन् । तर, नेकपा एकता भंग भएपछि निर्णायक भूमिकामा रहेको जसपाले निर्णय लिन ढिलाइ गर्दा गठबन्धन सरकार निर्माणको छलफल सुस्त छ ।
तीनै दल अहिलेको अवस्थामा ओलीको विकल्प खोज्ने एजेन्डामा सहमत भएकाले सोमबारको बैठकमा गठबन्धनका थप एजेन्डाहरूमाथि छलफल हुने एक नेताले बताए । नेताहरूका अनुसार गठबन्धनका लागि कांग्रेस र माओवादीका ठोस माग वा शर्त छैनन् ।
जसपाले भने सत्ता गठबन्धन गर्न सांसद रेशम चौधरीको रिहाइ, मधेस–थरुहट आन्दोलनका बन्दीको मुद्दा फिर्ता र उनीहरूको रिहाइ र संविधान संशोधनलाई मुख्य मुद्दा बनाएको छ । कांग्रेस र माओवादी केन्द्र दुवै जसपाका मागप्रति सकारात्मक भएकाले सोमबारको छलफल गठबन्धनको नेतृत्व, अवधि र शक्ति बाँडफाँडमा केन्द्रित हुने एक नेताले बताए ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply