झनै निरंकुश र स्वेच्छाचारी बन्दै ओली
बुधबार डेस्क
काठमाडांै । प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुश र स्वेच्छाचारी प्रवृत्ति झनै झ्याँगिँदै गएको छ । पछिल्लो समय, नेकपा (एमाले) का वरिष्ठ नेतालगायत चारजनालाई स्पष्टीकरण सोध्ने उनको कार्यशैलीले उनलाई बाहिरी रूपमा मात्र होइन, आफ्नै समूहभित्र निरंकुश र स्वेच्छाचारी बन्न अझ उत्प्रेरित बनाउँदै लगेको प्रस्ट देखिएको छ । केही दिनअघि प्रधानमन्त्री ओलीले पार्टीको कथित बैठक बोलाएर वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । एउटा ठूलो पंक्तिलाई ‘बाइपास’ गरेर बोलाइएको सो बैठक आफैंमा वैधानिक थिएन । तर, पछिल्लो समय निरंकुश दिशातिर पाइला चालिरहेका प्रधानमन्त्री ओलीले ‘नाङ्लो ठटाएर हात्ती तर्साउने’ शैलीमा चार नेतालाई स्पष्टीकरण सोधेका छन् ।
प्रधानमन्त्री ओलीको स्पष्टीकरणको भागीदार बनेका चारैजना नेताहरू पार्टीभित्र इमान र प्रतिष्ठाका कारण चर्चित छन् । वरिष्ठ नेता नेपालको नैतिक इमानदारीलाई लिएर चर्चा मात्र हुने गर्दैन, ओली समूहका नेताहरूले पनि नेपालको इमानदारीलाई स्विकार्दै आएका छन् । उपाध्यक्ष रावल आफ्नो अडानमा स्पष्ट नेताका रूपमा चिनिन्छन् । उपमहासचिव भुसाल वैचारिक नेताका रूपमा स्थापित छन् भने पाण्डे भद्र र शिष्ट नेताका रूपमा चिनिन्छन् । तर, ओलीले पार्टीभित्र नैतिक रूपले उच्च र कुनै खोट, दाग नलागेका नेताहरूलाई स्पष्टीकरण सोधेर के–कस्तो सन्देश प्रवाहित गर्न खोजेका हुन् ? ओली पक्षकै नेता÷कार्यकर्ताहरूले उनीमाथि प्रश्न सोझ्याउन थालेका छन् । प्रधानमन्त्री ओलीले चार नेताहरूलाई स्पष्टीकरण सोधेर आत्मरतिमा रमाउन चाहे पनि उनकै समूहका अरू नेताहरू भने यो प्रकरणमा सन्तुष्ट नरहेको बुझिएको छ । यी चार नेतालाई स्पष्टीकरण सोध्नुको औचित्य नरहेकोमा ओली समूहकै केही नेता स्पष्ट रहे पनि ओलीको निरंकुश, स्वेच्छाचारी र दादागिरी शैलीसामु ती नेताहरूले मुख खोल्न नसकिरहेको बताइन्छ । प्रधानमन्त्री ओलीसामु उनकै समूहका वरिष्ठ नेताहरू निरीह बन्दै गएका छन् । पछिल्लो समय सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पूर्ववत् अवस्थामा फर्काउने फैसला गरेसँगै प्रधानमन्त्री ओलीमा झनै दम्भ, घमण्ड र चुरीफुरी बढ्दै गएको बताइन्छ । उनी अझ निरंकुश र स्वेच्छाचारी बन्दै गएको निष्कर्ष निकाल्न थालिएको छ ।
प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललगायत तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएपछि अहिले ओलीलाई प्रश्नसहित स्पष्टीकरण दिने तयारीमा चारैजना नेता जुटेका छन् । आफूले चालेका सबै कदम उचित देख्ने ओलीलाई मुखभरिको जवाफ दिनेगरी ती नेताहरूले स्पष्टीकरण बुझाउन लागेका हुन् । फागुन २८ गतेको बैठक किन बोलाइयो ? कथित केन्द्रीय कमिटीको बैठकमा आफूहरूलाई निमन्त्रणा नै नगरी किन केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा परिणत गरियो ? त्यति मात्र होइन, प्रधानमन्त्री ओलीले पार्टीमा कसैसँग सामान्य छलफलसमेत नगरि माओवादी केन्द्रसँग पार्टी एकता किन गरे ? एमाले विघटन र जबज परित्यागको कागजमा किन हस्ताक्षर गरे ? प्रचण्डसँग आधाआधा सरकारको नेतृत्व गर्ने भनेर किन सही गरे ? सही गरिसके पछि त्यसको पालना किन गरेनन् ? एकीकृत पार्टीको बैठकबाट किन भाग्दै हिँडे ? विघटन असंवैधानिक भनेर अदालतले फैसला गरिसकेपछि सार्वजनिक रूपले किन आत्मालोचना गरेनन् ? अदालतले एमाले ब्यँुताएपछि पार्टीका सम्पुर्ण सांगठनिक संरचनाहरूलाई पुनःस्थापना गर्न किन तयार भएनन् ? नवौं महाधिवेशनले निर्माण गरेको विधान मान्न किन तयार भएनन् ? पार्टी प्रवेश नगरी, सदस्यता पनि प्राप्त नगरेका मान्छेलाई कसरी केन्द्रीय सदस्य नियुक्त गरे ? पार्टी फुटाएर चुनावमा जाने र प्रतिक्रियावादीहरूलाई चुनाव जिताउने षड्यन्त्र गर्ने दुस्साहस किन गरे ? यस्ता प्रश्नै प्रश्नको कठघरामा उभिएका छन् ओली ।
सत्ताको मात अस्थायी हुन्छ । यो पार्टी निर्माणमा दशकौं लामो समय व्यतीत गरेका नेताहरूलाई तेजोबध गर्न चालिएका प्रधानमन्त्री ओलीका कदम सत्ताको उन्माद रहुन्जेल रोकिने छाँटकाँट छैन । सत्ता अस्थायी कुरा हो । सत्ताबाट बाहिरिएका दिन प्रचारविभाग प्रमुख योगेश भट्टराईले भने झै केपी ओलीसँग आशु पुछ्ने मान्छे पनि साथमा नहुन सक्छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply