केपी ओलीको हृदय परिवर्तन गराउन सकिन्छ भन्नु मृगमरिचिका मात्रै हो
डा. विजयकुमार पौडेल
१. एकीकरणको दौरानमा जे–जस्ता कमजोरीहरू रहेका भए तापनि २०७५ जेठ ३ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का बीचमा एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गर्नु ठीक थियो । त्यही एकताको जग बसाल्न गरिएको साझा मोर्चागत प्रदेशसभा र प्रतिनिधिसभाको उमेदवारीको प्रक्रिया पनि ठीक थियो । पार्टीको नाम विवादको निहुँ बनाएर सर्वोच्च अदालतमा दायर गरिएको मुद्दाउपर कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत बनाउने गरी आएको राजनीतिक फैसलाको वर्गीय सार र कम्युनिस्ट आन्दोलनलाई धराशायी बनाउने राष्ट्रिय–अन्तर्राष्ट्रिय रणनीतिको व्याख्या विश्लेषणतिर नलागी बिना कुनै कारण एकता भंग गरेर हिँड्नु गम्भीर त्रुटि थियो ।
यो त्रुटि सच्याउन हामी जति ढिलो गर्नेछौं, त्यति नै गम्भीर पथ विचलनको दलदलमा फँस्दै जानेछौं, अवसरवादका नयाँ–नयाँ रूप र प्रवृत्तिका सिङ र जुरो हामीभित्रैबाट उठ्न थाल्नेछन् । गल्ती सुधार्न जतिजति ढिलो गर्दै जानेछौं, त्यतित्यति हाम्रो क्रान्तिकारी धार भुत्ते हुँदै जानेछ, हामी झन् ठूलो घेराबन्दीमा फस्नेछौँ ।
२. जनअनुमोदित भइसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटाउन संस्थागतरूपमा गुटबन्दी गर्ने, मनपरी ढंगले सरकार सञ्चालन गर्ने, सरकारलाई केही निश्चित कम्पनी र व्यक्तिहरूको हितका लागि परिचालन गर्ने, सरकारलाई संस्थागत रूपमा भ्रष्टाचारको अखडा बनाउने, जनताका बीचमा रहेको धार्मिक सहिष्णुतामा दीर्घकालिन विष (स्लो पोइजन) छर्ने उपक्रम गर्ने, नेताहरूको योजनाबद्ध चरित्र हत्या गर्ने र गराउने, त्यस्तो कार्यमा अग्रसर हुने भ्रष्ट आचरण र विवादित छवि भएका मानिसहरूलाई राजनीतिक नियुक्ति दिने, कम्युनिस्ट आचरण–व्यवहार र विचारबाट च्यूत, तीनवटा नीति कार्यक्रम र बजेटमा कतै पनि गरिखाने श्रमजीवी वर्गको हितमा कुनै कार्यक्रम नल्याउने, पार्टीको बैठकमा उपस्थित हुनसमेत नमान्ने, संवैधानिक काम–कारबाहीमा समेत षड्यन्त्र गर्ने, सीमित व्यक्तिको पहुँचमा मात्रै बस्न रुचाउने पार्टी र सरकारका यावत् प्रवृत्तिका विरुद्ध विगतमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकताबद्ध रहेका बखत संघर्ष गर्नु बिलकुल जायज थियो । त्यस्तो प्रवृत्ति बोकेका मानिसलाई कारबाही गर्नु पनि ठीक थियो ।
३. कम्युनिस्ट आन्दोलनले झन्डै सात दशक पूरा गर्ने बेलासम्म आइपुग्दा हजारौं सहिद, लाखौं कार्यकर्ता र लाखौंलाख समर्थक अनि शुभचिन्तकहरूको बलिदान, त्याग र समर्पणको एकमुस्ट अभिव्यक्ति थियो–कम्युनिस्ट पार्टीले प्राप्त गरेको झन्डै दुई तिहाइनजिक रहेको बहुमत । त्यसरी बनेको सरकारलाई श्रमजीवी वर्गको हित हुनेगरी सञ्चालन नगरेर सीमित कम्पनी र स्वार्थ समूहको हितमा परिचालन गर्नु केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनका विरुद्ध गरेको गम्भीर कुठाराघात हो ।
४. नेपालको संविधानको अक्षर र भावनाविपरीत षड्यन्त्रपूर्ण तरिकाले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा भंग गर्ने काम कम्युनिस्ट आन्दोलनको मात्रै होइन, समग्र लोकतान्त्रिक आन्दोलनको विरुद्धमा थियो । यसैले त्यो प्रतिगमनकारी घटना थियो । प्रधानमन्त्रीको सो प्रतिगमनकारी कदमविरुद्ध देशव्यापी रूपमा गरिएको आन्दोलन ठीक थियो । त्यो आन्दोलनका क्रममा एक दिन राखिएको नेपाल बन्दको कार्यक्रम भने बिल्कुलै अनावश्यक र जनभावनाविपरीत थियो ।
त्यो एकदिने बन्दबाहेक आन्दोलनका सबै रूप, तरिका सही र जायज थिए । प्रतिगमनविरुद्ध गरिएको त्यो आन्दोलनले कम्युनिस्ट एकतालाई अझै बढी विस्तारित र एकताबद्ध बनाउने वातावरण तयार गर्दै थियो भने आमजनता र खासगरी युवा पुस्तामा नयाँ जागरण र उत्साह भरेको थियो । देशका सबै राम्रा मानिसहरू, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, वरिष्ठत्तमदेखि लिएर नौजवान अधिवक्ताहरू, सबका सब हाम्रो आन्दोलनका साथमा हुनुहुन्थ्यो । नागरिक आन्दोलनले पनि सही दिशा पक्रिने प्रयास गर्दै थियो । यी सबै कुरालाई विचारधारात्मक व्याख्यामा लैजाने, आन्दोलनका उपलब्धिहरूलाई पुँजीकृत गर्ने कुराको खाँचो छ र सो गर्न सकिने समय अझै बाँकी छ । आन्दोलनका यी उपलब्धीहरूलाई सैद्धान्तिक, वैचारिक र सांगठनिक रूपमा संस्थागत गर्न नलागी अन्यत्र लाग्नु वा प्रतिगमनकारी पक्षसँग यो वा त्यो बहानामा आत्मसमर्पण गर्नु, त्यसो गर्नका लागि अनेक शब्दजाल खोज्न लाग्नु कम्युनिस्ट आन्दोलनका लागि गम्भीर धोखा हुनेछ ।
४. कम्युनिस्ट आन्दोलन विभाजित नहोस् भन्ने भावना आफैंमा पवित्र छ । तर, कुन कम्युनिस्ट आन्दोलन ? पाएको बहुमतलाई बुद्धिमत्तापूर्ण ढंगले परिचालन गरी पार्टी एकतालाई सुदृढ गर्न चाहने, भएको एकतालाई जोगाउने र एकीकरणको विस्तारलाई निरन्तरता दिने, भ्रष्टाचारको विरोध र सुशासनको पक्षपोषण गर्ने, कानुन र संविधानअनुसार सरकार र सत्ता सञ्चालन हुनुपर्दछ भन्ने प्रवृत्तिको कम्युनिस्ट आन्दोलन कि कम्युनिस्ट पार्टीको आवरणमा विभाजन, विखण्डन र भ्रष्टाचारलाई संरक्षण गर्ने पश्चगामी प्रवृत्ति ? कुन रोज्ने ?
हामीभित्रको यौटा प्रवृत्ति देखेर म धेरै दुःखी भएको छु । कमरेडहरू एकताका लागि चिन्तित हुनुहुन्छ । यो राम्रो कुरा हो तर बनिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता जोगाउन बिलकुलै चिन्तित नहुने तर प्रतिगमनकारी भनेर आफैंले त्यति ठूलो संघर्ष गरेको प्रवृत्तिसँग झिना–मसिना सर्त राखेर एकता गर्न तयार हुने प्रवृत्ति आफैंमा पश्चगामी दिशातिर अभिमुख छ । यसो नगरौं, सही बाटो रोजौं । त्यो भनेको नाम जेसुकै होस्, बनिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सांगठनिक संरचनामा फर्कौं । अनि बाँकी अरू कम्युनिस्ट घटकसँग पनि एकताका लागि पहल गरौं ।
५. हाम्रो समूहले इज्जत नामक नाक जोगाउनका लागि राखेका साना–झिना–मसिना सर्त पनि केपी शर्मा ओलीले मान्नुहुन्न । त्यहाँ गएर न त नवौं महाधिवेशनका नीति लागू गर्न सकिनेछ, न त आउने निर्वाचनमा जनताका असल प्रतिनिधिले चुनाव लड्ने टिकट नै पाउनेछन् । केपी ओलीको नेतृत्वमा महाधिवेशनको नाटक हुनेछ र केही देखाउने प्रयोजनबाहेक आम रूपमा सही कम्युनिस्टहरूलाई बढारेर मिल्काइनेछ । बिन्ती, अनुरोध र प्रार्थनाबाट तानाशाहको मन पग्लिँदैन । कसैमा केपी ओलीको हृदय परिवर्तन गराउन सकिन्छ भन्ने लाग्छ भने त्यो कुरा मृगमरिचिका मात्रै हो ।
६. अदालतको राजनीतिक फैसलाको पुनरावलोकन हुनुपर्दछ पनि भन्ने, अदालतले क्षेत्राधिकारबाहिर गएर गरेको फैसला गलत छ पनि भन्ने अनि झिना–मसिना सर्त राखेर प्रतिगमनको प्रवृत्ति बोकेको प्रवृत्तिसँग एकता गरेर पार्टी र आन्दोलन सुधार्छु भन्ने विचार र दृष्टिकोण भनेको दुई नाउमा खुट्टा राख्नुजस्तै हो । दुई नाउमा खुट्टा राखेको मान्छे जँघार तर्दैन भन्ने जानकारी पक्कै छ ।
७. आउने वर्ष दिनभित्रै आम निर्वाचन हुने प्रबल सम्भावना देखिन्छ । राजनीतिमा दिन र काल (टाइम एन्ड स्पेस) को धेरै ठूलो महŒव हुन्छ । हामी छुट्टै समूह बनाएर जान्छौं भने त्यसका लागि स्पेस र चुनावसम्म धेरै गरिसक्न टाइम कम छ भन्ने पनि बुझ्न आवश्यक छ । अर्को कुरा, हामी हरेक काम झारा टराइका रूपमा गरिरहेका छौं । त्यति ठूलो राष्ट्रिय कार्यकर्ता भेला गरियो तर न त कार्ययोजना छ, न कार्यविभाजन छ । के हामी यो सबै सर्वसत्तावादी केपी ओलीसँग बार्गेनिङका लागि गरिरेका छौं ? बैठक वा भेला राख्दा सुस्पष्ट योजनाका साथ राखौं, कार्यकर्ता अलमल्याउने प्रयोजनले काम नगरौं भन्ने अनुरोध गर्न चाहन्छु ।
८. राजनीतिक लाइन भनेको तारमा विद्युतीय करेन्ट प्रवाह भएजस्तै हो, जुन सही दिशामा हुँदा शक्ति र उज्यालो निस्कन्छ भने डबल लाइन क्रस हुँदा आगोले खरानी पनि हुन सक्छ है !
९. स्थानीय निकायका जनप्रतिनिधिहरूलाई आ–आफ्नो ठाउँमा रहेर राम्रो काम गर्नुस् भन्ने र सोका लागि निगरानी राख्दा पुग्छ । माननीय सांसदहरूका हकमा सही काम गर्दै जाने र परिआएको बेहोर्ने कार्यनीति सही हुनेछ । लतारिएर काम छैन ।
१०. कम्युनिस्ट विरोधी देशी–विदेशी प्रतिक्रियावादीहरूको अहिलेको मूल रणनीति भनेको कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न बनाउनु हो । यसलाई असफल पार्ने भनेको सही धारमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउनु हो । बुझे हुन्छ, सही वैचारिक–सांगठनिक कार्यनीतिका साथ एकीकरणमा पुनः अगाडि नबढ्ने हो भने केही महिना वा वर्षपछि केपी ओलीले नेतृत्व गरेको समूह पनि विभाजित हुनेछ ।
गलत प्रवृत्तिको विरुद्ध संघर्ष गर्दै तत्काल कम्युनिस्ट पार्टी एकीकरणको काममा लागौँ ।
(नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नेपाल–खनाल समूहको चैत १४ गते बसेको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य पौडेलद्वारा पेस गरिएको लिखित दस्तावेज)
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply