आजदेखि राष्ट्रिय जनगणना

२५ कात्तिक ,काठमाडौं । हरेक १० वर्षमा गरिने राष्ट्रिय जनगणनाअन्तर्गत १२ औं श्रृङ्खलाको मुख्य गणना आज बाट शुरु गरिँदै छ । यो गणना मंसिर ९ सम्म जारी रहने छ । यसको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत र कुनै कारण छुटेका समेत सबै घरमा पुगेर गणकले १५ दिनभित्र सबै व्यक्तिको विस्तृत विवरण सङ्कलन गर्नेछन् । यसका लागि ४० हजार गणक र ८ हजार ५ सय जना सुपरिवेक्षक परिचालन गर्न लागिएको विभागले जानकारी दिएको छ । जनगणना सफल बनाउन केन्द्रदेखि वडा तहसम्म विभिन्न जनगणना समन्वय तथा सहजीकरण समिति गठन गरिएको विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए ।
उनका अनुसार, जनगणना गर्न सात प्रदेशमा जनगणना कार्यालयसहित ७७ जिल्ला जनगणना कार्यालय र त्यसअन्तर्गत ३४९ स्थानीय जनगणना कार्यालय स्थापना भएका छन् । जनगणनाको फाराममा ८० वटा प्रश्न राखिएका छन् । एक परिवारलाई उत्तर भर्न औसत २० मिनेट लाग्ने बताइएको छ । यस क्रममा देशभरका ६ हजार ७४३ वडाबाट आधारभूत आर्थिक, सामाजिक, सेवा, सुविधा, पूर्वाधार र विपद् अवस्थाको समेत जानकारी सङ्कलन गरी सामुदायिक प्रश्नावली फारम भरिने र यसबाट सम्पूर्ण वडाको वास्तविक जानकारी पाउन सकिने महानिर्देशक श्रेष्ठले बताए ।
उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग कूटनीतिक तबरबाट पहल भइरहेको र स्याटेलाइट प्रविधिबाट घरधुरी गणना गरी त्यसका आधारमा पनि जनगणना गर्न सकिने बताए । यसपटकको जनगणनामा काठमाडौंका ६ नगरपालिकामा डिजिटल पद्धतिमा आधारित क्यापी विधि प्रयोग गरी ट्याब्लेटबाट विवरण सङ्कलन गरिने र देशभरका अन्य स्थानमा कागजी प्रश्नावली प्रयोग हुनेछ ।
यस पटक विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा ई–सेन्सस विधि अपनाई वेबसाइट एप्लिकेसनबाट नेपाली कर्मचारी तथा आश्रित व्यक्तिको विवरण सङ्कलन गर्न लागिएको उनले जानकारी दिए । महानिर्देशक श्रेष्ठका अनुसार घरपरिवार सूचीकरणका आधारमा यसपटकको जनगणनामा नेपालको जनसंख्या ३ करोड नपुग्ने अनुमान गरिएको छ । तीन महिनाभित्र जनगणनाको प्रारम्भिक प्रतिवेदन ल्याइने र पूर्ण विवरण आउन २ वर्ष लाग्ने बताइएको छ ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले हरेक १० वर्षको अन्तरालमा गरिने जनगणनाले राष्ट्रिय र स्थानीयस्तरमा आधारभूत जनसंख्याको तथ्याङ्क तयार गरी आवधिक विकास लक्ष्य तथा दिगो विकास लक्ष्यका अनुगमन र मूल्याङ्कनसँग सम्बन्धित सामाजिक, जनसाङ्ख्यिक र आर्थिक सूचकका लागि समेत सूचना प्रदान गर्न सकिने बताए ।
रासस
सम्बन्धित समाचार
-
अबको चुनावमा एमाले एक्लैले बहुमत ल्याउँछ, सरकारमा पुग्छ : ज्ञवाली
-
निहारिकाको मुद्दामा राष्ट्रपतिको चासो, कानून मन्त्री र महान्यायाधिवक्ता बोलाएर गरिन् ध्यानाकर्षण
-
ओली र लिङ्देनबीच भेटवार्ता
-
नेपाली कांग्रेस दल दर्ताको जिम्मेवारी मुख्य सचिव पौडेललाई
-
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
-
महाकाली नदीमा बगेर २ किशोरी बेपत्ता
-
भदौ ५ देखि ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप
-
मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु अख्तियारको नियन्त्रणमा
-
देउवाले निरन्तर पेलेको भन्दै शेखर पक्षले बोलायो बैठक
-
शितलनिवासअघि निहारिकाको आत्मदाहको प्रयास, प्रहरीले जोगायो
-
गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या
-
आज रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइँदै
Leave a Reply