आजदेखि राष्ट्रिय जनगणना
२५ कात्तिक ,काठमाडौं । हरेक १० वर्षमा गरिने राष्ट्रिय जनगणनाअन्तर्गत १२ औं श्रृङ्खलाको मुख्य गणना आज बाट शुरु गरिँदै छ । यो गणना मंसिर ९ सम्म जारी रहने छ । यसको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत र कुनै कारण छुटेका समेत सबै घरमा पुगेर गणकले १५ दिनभित्र सबै व्यक्तिको विस्तृत विवरण सङ्कलन गर्नेछन् । यसका लागि ४० हजार गणक र ८ हजार ५ सय जना सुपरिवेक्षक परिचालन गर्न लागिएको विभागले जानकारी दिएको छ । जनगणना सफल बनाउन केन्द्रदेखि वडा तहसम्म विभिन्न जनगणना समन्वय तथा सहजीकरण समिति गठन गरिएको विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए ।
उनका अनुसार, जनगणना गर्न सात प्रदेशमा जनगणना कार्यालयसहित ७७ जिल्ला जनगणना कार्यालय र त्यसअन्तर्गत ३४९ स्थानीय जनगणना कार्यालय स्थापना भएका छन् । जनगणनाको फाराममा ८० वटा प्रश्न राखिएका छन् । एक परिवारलाई उत्तर भर्न औसत २० मिनेट लाग्ने बताइएको छ । यस क्रममा देशभरका ६ हजार ७४३ वडाबाट आधारभूत आर्थिक, सामाजिक, सेवा, सुविधा, पूर्वाधार र विपद् अवस्थाको समेत जानकारी सङ्कलन गरी सामुदायिक प्रश्नावली फारम भरिने र यसबाट सम्पूर्ण वडाको वास्तविक जानकारी पाउन सकिने महानिर्देशक श्रेष्ठले बताए ।
उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग कूटनीतिक तबरबाट पहल भइरहेको र स्याटेलाइट प्रविधिबाट घरधुरी गणना गरी त्यसका आधारमा पनि जनगणना गर्न सकिने बताए । यसपटकको जनगणनामा काठमाडौंका ६ नगरपालिकामा डिजिटल पद्धतिमा आधारित क्यापी विधि प्रयोग गरी ट्याब्लेटबाट विवरण सङ्कलन गरिने र देशभरका अन्य स्थानमा कागजी प्रश्नावली प्रयोग हुनेछ ।
यस पटक विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा ई–सेन्सस विधि अपनाई वेबसाइट एप्लिकेसनबाट नेपाली कर्मचारी तथा आश्रित व्यक्तिको विवरण सङ्कलन गर्न लागिएको उनले जानकारी दिए । महानिर्देशक श्रेष्ठका अनुसार घरपरिवार सूचीकरणका आधारमा यसपटकको जनगणनामा नेपालको जनसंख्या ३ करोड नपुग्ने अनुमान गरिएको छ । तीन महिनाभित्र जनगणनाको प्रारम्भिक प्रतिवेदन ल्याइने र पूर्ण विवरण आउन २ वर्ष लाग्ने बताइएको छ ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले हरेक १० वर्षको अन्तरालमा गरिने जनगणनाले राष्ट्रिय र स्थानीयस्तरमा आधारभूत जनसंख्याको तथ्याङ्क तयार गरी आवधिक विकास लक्ष्य तथा दिगो विकास लक्ष्यका अनुगमन र मूल्याङ्कनसँग सम्बन्धित सामाजिक, जनसाङ्ख्यिक र आर्थिक सूचकका लागि समेत सूचना प्रदान गर्न सकिने बताए ।
रासस
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply