मधेस प्रदेशमा आज सार्वजनिक बिदा

४ माघ, जनकपुरधाम । मधेस प्रदेशले आज सार्वजनिक बिदा दिएको छ । प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम तोकिएको खुसियालीमा सरकारले सार्वजनिक बिदा दिएको हो ।
मधेस प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले प्रदेशको नाम र राजधानी टुंगो लागेको अवसरमा मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिइएको बताए ।
सोमबार बसेको प्रदेश सभा बैठकले मधेस नाम र जनकपुरधाम राजधानी रहने प्रस्ताव दुईतिहाइ बहुमतले पारित गरेको थियो । प्रदेशको नाम ‘मधेस’ राख्ने प्रस्तावमा ८० सांसदले पक्षमा मतदान गरे । यसैगरी, स्थायी राजधानी जनकपुरधाम रहने प्रस्तावमा ७८ सांसदले पक्षमा मत दिए । सभामुखसहित एक सय चार सांसद भए पनि मतदान प्रक्रियामा ९९ सांसद सहभागी भएका थिए । एकीकृत समाजवादीका गोविन्द न्यौपाने, कांग्रेसकी शोभा लामा, एमालेकी अनिता यादव र जसपाकी डा. रिना यादव मतदानमा अनुपस्थित रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
मधेस नाममा सत्तारूढ दल जनता समाजवादी, माओवादी, प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादीका सांसदले मतदान गरे । दुईतिहाइ बहुमतका लागि ७० मत आवश्यक पर्ने भए पनि प्रस्तावको पक्षमा ८० मत परेको थियो । मतदानपछि सभामुख सरोजकुमार रायले संविधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेशको नाम मधेस प्रदेश घोषणा गरेका थिए ।
कांग्रेसले प्रस्ताव गरेको मिथिला मधेस, एकीकृत समाजवादी र एमालेले गरेको जानकी प्रदेश तथा कांग्रेसका सांसद राजेश्वरप्रसाद साहले गरेको मध्यमधेस नाम राख्ने प्रस्ताव दुईतिहाइ बहुमत हासिल गर्न नसक्दा खारेज भएको सभामुख रायले जानकारी दिए ।
त्यसैगरी, जनकपुरधाम स्थायी राजधानी तय हुँदा वीरगन्ज महानगरपालिका र वीरगन्ज महानगरपालिकासहित पोखरियादेखि बाराको निजगढसम्मलाई राजधानी बनाउने अरू दुई प्रस्ताव पनि खारेज भए ।
प्रदेशको स्थायी राजधानी जनकपुरधाम हुने राजनीतिक दलहरूको संयुक्त प्रस्ताव बनेको थियो । प्रदेशको नामकरणमा जसपा, लोसपा र माओवादी एक ठाउँ आए पनि कांग्रेस तथा एकीकृत समाजवादी र एमाले अलग–अलग प्रस्तावमा थिए । सभामा सांसदहरू शैलेन्द्रकुमार यादव र भरतप्रसाद साहले मधेस प्रदेशको प्रस्ताव गरेका थिए भने परमेश्वर साह, रवीन्द्र बैठा, उपेन्द्रप्रसाद कुसवाहा, शारदा देवी र भरतप्रसाद साहले जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केबर र पूर्व–पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा)लाई स्थायी राजधानी तोक्ने प्रस्ताव पेस गरेका थिए ।
सम्बन्धित समाचार
-
एमालेको जनमत यथावत छ : उपमहासचिव ज्ञवाली
-
काठमाडौँ महानगरपालिका : बालेन साहको ९,५६३ मतान्तरसहित अग्रता
-
घोराही उपमहानगरमा सत्ता गठबन्धन पराजित, एमालेका नरुलाल विजयी
-
बनेपाको नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी
-
५३४ पालिकाको मत परिणाम : कांग्रेस, २४१, एमाले १५४, माओवादी १०१ वटामा विजयी
-
हालसम्मको मत परिणाम : कांग्रेस २००, एमाले १२४, माओवादी केन्द्र ८६ पालिकामा विजयी
-
भरतपुरको मेयरमा रेनुलाई ८४८ मतको अग्रता
-
बालेनले कटाए १५ हजार मत, स्थापित ८,२८८, सिर्जना ७,२९०
-
एमालेले हटायो नौ महिनादेखि जारी संसदको अवरोध
-
एमालेलाई समाप्त पार्ने प्रयास पूर्ण रूपमा असफल भयाे – शंकर पाेखरेल
-
२८२ स्थानीय तहको मतपरिणाम आउँदाः कांग्रेस ४५.३९, एमाले २७.६५ र माओवादी २१.६३ प्रतिशत तहमा विजयी
-
सुदूरपश्चिम प्रदेश : हालसम्म कांग्रेस १९, एमाले १६, माओवादी नौं पालिकामा विजयी
Leave a Reply