मलेसियाविरुद्ध नेपालको सहज जित, आसिफको अर्धशतक
१६ चैत, काठमाडौं । कसिलो बलिङ अनी आसिफ शेखको अर्धशतक मद्दतमा नेपालले त्रिकोणात्मक टी-२० श्रृंखलामा मलेसियालाई बुधबार ६ विकेटले पराजित गरेको छ ।
ओपनर आसिफ शेखले ५७ रन बनाएपछि मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले १३.४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । आसिफले ३८ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । टी२० मा डेब्यूगरेका विकेटकिपर दिलिप नाथले ७ बल खेल्दै ३ चौका मद्दतमा अविजित १५ रन बनाए ।
लगातार दोस्रो जितपछि नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ । यसअघि पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई १५ रनले पराजित गरेको थियो ।
मलेसियाको भने यो पहिलो हार हो । मलेसियाले पनि पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको थियो ।
लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात राम्रो हुन नसकेपनि आसिफले एक छेउबाट इनिङ्स सम्हाल्दै नेपाललाई जितसम्म पुर्याए । गत बैशाखमा टीयू मैदानमै भएको त्रिकोणात्मक टी२० श्रृंखलामा नेदरल्याण्ड्स विरुद्ध डेब्यूखेलमै अर्धशतक बनाएका आसिफको यो दोस्रो अर्धशतक हो ।
ओपनर कुशल भुर्तेल व्यक्तिगत १ रनमा दोस्रो ओभरमै आउट भएका थिए । यस्तै रोहित पौडेल १२ रन बनाएर आउट हुँदा नेपालले चार ओभरमा २ विकेट गुमाएर २५ रन बनाएको थियो ।
तर त्यसपछि आसिफले दीपेन्द्र सिंह ऐरीसँग ७० रनको साझेदारी गरे । मलेसिया विरुद्ध २१ रन बनाउँदै नेपालका लागि टी२० मा सर्वाधिक रन बनाउने पूर्व कप्तान पारस खड्काको कीर्तिमान तोडेका दीपेन्द्र १२औं ओभरमा आउट भए ।
दीपेन्द्रले ३६ खेलमा ३१ इनिङ्स ब्याटिङ गर्दै ३ अर्धशतकसहित ८०३ रन बनाएका छन् । पूर्व कप्तान पारसले १ शतक र ४ अर्धशतकसहित ७९९ रन बनाएका थिए ।
दिलिप नाथ १५ र कुशल मल्ल २ रनमा अविजित रहे । बलिङमा मलेसियाका लागि पवनदिप सिंहले २ तथा सयद अजिज र मुहम्मद बमिरले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको थियो । मलेसियाको लागि जुबाईदी जुल्किफलले सर्वाधिक ३२ र कप्तान अहमद फैजले २४ रन बनाए ।
इनिङ्सको पहिलो बलमै विकेट गुमाएपनि मलेसियाले आक्रमक ब्याटिङ गर्दै रन जोडेको थियो । मलेसियाका ओपनर विरनदीप सिंहलाई करण केसीले खेलको पहिलो बलमै बोल्ड गरे ।
तर त्यसपछि जुबाईदी जुल्किफल र कप्तान अहमद फैजले ४९ रनको साझेदारी गर्दै इनिङ्स अघि बढाए । मलेसियाले पावर प्लेमा १ विकेट गुमाएर ४६ रन जोडेको थियो ।
सातौ ओभरमा कुशल मल्लले जुबाईदीलाई बोल्ड गर्दै साझेदारी तोडे । जुबाईदीले १५ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गर्दै ३२ रन जोडे । त्यसपछि सयद अजिज १४ रन बनाएर आउट भए । कप्तान अहमद फैजले २४ रन जोडे ।
सर्भिएन मुनिएन्डी ९, मुहम्मद अमिर १६ र विजय उन्नी ३ रनमा आउट भए । अमर जुहदीले खाता समेत खोल्न सकेनन् ।
बलिङमा करण केसी र कप्तान सन्दीप लामिछानेले २-२ विकेट लिए । करणले ३ ओभरमा १६ रन मात्र खर्चिए भने सन्दीपले ४ ओभरमा २७ रन खर्चिए ।
किफायती बलिङ गरेका दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा १ मेडन राख्द १४ रन खर्चेर १ विकेट लिए । यस्तै अविनाश बोहरा र कुशल मल्लले पनि १-१ विकेट लिए ।
नेपालले तेस्रो खेल बिहीबार पपुवा न्यूगिनीसँग खेल्नेछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply