दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ फ्रान्स पठाइँदै
७ माघ, काठमाडौं । माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको प्राविधिक विश्लेषणका लागि ‘ब्ल्याक बक्स’ फ्रान्स पठाइने भएको छ । फ्रान्समा रहेको एटिआर विमान निर्माता कम्पनी समक्ष प्राविधिक विश्लेषणका लागि पठाउन लागिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं विमान दुर्घटना जाँच आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले विज्ञसहित ब्ल्याक बक्स फ्रान्स पठाउन लागिको जानकारी दिए । ब्ल्याक बक्स परीक्षणका लागि अर्को हप्ता जहाज निर्माता कम्पनी फ्रान्स पठाउँदैछौं । दुर्घटनाको प्रभावकारी अनुसन्धानका लागि यसले सहयोग पुग्ने विश्वास गरेका छौं, उनले भने ।
उनले विमान निर्माता कम्पनीले आफ्नै किसिमले डाटा विश्लेषण गर्ने भएकाले फ्रान्स पठाउन लागिएको बताए । दुर्घटनापछि हुने अनुसन्धानको स्वतन्त्र विश्लेषणका लागि विमान निर्माता कम्पनी समक्ष नै ब्ल्याक बक्स पठाउन लागिएको उनको भनाइ छ । ‘ब्ल्याक बक्सबाट तथ्याङ्क निकाल्ने मात्रै कुरा हुँदैन’, उनले भने, ‘सामान्य अनुसन्धान र दुर्घटनापछि गरिने अनुसन्धान फरक पर्ने भएकाले प्राविधिक विश्लेषणका लागि फ्रान्स पठाउन लागिएको हो’, उनले भने ।
उनका अनुसार ब्ल्याक बक्ससहित दुर्घटना जाँच आयोगका विज्ञ टोली पनि फ्रान्स जानेछन् । आयोगले हालसम्म दुर्घटनाको स्थलगत अनुगमन, आवश्यक कागजात सङ्कलन तथा विज्ञसँग छलफल गरिसकेको छ । विमान दुर्घटनापछि एटिआर विमान निर्माता कम्पनीबाट आएको नौ सदस्यीय टोली प्रारम्भिक अध्ययन गरी फर्किसकेको छ । सहसचिव लामिछानेले आयोगको सुपरीवेक्षणमा रहेर उक्त टोलीले आवश्यक अध्ययन गरेको र आयोगसँग समन्वय गर्दै र आवश्यक परे फेरि नेपाल आउने गरी स्वदेश फर्किएको जानकारी दिए ।
ब्ल्याक बक्स विमान दुर्घटना भएको भोलिपल्ट माघ २ गते बिहान भेटिएको थियो । ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कलसाइन ९–एएनसी (एटीआर–७२–२१२) विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १८ मिटर पर सेती नदीको खोंचमा दुर्घटना भएको थियो । उक्त विमानमा सवार चालक दलका सदस्यसहित ७२ मध्ये ७१ जनाको निधन भइसकेको छ भने बाँकी एक जनाको खोजी जारी छ ।
पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार मृतक ७१ जनामध्ये निधन भएको र थप एक जनाको शव पहिचानका लागि डिएनए परीक्षण गर्न लागिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले दुर्घटना जाँच आयोगले तीव्रताका साथ काम गरिरहेको बताए ।
सरकारले विमान दुर्घटनाबारे जाँच गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो । पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक रहेको आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बाँस्तोला (अवकाशप्राप्त उपरथि) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा छन् । आयोगको सदस्यसचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पदबहालीसँगै दुर्घटनाबारे चासो व्यक्त गर्दै जाँच आयोगलाई छिटो र प्रभावकारी काम गर्न निर्देशन दिएका थिए । उनले मुलुकको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन सबैखाले सुधार गर्ने विश्वास व्यक्त गरेका थिए ।
मन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै मन्त्री किराँतीले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकार र प्राविधिक टोलीसँग छलफल गरी हवाई सुरक्षा अभिवृद्धिका साथै पूर्वाधार विकासको कामलाई चुस्त र प्रभावकारी पार्न निर्देशन दिएका थिए । उनले दुर्घटना जाँच आयोगका पदाधिकारसँग पनि छलफल गरी कामलाई प्रभावकारी बनाउन आग्रह गरिसकेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply