रक्षामन्त्री बनेको १७ दिनपछि जङ्गी अड्डा पुगे उप्रेती
२०माघ, काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाई राख्न नेपाली सेनाले निर्वाह गर्दै आइरहेको भूमिका प्रसंशनीय रहेको बताएका छन् ।
सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षणका क्रममा सम्बोधन गर्दै उनले संवैधानिक दायित्व र समयक्रममा सरकारले सुम्पँदै आएको जिम्मेवारी अब्बल ढङ्गबाट पूरा गरी सेना जनताको भरोसाको केन्द्रका रूपमा रहेको उल्लेख गरे । मन्त्री बनेको १७ दिनपछि जङ्गीअड्डा पुगेका उप्रेतीले भने, ‘अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा सेनाले ठूलो योगदान पुर्याएको छ । विश्व शान्तिका लागि जोखिम बहन गर्ने एवं साहस प्रदर्शन गर्ने फौजमा नेपाली सेना सधैँ अग्रपंत्तिमा छ ।’
सेनाले दुर्गम क्षेत्रमा, राज्यका सबै विकट स्थानसम्म पुगेर सडक पूर्वाधार तयार गरी योगदान पुर्याउँदै आएको बताउँदै उनले काठमाडौँ–तराई-मधेश द्रुतमार्ग आयोजनाको भ्रमण गर्ने क्रममा भइरहेको प्रगति देख्दा आफू सन्तुष्ट भएको उल्लेख गरे ।
रक्षा मन्त्रालयको नेतृत्व सम्हालेपछि उनले पहिलो पटक जङ्गी अड्डा पुगेर सेनाको बारेमा औपचारिक जानकारी लिएका हुन् । सो अवसरमा मन्त्री उप्रेतीसमक्ष सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्चालन गरिरहेका विविध गतिविधिबारे जानकारी गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सो अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले सेना सम्पूर्ण नेपालीको आफ्नै छोराछोरी सम्मिलित राष्ट्रकै उत्कृष्ट संस्था भएको बताए । उनले भने, सेनाले विधिसम्मत ढङ्गले प्राप्त जिम्मेवारी समर्पित तवरले पूरा गर्दै देश र जनताको हितमा मरिमेट्दै आइरहेको छ । बदलिँदो अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिवेशबाट सिर्जित चुनौती सम्बोधन, समाधान र न्यूनीकरण गर्न क्षमता अभिवृद्धि गर्न आवश्यक छ । रक्षा सचिव किरणराज शर्माले विपद् व्यवस्थापनलगायत सेनाको समग्र क्षमता विकास गर्दै आत्मनिर्भर बनाउँदै लैजाने विषयमा सरकारबाट जोड हुनुपर्ने आवश्यकता औंल्याए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply