राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा ढिलाइ नगर्न मन्त्री ज्वालाको निर्देशन
१६ असार,पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढी पहिरोबाट उत्पन्न विषम परिस्थितिमा राहत तथा क्षतिपूर्ति वितरण तथा पुनर्निर्माण कार्यमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
असार पहिलो साता पाँचथरमा बाढी र पहिरोले पुर्याएको क्षतिको निरीक्षणका लागि आज पाँचथरको फिदिम आएका मन्त्री ज्वालाले जिल्ला प्रशासन कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा कुनै पनि प्रकारको ढिलाइ नगर्न सरोकारवाला निकायलाई निर्देशन दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सरकारको टोलीले स्थलगत बाढी पहिरोको क्षतिको निरीक्षण गर्न नपाएका कारण आफू सरकारको प्रतिनिधिका रुपमा आएको जनाउँदै उनले सबै मन्त्रालय मातहतका निकायलाई तदारुकताका साथ लाग्न आग्रह गरे । ‘राहत, क्षतिपूर्ति र पुनःनिर्माणको काम नियमित काम जस्तो होइन, यसमा ढिलाइ हुनु हुँदैन’, मन्त्री ज्वालाले भने, ‘अहिले सबै स्रोतसाधनको प्रयोग गरेर तदारुकताका साथ काम गरी आधारभूत सेवाबाट बञ्चित नागरिकका लागि सरकारी निकायले काम गर्नुपर्छ ।
उनले बाढी पहिरोका कारण भएको क्षतिको विवरण सङ्कलन, राहत र क्षतिपूर्तिका लागि प्रशासन तथा स्थानीय तहले सहकार्य गर्नुपर्नेमा जोड दिए । यस्तै पाँचथरमा बाढीमा परी बेपत्ता रहेका तीन जनाको खोजी कार्यलाई नियमित गर्न पनि उनले सुरक्षा निकायलाई निर्देशन दिए ।
यही असार २ गते आएको बाढीले क्षति पुर्याएका मेची राजमार्ग, तमोर करिडोर र पुष्पलाल (मध्यपहाडी) राजमार्गको अनुगमनका लागि मन्त्री ज्वालासहितको टोली यहाँ आएको हो । उनले मेची राजमार्गअन्तर्गत हेंवा खोलामा बेलिब्रिज निर्माण कार्यलाई चाँडो सम्पन्न गर्न निर्देशन दिए । उनले सो स्थानमा पक्की पुल निर्माणका लागि चाँडै ठेक्का प्रक्रिया अघि बढाइने पनि बताए ।
बाढीले बगाएको तमोर करिडोरको माझीटारस्थित बेलिब्रिज र मध्यपहाडी राजमार्गको दोभानेस्थित सडक पुल रहेका स्थानमा बेलिब्रिज निर्माण गर्ने वा सडक पुल नै बनाउने भन्ने पनि चाँडो यकीन गरेर कार्य थालिने बताए । सो क्रममा पाँचथरका प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री वसन्तकुमार नेम्वाङले बाढी र पहिरोका कारण धेरै भौतिक संरचनामा क्षति पुग्दा नागरिकले समस्या झेल्नुपरेको जनाउँदै पुनर्निर्माण चाँडो अघि बढ्नुपर्ने बताए ।
‘फालेलुङ गाउँपालिकाभित्रै दुई वटा सडकमा पुल बग्दा नागरिकलाई सास्ती छ, सरकारको ध्यान मुख्य राजमार्गका अतिरिक्त अन्य संरचनामा पनि पुग्नुपर्छ’, उनले भने, ‘घरबार, खेतीपाती, जग्गा, जमिन, पशुपक्षी तथा अन्य संरचनामा क्षति भोगेका जिल्लावासीलाई चाँडो राहत र क्षतिपूर्ति दिन मैले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको छु ।
मन्त्री ज्वालाका साथ पूर्वमन्त्री नेम्वाङ, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, सडक विभागका उपमहानिर्देशक रामहरि पोखरेललगायत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका विभिन्न निकायका अधिकारी सहभागी थिए । मन्त्री ज्वालाको टोलीले आज र आइतबार यहाँका क्षतिग्रस्त सडक तथा अन्य संरचनाको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले जानकारी दिए ।
#बाढी र पहिरो
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply