बाजुरामा बाढीपहिरोले १३ परिवार विस्थापित, दर्जनौँ घर जोखिममा
१३ साउन, बाजुरा । बाढी र पहिरोका छुट्टाछुट्टै घटनामा यहाँका १३ परिवार बिस्थापित भएका छन् । शुक्रबार आएको बाढी र पहिरोका कारण यहाँका हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित हुनुका साथै दर्जनौ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
हिमाली गाउँपालिका–३ युनामा शुक्रबार घरमाथिबाट आएको पहिरोमा परी दीपलाल बुढाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कठायतका अनुसार शुक्रबार बिहान साढे ८ बजे आएको पहिरोले बुढाको घरसहित घरभित्र भएका अन्नपात, लुगा कपडा बगाएको हो ।
पहिरोले घर बगाएपछि तीन जनाको परिवारको बिचल्ली भएको छ । उनीहरुको सुरक्षित बासका लागि वडा अध्यक्षसँग पहल भइरहेको प्रहरी निरीक्षक कठायतले जानकारी दिए । पहिरोका कारण सोही वडाका १० घर जोखिममा परेको प्रहरीको भनाइ छ । युनामा रहेको आधारभूत स्वास्थ्य चौकी पनि पहिरोको जोखिममा परेको छ ।
साथै गौमूल गाउँपालिका–३ मा आएको पहिरोमा परी १२ परिवार विस्थापित बनेका छन् । लगातारको वर्षापछि आएको पहिरोका कारण बेहरीका पाँच र ढल्काँडाका सात गरी १२ परिवार विस्थापित बनेको गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले जानकारी दिइन् । उनका अनुसार बेहरीका चीन रोकाया, सुरेश रोकाया, कृष्ण विक, पुष्प विक र जोगी विकको परिवार विस्थापित भएको छ । साथै ढल्काँडाका राजेन्द्र धामी, भानबहादुर बोहरा, वसन्त बोहरा झाँक्री बोहरा, गङ्ग बोहरा अफिलाल बोहरा, ब्रिजित बोहराको परिवार विस्थापित बनेको छ ।
पहिरोले सिङ्गो बस्ती नै विस्थापित गर्ने गरी खसेको छ । दिउँसोको समयमा पहिरो खसेकाले मानवीय क्षति नभए पनि भौतिक नोक्सानी बेहोर्नुपरेको स्थानीयले बताएका छन् । पहिरोका कारण १२ परिवारका ६० जनाभन्दा बढीलाई स्थानीय थुमथला आधारभूत विद्यालयमा राखिएको पालिका उपाध्यक्ष थापाको भनाइ छ । घरभित्र राखिएको केही अन्नपात, लत्ता कपडा र अन्य सम्पत्ति भने जोगाउन सफल भएको विस्थापित परिवारको भनाइ छ । वर्षा जारी रहेकाले पहिरो अहिले पनि नियमित बगिरहेको छ ।
गौमूलका अन्य बस्ती पनि पहिरोको उच्च जोखिममा छन् । विसं २०७७ मा पनि पालिकाको १ र २ का अधिकांश बस्ती पहिरोबाट प्रभावित बनेका थिए । सयौँ बिघा जमिनमा क्षति पुगेको थियो भने दर्जनौ पशु चौपाया मरेका थिए । त्यो बेला पनि पालिकाका तर्फबाट उद्धार सम्भव नभएपछि तत्कालीन सरकारका गृहमन्त्रीकै नेतृत्वमा टोली अवस्था अध्ययनका लागि बाजुरा आइपुगेको थियो ।
साविक २७ गाविसमध्ये १६ बढी गाविसको मानव बस्ती सार्नुपर्ने भूगर्भविद्ले सुझाव दिएका थिए । त्यही सिफारिसका आधारमा २०७२ सालमा एकीकृत बस्ती विकासको परीक्षणका लागि रु ७४ करोड रकम पनि विनियोजन गरिएको थियो । हाल त्यसको कुनै कार्यान्वयन र निरन्तरता हुन सकेको छैन ।
बाजुराका दुई हजारभन्दा बढी परिवार अहिले पहिरोको उच्च जोेखिममा छन् । उनीहरुले अहिले पनि पाँल टाँगेर बस्नुपर्ने, रातभर जागराम हुनुपर्ने बाध्य छन् । भिरालो र पाखो जमिन, चारैपतरबाट पहिरोको डर र बेला बेलाको भूकम्पले चिराचिरा परेका जमिन र घर झनै जोखिम रहेको स्थानीय बताउँछन् । जिल्ला प्रशासन कार्यालयले भने पनि पालिकास्तरीय तयारी पनि हुनुपर्ने र जिल्ला तहमा प्रशासनको पूर्वतयारी पनि गरिएको बताएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply