महाधिवेशन अनिश्चित बनेपछि युवा संघमा भाँडभैलो
काठमाडौं । पाँच वर्षसम्म महाधिवेशन सम्पन्न नभएपछि युवा संघ नेपालका अध्यक्ष राजिव पहारीमाथि चारैतिरबाट ‘असक्षमता’को आरोप लागेको छ । मातृपार्टी एमाले स्थायी समितिले निर्देशन दिएको दुई साता बित्नै लाग्दासमेत महाधिवेशन मिति नतोकिएपछि पहारीमाथि चारैतिरबाट प्रहार हुन थालेको हो ।
२०६९ फागुनयता युवासंघमा महाधिवेशन हुन सकेको छैन । महेश बस्नेत दोस्रोपटक अध्यक्ष बनेपछि विधानविपरीत टिके प्रथाबाट निरुदेवी पाल र पहारीसहित दुई अध्यक्ष फेरिए । तर त्यति हुँदासमेत महाधिवेशनको टुंगो नलागेका कारण सबैको आक्रोश भने पहारीमाथि पोखिदैं गएको हो । संघमा पहारी र उपाध्यक्ष दिलु पन्तका समानान्तर समूह छन् । तर अहिले भने पहारी समूहकै संस्थापन पक्ष उनलाई खुलेरै असफल साबित बनाउने गरी तत्काल मिति नतोकिए बर्खास्त गर्नेसम्मको योजना बनाएर पार्टी नेतृत्वलाई नै उकास्ने खेलमा
लागेका छन् ।
आयोजक समिति बनेयता नै पहारीले करिब २२ महिना गुजार्न लागेका छन् । जबकि त्यस्तो समितिले ६ महिनाभित्रै महाधिवेशन गर्नुपर्ने भए पनि चुनावी कारण देखाएर एकपटक तोकिएको महाधिवेशनसमेत स्थगित भइसकेको छ । तर पार्टीको पछिल्लो निर्देशनपछि पनि अध्यक्ष पहारी प्रदेश नम्बर २ र त्यसपछि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई कारण देखाएर पदमै टिकिरहने खेलमा रहेको भन्दै उनको समूहका उपाध्यक्ष रमेश पौडेल र महासचिव किरण पौडेललगायतको समूह निकै आक्रोशित बनेको बताइन्छ । दुवैले अध्यक्ष केपी ओलीलाई समेत अवस्थाबारे जानकारी गराएर बीचैमा पदबाट हटाउने अर्थात् ‘कु’ गर्नेसम्मको योजना बनाएको स्रोतको दाबी छ ।
उता महाधिवेशनको मिति तय गर्नुअगावै संघको प्रादेशिक संरचना र स्थानीय तहको नयाँ संरचनाअनुसार कमिटी संयोजनका विषयमा छलफल गर्न अध्यक्ष पहारीसहित उपाध्यक्ष र महासचिव पौडेलद्वय, सचिव नरेश शाही, हस्तबहादुर शाहीसतीको कार्यदल बनेको डेढ साता बितिसकेको छ । तर त्यसमा सहमति नै जुट्न नसकेपछि संघको महाधिवेशन मिति नै पछि धकेलिँदै जाने स्थिति देखिएको छ । विधानअनुसार महाधिवेशन गर्नुपर्दा अञ्चल कमिटी, निर्वाचन क्षेत्र, अन्तरजिल्ला कमिटी, नगर कमिटी, इलाका कमिटी, गाउँ कमिटीबाट प्रतिनिधित्व गराउनुपर्ने व्यवस्था रहे पनि नयाँ संरचनाको व्यवस्थाबमोजिम पार्टीको निर्णयले नै ती सबै खारेज भइसकेका छन् । ती कमिटीबाट प्रतिनिधित्व नहुँदा महाधिवेशन नभएर त्यो भेला मात्रै हुने भएकाले महाधिवेशन गर्न नयाँ संरचनाअनुसार प्रदेश संगठन कमिटी, गाउँपालिका, नगरपालिका, महानगरपालिकालगायतका नयाँ कमिटीहरू अनिवार्य रूपमा निर्माण गर्नैपर्ने हुन्छ । तर त्यसअघि प्रदेश संगठनमा कहाँ को संयोजक रहने विषयमै विवाद चर्किएपछि पोलिटब्युरो सदस्य तथा युवा फाँट प्रमुख महेन्द्र पाण्डेले नै विवाद मिलाउन सकेका छैनन् । पन्त समूहले पाण्डेले एकलौटी ढंगले गुटगत पक्षपोषण गर्ने गरेकाले पनि कुनै पनि एजेन्डामै सहमतिमा पुग्न कठिनाइ हुँदै आएको आरोप लगाउँदै आएको छ । यस्तो चेपुवामा परेका पहारीमाथि उनकै समूहले असक्षमको आरोप लगाउँदै नेतृत्वसमक्ष नियमित लबिङ थालेपछि संघभित्रको भाँडभैलो छताछुल्ल हुँदै गएको छ ।
केही दिनपहिले पूर्वअध्यक्ष महेश बस्नेत, निरुदेवी पाललगायतको निर्देशन र योजनामुताबिक तत्काल महाधिवेशन मिति तोक्न माग गर्दै प्लेकार्डसहित धर्ना बसेको फोटो सामाजिक सञ्जालमार्फत बाहिर आएपछि पहारीमाथि प्रहार गर्ने क्रम झन् बढेको बताइन्छ । तर स्वास्थ्य अवस्था ठीक नभएका कारण अध्यक्ष पहारीले भने सबै विवाद मिलाएर छिट्टै महाधिवेशनको मितिबारे निष्कर्षमा पुगिने भन्दै सबैलाई थुमथुम्याइरहेका छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply