प्रधानमन्त्रीको सक्रियता
प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार गरेसँगै सरकारले अब पूर्णता पाएको छ । वाम गठबन्धनका एमाले र माओवादी केन्द्रका कोटामा परेका सबै मन्त्रालयमा नयाँ मन्त्रीले पाइला टेकिसकेका छन् र आफ्नो कामसमेत देखाउन थालिसकेका छन् । यद्यपि, सरकारमा जान इच्छुक देखिएका दुई मधेसी दल संघीय समाजवादी फोरम र राजपा भने अझै अनिर्णीत रहेका हुँदा सरकारले पूर्णता नपाएजस्तो आभास हुँदै छ । तर, मधेसी दलहरू तत्काल सरकारमा नगए पनि सरकारलाई गतिशील हुन अब कुनै छेकबार रहेको देखिँदैन । वाम गठबन्धनको भागमा परेका सबै मन्त्रालय भरिइसकेका हुँदा सरकारले पूर्णता पाएको ठान्नुपर्दछ ।
मन्त्रिपरिषद् विस्तार भएर पूर्णता पाएसँगै प्रधानमन्त्री ओलीले सरकारको कामकारबाहीलाई चुस्त, छरितो र गतिशील तुल्याउने संकेत दिएका छन् । हुन पनि प्रधानमन्त्री ओलीलाई सरकारलाई गतिशील तुल्याएर ऐतिहासिक कार्यहरू गर्ने सुनौलो अवसर यसपटक प्राप्त भएको छ । प्रधानमन्त्री ओलीलाई काम गर्न कतैबाट पनि बाधा र व्यवधान देखिँदैन अहिले । देशभित्र र बाहिरका शक्तिहरूले प्रधानमन्त्री ओलीको काममा तगारो तेस्र्याइहाल्ने स्थिति तत्काललाई उत्पन्न भएको पाइँदैन । छिमेकी मुलुकहरू चीन र भारतले पनि प्रधानमन्त्री ओलीसँग सहकार्य गरेर अघि बढ्ने इच्छा र प्रतिबद्धता जनाइसकेका हुँदा दुई छिमेकी राष्ट्रको सद्भाव रहेसम्म सरकारले अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्ने निश्चित छ । त्यस्तै, देशभित्रका अवरोध निम्त्याउन सक्ने शक्तिका रूपमा हेरिएको मधेसी दलहरूले पनि ओलीको नेतृत्वलाई सहर्ष स्विकारिसकेको हुँदा र सरकारमा समेत सामेल हुने मनस्थिति बनाएको हुँदा ती दलहरूले पनि ओलीको यात्रामा ढुंगा र रोडाहरू राखेर अवरोध सिर्जना गर्ने अवस्था देखिँदैन ।
नेपाली कांग्रेसबाट पनि तत्कालका निम्ति कुनै अवरोध आउने स्थिति छैन । अहिले घाइते बाघजस्तो मनस्थिति बनाएर बसिरहेको कांगे्रसले हदै गर्न सक्यो भने ङुर्ङु¥याउने काम मात्र गर्न सक्छ । ङुर्ङु¥याउने काम त सो पार्टीका सभापति शेरबहादुर देउवाले सुरु गरिसकेका छन् । तर, वाम गठबन्धनको सरकारलाई तत्काल चुनौती दिएर अघि बढ्ने सामथ्र्य भने कांग्रेसले राख्न सक्ने देखिँदैन । एक त अहिले कांग्रेसलाई आफैंभित्रको अन्तरविरोधलाई साम्य पार्ने चटारो छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नराम्रो पराजय बेहोर्नुपरेपछि कांग्रेसभित्र संस्थापन र असन्तुष्ट पक्षबीच जुहारी चल्न थालिसकेको छ । यो जुहारी कहिलेसम्म तन्किने हो, केही टुंगो छैन । असन्तुष्ट पक्षले चुनाव हार्नुमा नेतृत्वको कमजोरीलाई मात्र दोष लगाइरहेको छैन, सभापति देउवाले नयाँ पुस्तालाई नेतृत्व सुम्पनुपर्ने कुरासमेत उठाइरहेका छन् । देउवा पक्ष पनि आफ्नो बचाउमा लागेका छन् अहिले । यस्तो अवस्थामा कांग्रेसले सरकारविरुद्ध प्रभावकारी कदम चाल्न सक्ने स्थिति छैन ।
तत्कालका लागि प्रतिपक्षीविहीनजस्तो देखिएको सरकारले बिनाअवरोध गति पक्रिन सक्ने थुप्रै आधार देखा परेका छन् । प्रधानमन्त्री ओलीले पनि केही दिनअघि मन्त्री र सचिवहरूलाई कडा निर्देशन दिनुको तात्पर्य अब सरकारले गति लिनेछ भन्ने अपेक्षाका रूपमा हेर्न थालिएको छ । प्रधानमन्त्री ओलीले आफूलाई भ्रष्टाचार, कर्तव्यबाट च्यूत, अनियमितता र बहानाबाजी अस्वीकार्य हुने बताउँदै समृद्ध नेपाल र सुखी नेपाली बनाउने आफ्नो अभियानले गति लिने संकेत दिए । आखिर, सरकार प्रमुखको रथ हाँकिरहेका व्यक्तिले चाहने हो भने आफ्नो टिमलाई क्रियाशील तुल्याउन र तरक्की पैदा गर्न कुनै पनि अप्ठेरो देखिँदैन । हुन पनि प्रधानमन्त्री ओलीले सुरुमा आफ्नै टिमलाई सुधार्नुपर्छ, आफ्नै टिमलाई सक्रिय बनाउनुपर्छ । टिम नै निष्क्रिय र आफ्ना स्वार्थका घेराहरूमा मात्र रुमलिइरहने भयो भने समस्याहरू उत्पन्न हुने हुन् । प्रधानमन्त्री ओलीले पहिला आफैंभित्र सुधार गर्ने, आफ्नो टिमका सदस्यहरूलाई अनुशासनमा राख्ने र जिम्मेवार बनाउने प्रयत्नस्वरूप जुन निर्देशन दिएका छन्, त्यसलाई स्वागतयोग्य मान्नुपर्छ । प्रधानमन्त्री यस्तो सक्रियता जारी रहनु सुखद पक्ष हो ।
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply