डीडीसी डुबाउन अध्यक्ष नै सक्रिय
काठमाडौं । दुग्ध विकास संस्थानका अध्यक्ष रघुनाथ गौतमले निजी दुग्ध उद्योगका सञ्चालकहरूसँग साँठगाँठ गरेर संस्थानलाई धराशायी तुल्याउन खोजेका छन् । आफैं अध्यक्ष रहेको संस्थानविरुद्ध नानाथरि अफवाह फैलाएर गौतमले निजी दुग्ध उद्योगहरूलाई पोस्ने काम गर्न थालेपछि अहिले सरकारी स्वामित्वमा रहेको संस्थानको भविष्य के हुने हो भन्ने अन्योल छाउन पुगेको छ ।
अध्यक्ष गौतमले संस्थानका निमित्त महाप्रबन्धक डा. ईश्वरीप्रसाद अधिकारी सेवानिवृत्त भएको दुई दिनपछि नै संस्थानलाई घाटा पुग्ने गरी सञ्चार माध्यमहरूमा अभिव्यक्ति दिएका थिए । अधिकारी सेवानिवृत्त भएलगत्तै अध्यक्ष गौतमले संस्थानको घृतांश (फ्याट) मा कर्मचारीहरूले घोटाला गर्ने गरेको कुरा बाहिर ल्याएका थिए । अधिकारी जेठ ९ गते सेवानिवृत्त भएका थिए । आफूले बालाजु दुग्ध वितरण आयोजनामा निरीक्षण गर्न पठाउँदा दूधमा २.८ प्रतिशत फ्याट रहेको कुरा अध्यक्ष गौतमले जेठ ११ गते सार्वजनिक गरेका थिए ।
दूधमा कम्तिमा ३ प्रतिशत फ्याट हुनुपर्नेमा संस्थानको दूधमा २.८ प्रतिशतमात्र फ्याट रहेको कुरा अध्यक्ष गौतमले संस्थानमा महाप्रबन्धक खाली रहेको बेला खुलासा गरेपछि उनको नियतमाथि नै प्रश्नचिह्न उठ्न पुगेको थियो । संस्थानभित्रका कर्मचारीहरूले बदमासी गरेको भेटिए त्यसलाई सुधार्न आन्तरिक रूपमा पहल गर्नुपर्नेमा अध्यक्ष स्वयंले हल्ला पिटाउँदै हिँडेपछि अहिले संस्थानका उत्पादनहरूको बिक्रीवितरणमा समेत असर पुग्न थालेको छ । संस्थानका उत्पादनहरूको बिक्रीमा कमी आउन थालेपछि केही दिनअघि कर्मचारीहरूले अध्यक्षको भनाइप्रति आपत्ति जनाउँदै त्यसबारे स्पष्ट पार्न दबाब दिएका थिए । तर, अध्यक्ष गौतम भने कर्मचारीहरूसामु ‘मैले बोल्दै नबोलेको कुरा पत्रिकाले लेख्यो, मैले त्यस्तो कुरा बोलेकै छैन’ भनी पन्छिएको बताइन्छ ।
अध्यक्ष गौतमले संस्थानकै विरुद्धमा बोल्दै हिँड्नुको पछाडि सेवानिवृत्त महाप्रबन्धक डा. अधिकारी र उनीबीचको टसलले पनि प्रभाव पारेको बताइन्छ । अध्यक्ष गौतमका कतिपय स्वार्थहरू तत्कालीन महाप्रबन्धक अधिकारीले पूरा नगरेका हुँदा उनीहरूबीच केही मनमुटाव बढ्न पुगेको थियो । अधिकारी महाप्रबन्धक रहेकै बेला संस्थानविरुद्ध बाहिर भनाइ राख्दा अझ टसल बढ्न सक्ने ठानेका गौतमले अधिकारी हटेलगत्तै उक्त कुरा बाहिर ल्याएको बताइन्छ ।
महाप्रबन्धक खाली भएपछि अहिले संस्थानकै वरिष्ठ कर्मचारी ईश्वरीराज न्यौपानेले निमित्त महाप्रबन्धक बन्न दौडधुप बढाएका छन् । पहिला पशुपन्छी मन्त्रालयअन्तर्गत रहेको र अहिले भने कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालय मातहत रहेको संस्थानको महाप्रबन्धक बन्न धेरै जनाले इच्छा व्यक्त गरेका छन् । तर, तत्काल भने न्यौपानेलाई नै निमित्त दिने सम्भावना रहेको बताइन्छ ।
त्यसो त, अहिले संस्थानको दूध र दुग्धजन्य पदार्थहरूको बिक्रीमा कमी आउन थालेसँगै निजी दुग्ध उद्योगहरूले बजारमा कमसल खालका उत्पादनहरू धमाधम पठाइरहेका छन् । निजी दुग्ध उद्योगहरूले पाउडर खरिद गरी त्यसलाई पानीमा घोलेर बजारमा पठाइरहेको बताइन्छ । त्यस्ता दूध र दुग्धजन्य पदार्थले आमउपभोक्ताको स्वास्थ्यमाथि गहिरो असर पार्ने भए पनि खाद्य, गुण नियन्त्रण र वाणिज्य विभागको अनुगमन फितलो रहेको हुँदा समस्या देखा परेको छ । पछिल्ला दिनहरूमा खाद्य उत्पादन तथा पदार्थहरूमा अनुगमन गर्ने कार्य लगभग ठप्पजस्तै हुन पुगेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply