पटक–पटक विवादमा राष्ट्रपति
गणतन्त्र नेपालका पहिला राष्ट्रपति डा. रामवरण यादव आफ्नो कार्यकालको उत्तराद्र्धतिर आइपुग्नुभएको छ । नयाँ जनादेशको सम्मान गरेको भए अहिलेसम्म उहाँ भूतपूर्व भइसक्नु हुने थियो । तर, संविधान जारी नगरी कुनै हालतमा शीतल निवास छोड्दिनँ भनेर अडान लिएका कारण एक वर्षसम्म उहाँलाई नै पदमा रहिरहन दिन दलहरू सहमत भएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सरकार निर्माणका सन्दर्भमा भएको सातबुँदे सहमतिअनुसार अब बढीमा डा. रामवरण यादवको कार्यकाल एक वर्ष रहनेछ । राजतन्त्र समाप्त भएर स्थापित गणतन्त्रको पहिलो राष्ट्रपति भएका कारण उहाँबाट एक्काइसौं शताब्दीको आलंकारिक राष्ट्रपतिको नजिर बस्ने गरी काम हुने अपेक्षा जनताले गरेका थिए । भेषभूषा, धारणा र सार्वजनिक जीवनमा समेत डा. यादवले सबैको मत जित्ने गरी विगतमा काम पनि गरिरहनुभएको थियो । खासगरी, लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने, संघीय संरचनामा जाँदा मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउने र समयमै संविधान जारी गर्न दबाब दिने कुरामा उहाँको योगदानलाई सबैले सकारात्मक रूपमा लिएका थिए । तर, पछिल्ला दिनमा स–साना जस्ता देखिने केही कुराहरूका कारण राष्ट्रपति विवादमा तानिनुभएको छ । संविधानसभाको नियमावली निर्माणका क्रममा यसअघि भएको व्यवस्थालाई संशोधन गरी सभामुखको साटो राष्ट्रपतिबाट प्रमाणीकरण गरेर संविधान जारी गर्ने बुँदा शीतल निवासको इच्छामा बानेश्वरमा प्रवेश गरेको चर्चाले उहाँको उचाइ बढाएको छैन ।
सबैलाई थाहा छ, डा. रामवरण यादव नेपाली कांग्रेसको नेता हुनुहुन्छ । राष्ट्रपति हुँदैमा आफ्नो पार्टीप्रतिको प्रतिबद्धतामा कमी आउँछ भन्ने होइन । तर, बेलाबेलामा उहाँका कदमहरू पनि कुनै न कुनै रूपमा त्यसैलाई टेवा दिने खालका हुने र अनि कुनै कुरा उठ्नासाथ कांग्रेसले मात्र उहाँको पक्ष लिने कुराले राष्ट्रपतिका रूपमा उहाँले सबैको विश्वास जित्न सक्नुभएको रहेनछ भन्ने देखिन्छ । कतिसम्म भने आफैंले राजीनामा दिइसकेको पार्टीको संसदीय दलको चुनावमा समेत राष्ट्रपति महोदयले चासो मात्र दिनुभएन, दबाब दिएर तराई मूलका केही सभासद्लाई कांग्रेस सभापति सुशील कोइरालाका पक्षमा मतदान गर्न लगाउनुभयो भनेर शेरबहादुर देउवा पक्षले खुलेआम गुनासो गरिरहेको छ । अझ संविधानसभाको दोस्रो निर्वाचनपछि संविधानसभाको पहिलो बैठक आफूले बोलाउनुपर्छ भनेर उहाँले लिएको अडानका कारण कम्तीमा दुई साता बैठक आयोजना हुनै विलम्ब हुँदा त्यसबाट पनि उहाँको उचाइ बढेको होइन । संविधानसमा स्पष्ट रूपमा प्रधानमन्त्रीले बोलाउने भनेर किटानी गरिएको बैठक आफूले बोलाउनका लागि अन्तर्राष्ट्रिय अभ्यास र प्रचलनको नजिर अघि सार्नुभएका राष्ट्रपतिले नयाँ निर्वाचनपछि आफूलाई त्यस संविधानसभाले नचिन्ने कुरालाई ठम्याउन सक्नुभएन । यसबाट उहाँको मर्यादामा आँच आएको महसुस सबैले गरेका छन् । फेरि जेनतेन त्यो विवाद सल्टिएर दलहरू अघि बढ्न लागेको बेला संविधान निर्माण भएपछि आफूले प्रमाणीकरण गर्न पाउने माग कांग्रेसभित्र घुसाइएपछि फेरि उहाँ अनावश्यक विवादमा तानिनुभएको छ ।
अगाडिका विषयहरूमा सहमति गर्नुपर्ने बेलामा विगतमा सहमति भइसकेका कुराहरूमा असहमति खोज्न थाल्ने हो भने कामले गति लिन सक्दैन । अहिले देशमा सबै कुरा संक्रमणकालीन छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश वा अरू कुनै उच्च पदस्थले पनि एक्लै आफ्नो अधिकार प्रयोग गर्न पाएको छैन । तिनलाई कतै सहमतिले, कतै राजनीतिक कारणले त कतै संविधानमै नभएको बाधा अड्काउ फुकाउको आदेशले रोकेको छ भन्ने कुरा राष्ट्रपति महोदयलाई सबभन्दा बढी थाहा हुनुपर्ने हो । तर, एकदम लिकमा आइसकेको संसदीय व्यवस्था र आफू निर्वाचित राष्ट्रपतिझैं डा. रामवरण यादवबाट यो वा त्यो विषयमा प्रकट भएका इच्छाहरूले कतै सहमति निर्माणमा अवरोध सिर्जना गरिरहेका त छैनन् ? यस विषयमा अरूभन्दा बढी सजग राष्ट्रपति स्वयम् र उहाँको कार्यालय हुनुपर्ने हो । तर, संविधान, नियम, कानुन र परम्परामा कतै नभए पनि निर्वाचित राष्ट्रपतिलाई बोलाएर सातबुँदे निर्देशन दिने कुरा होस् वा सबै अधिकार आफूमा रहेको भन्ने देखाउने गरी नियमहरूमा परिवर्तन गर्नका लागि गरिएका प्रयत्नहरू होऊन्, तिनले डा. यादवको व्यक्तित्व, राष्ट्रपति पदको मर्यादा, शीतल निवासको भूमिका र सामाजिक प्रतिष्ठा बढाएका छैनन् । विगतमा खेलेजस्तै प्रभावकारी र तटस्थ भूमिका निर्वाह गरी आगामी एक वर्षभित्र शीतल निवासबाट बाहिरिन सक्दा डा. यादवले जनताका मनमा सधैंभरि बस्ने मौका पाउनुहुनेछ ।
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply