लेनदेनमा मुछिएपछि हटाइयो आलमलाई
काठमाडौं । पदीय दुरुपयोग गरी आर्थिक लेनदेनमा सक्रिय हुन थालेपछि गएको शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्ना निजी सचिव ओसिम आलमलाई सचिवालयबाट हटाए । हटाएलगत्तै आलमले फेसबुकमा मन्त्री पण्डितसँगै बसेको तस्बिर राखे र लेखे, ‘संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री माननीय लालबाबु पण्डितज्यूको सचिवालयबाट आज यसरी बिदा भइयो । अब राजनीतिक तथा सांगठनिक काममा पहिलेभन्दा अझै सक्रिय हुनेछु ।’
मन्त्री पण्डितद्वारा हटाइएका निजी सचिव आलमले आफूले बिदा लिएको र सांगठनिक काममा लाग्ने कुरा उल्लेख गरे पनि उनलाई निर्लज्जतापूर्वक हटाइएको हो । मन्त्री पण्डितले शुक्रबार हटाउनुअघि आलमलाई सार्वजनिक ठाउँमै झपारेका थिए । मन्त्री पण्डितले शुक्रबार मन्त्रालयमै सचिवालयका केही कर्मचारी र ड्राइभरका अगाडि आलमलाई झपार्दै भने, ‘सबै हिसाबकिताब क्लियर गर् । अबदेखि मेरो अगाडि मुख नदेखा ।’ आलमलाई झपार्ने बेला मन्त्री पण्डित निकै आक्रोशित मुद्रामा देखिएको बताइन्छ ।
आफ्नो निजी सचिव आलमले ठेकेदारहरूसँग उठबस बढाउनुका साथै आर्थिक लाभ लिएर कर्मचारीहरूलाई आकर्षक ठाउँमा सरुवा र बढुवा गर्न थालेपछि त्यस विषयमा मन्त्री पण्डितसामु उजुरी परेको बताइन्छ । उजुरीपछि उनलाई हटाउन मन्त्री बाध्य भएको बुझिएको छ । मन्त्री पण्डितको निजी सचिवमा नियुक्त भएपछि ठूलाठूला ठेकेदारहरूसँग राजधानीका पाँचतारे होटलहरूमा बैठक गर्ने, होटलमै खानपिन गर्ने कार्यलाई आलमले तीव्र बनाएका थिए । ती ठेकेदारहरूलाई ठेक्का मिलाइदिने भन्दै उनले होटलहरूमा बैठक राख्ने गरेको बताइन्छ ।
मन्त्री पण्डितको सचिवालयमा रहँदा आलमले कांग्रेसनिकटका कर्मचारीहरूसँग आर्थिक लाभ लिएर उनीहरूलाई स्थानीय तहमा सरुवा गरेका थिए । कांग्रेसका कर्मचारीहरूलाई राम्रो ठानिने स्थानीय तहमा उनले सरुवा गर्दा लाखौं रकम लिएको बुझिएको छ । केही महिनाअघि ३२ जना उपसचिव स्तरका कर्मचारीलाई स्थानीय निकायमा सरुवा गर्दा आलम २६ जना कांग्रेसनिकट कर्मचारीहरूलाई सरुवा गर्न सफल भएका थिए । ती कर्मचारीहरूबाट मोटो रकम लिएको उजुरीसमेत मन्त्री पण्डितकहाँ परेको थियो ।
निजी सचिव आलमले मन्त्रालयका सहसचिव गणेशराज वस्तीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशकमा सरुवा गर्दा पनि लाखौं रुपैयाँ लिएको उजुरी पनि मन्त्रीकहाँ परेको बताइन्छ । प्राधिकरणमा वस्तीलाई सरुवा गर्दा मन्त्रालयका सचिव दिनेशकुमार थपलिया र आलमबीच मिलेमतो भएको अनुमान गरिएको छ । वस्तीलाई कांग्रेस नेतृ आरजु राणाको सिफारिसमा सचिव थपलिया र आलम मिलेर आर्थिक लाभ लिई सरुवा गरिएको बताइन्छ ।
राम्रो छवि बनाएका मन्त्री पण्डित पछिल्लो समय निजी सचिव आलमकै कारण बदनाम हुँदै गएका थिए । तर, आलमलाई हटाएपछि मन्त्री पण्डित बदनाम हुनबाट जोगिने अनुमान गरिएको छ । यसअघि पनि स्वकीय सचिवहरूकै कारण विभिन्न मन्त्री र नेताहरू बदनाम भएपछि आफ्ना स्वकीय सचिवलाई हटाउन बाध्य भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना निजी सचिव रमेश आचार्यलाई आर्थिक लेनदेनमा मुछिएपछि हटाउन बाध्य हुनुपरेको थियो । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि आर्थिक लेनदेनमै मुछिएपछि आफ्ना निजी सचिव रामबाबु अधिकारीलाई हटाएका थिए ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply