‘फ्री तिब्बत’को सभामा डीएसपी राई
काठमाडौं । उपत्यकाको अत्यन्त मालदार स्थानका रूपमा चिनिने महानगरीय परिसर बौद्धमा आएको केही दिनमै त्यसका इन्चार्ज विवादमा तानिएका छन् । बौद्ध आएको केही दिनमै डीएसपी श्यामकुमार राई विवादमा आएपछि उनलाई प्रहरी संगठनमै शंका र रहस्यमय पात्रका रूपमा हेरिएको छ ।
ढिलो गरि प्राप्त सुचना अनुसार, प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएर नेपाल सधैं एक चीन नीतिको पक्षमा छ भनेर प्रतिबद्धता दोहो¥याएर फर्किएको तीन दिन बित्न नपाउँदै सरकारकै एक जिम्मेवार सुरक्षा अधिकारी स्वतन्त्र तिब्बतको पक्षमा गतिविधि र वकालत गर्दै आएको एक रहस्यमय संस्थाको कार्यक्रममा पुगेका थिए । उनले सो सभामा अतिथिका रूपमा भाग लिने मात्र होइन, शुभकामना पनि दिएका थिए । डीएसपी राई निर्वाचित तिब्बती धर्मगुरु कर्मापा लामाको ३३औं जन्मोत्सवका अवसरमा बौद्धमा आयोजित एक कार्यक्रममा अतिथि बनेर गएका थिए ।
जबकि उनको जन्मोत्सवमा तिब्बती शरणार्थीहरूले चीन विरोधी गतिविधि गर्न सक्ने भन्दै चिनियाँ दूतावास र कन्सुलर शाखा हात्तीसारमा ठूलै संख्यामा प्रहरी परिचालन गरिएको थियो । त्यति मात्र होइन बौद्ध वृत्तलाई पनि सुरक्षा सतर्कता अपनाउन भनिएको थियो ।
तर, डीएसपी राई भने कर्मापा सेवा समाजले आयोजना गरेको कार्यक्रममा अतिथि बनेका थिए । तिब्बती बौद्ध धर्मका कर्मापा लामा दलाई लामापछिको दोस्रो ठूलो पद हो । त्यस पदमा हाल थाये दोर्जे छन् ।
उनै दोर्जेको ३३औँ जन्मोत्सव नेपालमा पनि तिब्बती शरणार्थीहरूले मनाएका थिए । जन्मोत्सव मनाउने नाममा फ्री तिब्बतसम्बन्धी गतिविधि हुन सक्ने भएकाले चिनियाँ दूतावासलगायतका ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
कर्मापामा नियुक्त थाये २०५८ सालको पुसमा नेपाल हुँदै भारत पुगेका थिए । एक वर्षपछि भारतमा उनले शरणार्थीको मान्यता पाएका थिए । प्रवचनका लागि उनी अमेरिका तथा युरोपका देशहरू जाने गरेका छन् । उनी भारतको धर्मशालामा दलाई लामासँगै बस्दै आएका छन् । हाल उनी अमेरिकामा छन् ।
कर्मापाको नाममा नेपालमा गठन गरिएका कर्मापा सेवा समाजलगायत संस्थाहरू लामो समयदेखि फ्री तिब्बतको गतिविधिमा संलग्न रहँदै आएको सुरक्षा प्रतिवेदनहरूमा उल्लेख छ ।
कर्मापाको ३३औं जन्मोत्सवका अवसरमा बौद्धको दाप्साङ रिम्पोछेको गुम्बामा आयोजित कार्यक्रममा डीएसपी राई पुगेका हुन् । कार्यक्रममा बोल्दै उनले कर्मापालाई जन्मदिनको शुभकामनासमेत दिएको बताइएको छ । स्मरण रहोस्, केही वर्षअघि काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा पनि सो कार्यक्रममा जाँदा विवादमा परेका थिए । कर्मापा मुस्ताङको केरला नाकाबाट नेपाल प्रवेश गरेका र उनी सडक मार्गबाट आउँदा पक्राउ पर्ने डरले हेलिकोप्टरबाट भक्तपुरमा पुगेका थिए । भक्तपुरबाट सडकमार्ग भएर गोप्य रूपमा रूपन्देही हुँदै भारत पुगेका थिए । त्यसरी कर्मापालाई भारत जान सघाएको आरोपमा त्यसबेला भक्तपुरका सीडीओ र प्रहरी प्रमुखलाई निलम्बनसमेत गरिएको थियो । कर्मापाका अनुयायीहरूले अहिले पनि नेपालमा विभिन्न गतिविधि गर्दै आएका छन् । बौद्ध क्षेत्रमा ठूलो संख्यामा तिब्बती शरणार्थीहरू बस्ने भएकाले बौद्धमा फ्री तिब्बतसम्बन्धी गतिविधि व्यापक मात्रामा हुँदै आएको छ । यो घटनापछि प्रहरी प्रधान कार्यालयमा हंगामा भएको र डीएसपी राईलाई कारबाही गर्नुपर्ने आवाज उठेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply