सामान्यमा बढ्यो बिचौलियाहरूको बिगबिगी
काठमाडौं । साउन र भदौमा निजामती कर्मचारीहरूको सरुवा हुने भएको हुँदा अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा हुन चाहने कर्मचारीहरूको भीडभाड लाग्न पुगेको छ । देशभरिका कर्मचारीहरूको सरुवा सोही मन्त्रालयबाटै हुने भएको कारण हरेक कर्मचारी मन्त्रालयमा सरुवाका लागि धाइरहेका छन् र पहुँच र पैसा खर्च गर्न सक्ने क्षमता भएकाहरूको सरुवासमेत भइरहेको छ ।
तर, कर्मचारीहरूलाई आकर्षक कमाइ हुने ठाउँमा सरुवा गराइदिन्छु भनी आर्थिक मोलतोल गर्ने दुई कर्मचारी भने केही दिनअघि कारबाहीमा परेका छन् । सो मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा कार्यरत शाखा अधिकृत सञ्जय साहले कर्मचारीसँग बार्गेनिङ गरेको टेलिफोन संवाद मन्त्री लालबाबु पण्डितसमक्ष पुगेपछि उनलाई सोही मन्त्रालयको अर्कै महाशाखामा सरुवा गरिएको छ । केही दिनअघि अधिकृत साहले एक कर्मचारीलाई ‘मलाई ३० हजार रुपैयाँ दिनू, म भनेकै ठाउँमा सरुवा मिलाइदिन्छु’ भनी बार्गेनिङ गरेको टेलिफोन संवाद फेला पारिएको थियो । उक्त टेलिफोन संवादले सिंगो मन्त्रालयभरि नै सनसनी पैदा गरेपछि उनलाई कारबाहीस्वरूप अर्कै शाखामा सरुवा गरिएको हो । यसैगरी, सरुवा मिलाइदिन्छु भनी कर्मचारीहरूसँग आर्थिक लेनदेन गरेको आरोपमा सोही महाशाखाका अर्का शाखा अधिकृत भुवन पाण्डे पनि कारबाहीमा परेका छन् । उनको पनि अर्कै महाशाखामा सरुवा भएको छ । यसअघि मन्त्रीका स्वकीय सचिव ओसिम आलमलाई पनि हटाइएको थियो भने अर्का स्वकीय सचिव होम लुइँटेल पनि आर्थिक विवादमा मुछिएपछि निर्धारित समयअगावै नयाँ दिल्लीस्थित दूतावासमा सांस्कृतिक सहचारी भएर गइसकेका छन् ।
यद्यपि, सरुवा मिलाइदिने बहानामा आर्थिक लेनदेनमा संलग्न देखिएका दुई अधिकृतलाई कारबाही गरेर महाशाखाबाट हटाए पनि कर्मचारी प्रशासन महाशाखामा भने अहिले नयाँ नयाँ कर्मचारीहरूलाई ल्याइएको छ । त्यस्ता कर्मचारीहरू नाम नै नसुनेका र नचिएकाहरू मात्रै छन् । लेनदेनलाई सहज बनाउन स्थानीय तहमा कार्यरतदेखि प्रदेश मन्त्रालयमा कार्यरत कर्मचारीहरूलाई सो महाशाखामा झिकाइएको छ । यसरी नै, कर्मचारी सरुवाका क्रममा लेनदेनलाई सहज बनाउन नेपाल निजामती कर्मचारी संगठनको पूर्वनेतृत्व र वर्तमान नेतृत्वमा रहेका केही व्यक्तिहरूसमेत कार्यालय समयबाहेक पनि सक्रिय रहँदै आएका छन् । उनीहरू राति १० बजेसम्म मन्त्रालय वा होटल, रेस्टुरेन्टहरूमा बसेर सरुवा गर्ने, गराउने कार्यमा संलग्न रहँदै आएका छन् । केही समययता त सरुवामा चलखेल गर्ने त्यस्ता कर्मचारीहरूका निम्ति मन्त्रालयमै कोठासमेत उपलब्ध गराइएको छ । उनीहरूका निम्ति कर्मचारी प्रशासन महाशाखासँगै जोडिएको कोठा उपलब्ध गराइएको छ । ती कर्मचारीहरूले आर्थिक लेनदेनका आधारमा कर्मचारीहरूलाई आकर्षक ठाउँमा सरुवा गर्ने र सरुवा भएका कर्मचारीको चिठी तयार नहुन्जेल गिद्धले सिनो ढुकेझैं ढुकेर बस्ने र पत्र प्राप्त भएपछि पसलमा सामान बेचेजस्तै मोलतोल गरेर मात्र सरुवाको पत्र दिने गरेको बताइन्छ । यस्ता कार्यमा अहिले आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोलानाथ पोखरेललगायत संगठनका जिम्मेवार पदाधिकारीसमेत सक्रिय रहेको बताइन्छ । उनीहरूले सो महाशाखाका कर्मचारीलाई विभिन्न स्थानमा बोलाई आफूले भनेअनुरूप काम गर्न बाध्यसमेत पारिरहेको बताइन्छ ।
विगतमा शंकर कोइराला मन्त्रालयको सचिव हुँदासम्म स्थानीय तह र प्रदेशमा कार्यरत कर्मचारीहरू संघका कार्यालयहरूमा सरुवा गरिएका थिएनन् । तर, सचिव कोइराला सरुवा भएर अन्यत्र हिँडेकै दिनबाट भने स्थानीय तहबाट तहसमेत खाली गराई कर्मचारीहरूलाई सरुवा गरिएको थियो । एकातिर स्थानीय तहमा कर्मचारी भएनन् भन्ने र अर्कोतिर त्यहींका कर्मचारी सरुवा गर्दै रिक्त गर्ने द्वैध चरित्र देखाइएकोमा आलोचनासमेत हुन पुगेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply