‘मण्डले’हरूलाई काखी च्याप्ने रुचि
काठमाडौं । पञ्चायती पृष्ठभूमिका व्यक्तिहरूलाई खाली दुई प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा नियुक्त गर्ने तयारी भित्रभित्रै चलेपछि नेकपाका कार्यकर्ताहरूमा असन्तुष्टि चुलिएको छ । सांस्कृतिक क्षेत्रमा क्रियाशील नेकपाका नेता–कार्यकर्ताले नेपाल संगीत तथा नाट्य र ललितकला प्रज्ञा प्रतिष्ठानमा आन्दोलनबाट आएका परिवर्तनकामी व्यक्तिहरूलाई लैजानुपर्ने कुरा चर्को रूपले उठाए पनि पहिला पञ्चायतलाई समर्थन गर्ने र पछिल्लो समय भने नेपाली कांग्रेससँग निकट रहेका व्यक्तिहरूलाई कुलपति बनाउन लागिएको बुझिएको छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा कुनै समय राजा महेन्द्रको प्रिय ठानिएका व्यक्ति यादव खरेलको लगभग पक्कापक्कीजस्तै भइसकेको बताइन्छ । पछिल्लो समय भने खरेल कांग्रेसनिकट बुद्धिजीवीमा गनिँदै आएका छन् । उनको नाममा सरकारले लालमोहर लगाइसकेको थाहा पाएपछि लामो समयदेखि वामपन्थी आन्दोलनमा क्रियाशील सांस्कृतिककर्मीहरू क्षुब्ध बन्न पुगेका छन् । तत्कालीन एमालेनिकट जनसांस्कृतिक महासंघले सिफारिस गरेका व्यक्तिलाई लत्याएर खरेललाई नियुक्त गर्न लागेपछि संस्कृति विभागका इन्चार्ज खगेन्द्र राईले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन् । उनले लेखेका छन्, ‘प्रगतिशील खेमाले भने संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा जनकलाकार रायनको नाम सिफारिस गरेको थियो । कुलपतिका लागि रायन, रामेश र श्याम तमोटको नाम आए पनि रामेशले भने कुलपति बन्न अनिच्छा प्रकट गरेका थिए ।’ आफूलाई कुलपति बनाउन चाहनेहरूलाई उनले भनेका थिए, ‘मैले यो बीचमा धेरै काम गर्नुपर्नेछ, एकेडेमीमा गएपछि म आफ्नो काम गर्न भ्याउँदिनँ । बरु, मेरो साटो रायनलाई बनाउन पहल गर्नुहोला, उनी कुलपति बने भने मेरो पनि सहयोग रहनेछ ।’ त्यसपछि तत्कालीन एमाले र माओवादी केन्द्रको जनसांस्कृतिक संस्थाले रायनलाई कुलपति बनाउन जोड गरेका थिए । नेकपाका नेता मणि थापालगायत पनि रायनलाई कुलपति बनाउनेमा सकारात्मक बनेका थिए ।
तर, एकाएक खरेलको नाम आएपछि सांस्कृतिककर्मीहरू सरकारको आलोचना गर्न अग्रसर देखिएका छन् । कुलपतिमा शम्भुजित बाँस्कोटाको पनि नाम आएको थियो । तर, उनी अमेरिकाको डीभीवाला रहेको कुरा थाहा पाएपछि उनको सम्भावना टरेको छ । कुलपति बन्ने दौडधुपमा उनी पनि लागेका थिए । उपकुलपतिमा भने हरिहर शर्माको नाम अगाडि आएको बताइन्छ । वामपन्थी खेमाका नभए पनि नाट्य क्षेत्रमा लामो योगदान गरेका कारण उनलाई उपकुलपति बनाउने सम्भावना बढेको बताइन्छ । सदस्य–सचिवमा भने श्याम तमोटको नाम आएको छ । तर, स्वाभिमानी स्वभावका तमोट पञ्चायती पृष्ठभूमिका कुलपतिको नेतृत्वमा एकेडेमीमा जालान् कि नजालान्, यसै भन्न नसकिने बताइन्छ । प्राज्ञ परिषद् सदस्यहरूमा अशोक राई, देशभक्त खनाल, नमुना शर्मा, धीरेन्द्र प्रेमर्षिलगायतको चर्चा छ ।
यसैगरी, ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा विवादास्पद व्यक्ति विजय थापाको नाम अगाडि आएको छ । पञ्चायतकालदेखि नै एकेडेमीमा जमेर बसेका थापा २०६२÷६३ को जनआन्दोलनको विरुद्धमा लागेका थिए । जनआन्दोलनको विरोध गर्दै उनले विज्ञप्ति निकालेका थिए । तर, तिनै व्यक्तिलाई कुलपति बनाइन लागिएको बताइन्छ । तत्कालीन एमाले र माओवादी केन्द्रका कलाकर्मीहरूले भने कुलपतिमा केके कर्माचार्यको नाम सिफारिस गरेका थिए । कर्माचार्यको नाममा टिपेक्स लगाइने समभावना बढी रहेको बुझिएको छ । त्यस्तै, सदस्य सचिवमा लालकाजी लामाको नाम सिफारिस भए पनि उनको पनि कमै सम्भावना रहेको बताइन्छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले एक हप्ताअघि नै पूर्णता पाइसकेको छ । तीनवटै प्रज्ञा प्रतिष्ठानलाई गाभेर एउटै बनाउने भनिए पनि पछिल्लो समयमा भने तीनवटै प्रज्ञा प्रतिष्ठान गठन गर्न सरकार इच्छुक देखिएको थियो । तीनवटा प्रज्ञा प्रतिष्ठानलाई गाभ्दा जनआन्दोलन २०६२÷६३ को भावनाविपरीत हुने भन्दै विरोध भएपछि सरकार तीनवटै प्रज्ञा प्रतिष्ठान गठन गर्न तत्पर देखिएको हो ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply