अधिकारीकोे स्वास्थ्य अवस्था गम्भीर
काठमाडौं । पूर्वउपप्रधानमन्त्री, अर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का लोकप्रिय नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।
मुटु, श्वासप्रश्वास र छातीको संक्रमणको उपचारका लागि गत २३ पुसमा नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका नेता अधिकारीको स्वास्थ्य अवस्था गम्भीर भएको हो । खासगरी मुटुको गम्भीर समस्यामा सुधार नआएपछि दुई सातादेखि अस्पतालको सीसीयू कक्षमा उनको उपचार जारी छ । विदेशबाट औषधि झिकाएर चिकित्सकहरूले मुटु र श्वासप्रश्वासमा देखिएको समस्या निराकरण गर्ने प्रयास जारी राखेका छन् । प्रधानमन्त्री केपी ओलीले नेता अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै चिकित्सकहरूलाई उपचारमा कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएका छन् । साथै, उनले उपचारका लागि राज्यका तर्फबाट सबै प्रकारको सहयोग रहने परिवार र अस्पताल समक्ष प्रतिबद्धता जनाएका छन् ।
‘प्रधानमन्त्रीज्यूले उहाँको उपचारमा सबै प्रकारको उपाय अवलम्बन गर्न चिकित्सक र अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ,’ अधिकारीका स्वकीय सचिव महेश विष्टले भने, ‘उहाँले परिवारका सदस्य र चिकित्सकहरूलाई राज्यका तर्फबाट सबै प्रकारको पूर्ण सहयोग हुने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।’
८२ वर्षीय लोकप्रिय नेता अधिकारी तत्कालीन एमालेको नौ महिने सरकारमा जनप्रिय कार्यक्रम ‘आफ्नो गाउँ, आफंै बनाऔं’, वृद्धवृद्धा र सुत्केरी भत्ताजस्ता सामाजिक सुरक्षा कार्यक्रमका सर्जक हुन् । उनी अर्थमन्त्री भएकै बेला विकासका लागि नौ ‘स’ अभियान चलाएर छोटो समयमै तत्कालीन एमाले लोकप्रिय बनेको थियो । तत्कालीन एमालेमा पटक–पटक कार्यवाहक महासचिव, महाधिवेशन आयोजक मूल समारोह समितिको संयोजकका रूपमा जिम्मेवारी सम्हालेका नेता अधिकारी अस्वस्थ अवस्थामा समेत मूलधारका मिडियामा नियमित लेखनको काममा सक्रिय थिए ।
उनको पछिल्लो स्वास्थ्य अवस्थाबारे चिन्ता जाहेर गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, वामदेव गौतम, ईश्वर पोखरेललगायतका नेताहरूले अस्पतालमा पुगेर पछिल्लो स्वास्थ्य अबस्थाबारे जानकारी लिएका थिए ।
अहिले मुटुरोग विशेषज्ञ डा. रञ्जित सिंह नेतृत्वको टोलीले अधिकारीको उपचार गरिरहेको छ । उनको पछिल्लो स्वास्थ्य अवस्था स्थिर तर गम्भीर रहेको अस्पतालले जनाएको छ ।
प्रचण्डको क्रान्तिकारिताले सरकार र पार्टी दुवै अप्ठ्यारोमा
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेताहरूसँग पर्याप्त छलफलै नगरी भेनेजुयलाका सन्दर्भमा जारी गरेको एउटा वक्तव्यले कम्युनिस्ट पार्टीको सरकार मात्र होइन, पार्टी नै अप्ठ्यारोमा परेको छ ।
अमेरिका र उसका सहयोगी राष्ट्रहरूले त्यहाँका निर्वाचित राष्ट्रपति निकोलस मडुरोविरुद्ध स्वघोषित राष्ट्रपति जुआन गुवाइडोको समर्थन जनाएलगत्तै अध्यक्ष प्रचण्डले वक्तव्य जारी गरेका थिए । भेनेजुयलामाथिको हस्तक्षेपबारे वक्तव्य जारी गर्नेबारे शीर्ष तहमा सामान्य परामर्श भए पनि नेपालको परराष्ट्र नीतिअनुसार वक्तव्य जारी हुनुपर्नेमा प्रचण्डले चार कदम अघि बढेर युद्धकालमा झैं अमेरिकी साम्राज्यवादी हस्तक्षेप भन्दै कडा शब्दमा निन्दा गरेपछि वक्तव्यले सरकार र पार्टी दुवै अप्ठ्यारोमा परेको हो । पार्टी अध्यक्षजस्तो उच्च व्यक्तिले कूटनीतिक मर्यादाअनुकूल वक्तव्य जारी गर्नुपर्नेमा चीन र रुसलाई समेत उछिनेर सबैभन्दा क्रान्तिकारीपन देखाएकाले कूटनीतिक च्यानलमार्फत अमेरिकाले आपत्ति जनाउँदै नेपाल सरकारको धारणा माग गरेको छ ।
नेपाल सरकारले छिमेकी राष्ट्रहरूसँग सुमधुर र सन्तुलित सम्बन्ध कायम गर्दै अन्य मित्रराष्ट्रहरूसँग समृद्धिको अभियानमा सहयोगका लागि सम्बन्ध विस्तार र प्रगाढका लागि प्रयास केन्द्रित गरिरहेको छ । यस्तो बेला प्रचण्डको त्यस्तो कडा वक्तव्य सरकार र पार्टी दुवैको तत्कालीन नीतिसँग मेल खाएको छैन । शान्ति, स्थिरतासँगै मुलुक विकासको अभियानमा अघि बढिरहेका बेला अमेरिकी सहयोगमा अहिले नेपालमा ५५ अर्ब रूपैयाँबराबरको सहयोगमा विद्युतीय प्रसारण लाइनको ठूलो परियोजना चालू छ । नेपाललाई धेरै महŒव दिँदै अमेरिकाले निमन्त्रणा गरेपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली १७ वर्षपछि अमेरिका भ्रमण गरेर स्वदेश फर्किएका थिए । ठीक यहीबेला प्रचण्डले भने अलिकति होस नपु¥याई वक्तव्य जारी गर्दा उनको उचाइ र परिपक्वतामाथि फेरि एकपटक गम्भीर प्रश्न खडा भएको छ । खासगरी हस्तक्षेपको सामान्य चासो राखेर संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार सबै देशको सार्वभौमसत्ताको सम्मान गर्नुपर्ने, मर्यादा राख्नुपर्ने, त्यहाँको जनताको फैसला र लोकतान्त्रिक प्रक्रियालाई विश्व समुदायले स्वीकार गर्नुपर्ने भन्दै अमेरिकाको ध्यानाकर्षण गराउँदै घुमारो तरिकाले असहमति राख्नेगरी नेताहरूको सल्लाहपछि वक्तव्य तयार भएको थियो । तर, त्यो वक्तव्यको सट्टा प्रचण्डले भेनेजुयलाबाट गत १६ तारिकमा फर्किएका राष्ट्रिय सभाका सांसद बलराम बाँस्कोटाले उतैबाट ल्याएको वक्तव्यको ड्राफ्टमा आँखा चिम्लिएर हस्ताक्षर गरिदिए । वक्तव्यको भाषाले सिधै अमेरिकासँग नेपालले जोरी खोजेको मात्र होइन, कूटनीतिक सम्बन्धसमेत बिगार्ने प्रकृतिको छ । नेपाल स्वयं कुनै पनि ध्रुवमा नलाग्ने नीतिअनुसार अघि बढिरहेको छ । तर, ती सबै नीतिलाई प्रचण्डको वक्तव्यले उल्लंघन गरेको छ ।
प्रचण्डको वक्तव्यप्रति अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले स्वदेश फर्किने क्रममै कूटनीतिक भाषामा असहमति जनाएका छन् । त्यस्तै, पार्टीकै अन्य शीर्ष नेता पनि आश्चर्यचकित भएका छन् । त्यसैले उक्त वक्तव्य पार्टीमा सल्लाहअनुसार नआएको, पार्टीमा कुनै छलफल नभएको मात्र होइन, सरकार त्यसप्रति बेखबर मात्र होइन, पूर्ण असहमत रहेको कूटनीतिक च्यानलबाटै प्रस्ट्याउने प्रयास भइरहेको छ । वक्तव्य जारी भएपछि अध्यक्ष प्रचण्डले कुनै मुख खोलेका छैनन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply