समायोजनमा १० हजारभन्दा बढीको असन्तुष्टि
काठमाडौं । सरकारले गरेको समायोजनमा असन्तुष्टि जनाउँदै अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीको भीड लागिरहेको छ । सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेको एक महिना नबित्दै संशोधनको माग गर्दै उनीहरु दैनिक रूपमा मन्त्रालय धाउन थालेका छन् । सरकारले गत चैत १४ गते तीनै तहमा करिब एक लाख ३१ हजार कर्मचारी समायोजन गरेकोमा असन्तुष्ट कर्मचारीको संख्या १० हजारभन्दा बढी रहेको छ ।
समायोजनप्रति चित्त नबुझे सरकारले ‘गुनासो व्यवस्थापन समिति’मार्फत आफ्नो गुनासो राख्न पाउने व्यवस्था गरेपछि कर्मचारीहरू दैनिक रूपमा मन्त्रालयमा आएर गुनासो दर्ता गराउन थालेका छन् । यसरी गुनासो दर्ता गराउनेमा अधिकांश स्थानीय तहमा समायोजन भएका कर्मचारी छन् । गुनासो राख्न अझै दुई दिन समय बाँकी नै छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनमा परेका कर्मचारीका गुनासो सम्बोधनका लागि ‘गुनासो सहयोगी कक्ष’ समेत स्थापना गरेको छ । विशेष गरी प्रशासन र स्वास्थ्य सेवातर्फ समायोजन भएका कर्मचारीले संशोधनका लागि सहयोगी कक्षमा निवेदन दर्ता गराउने गरेका छन् । प्रशासन सेवातर्फका कर्मचारीले समायोजनको संशोधनको माग गर्दै निवेदन दर्ता गराइसकेका छन् भने अहिले स्वास्थ्य सेवातर्फका कर्मचारीले संशोधनको माग गर्दै निवदेन दर्ता गराइरहेका छन् । समायोजनप्रति असन्तुष्टि जनाउँदै सबैभन्दा बढी स्वास्थ्य सेवातर्फका कर्मचारीले निवेदन दर्ता गराइरहेका छन् ।
स्वास्थ्य सेवातर्फका धेरै कर्मचारी स्थानीय तहमा समायोजन भएकाले उनीहरुले संघ वा प्रदेशमा समायोजनका लागि निवेदन दर्ता गराएका छन् । प्रशासन तर्फका करीब १० हजार कर्मचारीले समायोजन संशोधनका लागि निवेदन दर्ता गराएको मन्त्रालयले जनाएको छ । प्रशासनतर्फका कर्मचारीको गुनासो दिइने समय सकिएपछि मन्त्रालयमा अहिले स्वास्थ्यतर्फका कर्मचारीले समायोजन संशोधनको माग गर्दै निवेदन दिइरहेका छन् । मन्त्रालयका जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेले अहिलेसम्म करिब १० हजार कर्मचारीले संशोधनका लागि निवेदन दर्ता गराएको जानकारी दिएका छन् ।
उनले अझै तीन दिन गुनासो गर्ने समय भएकाले गुनासो गर्नेको संख्या बढ्न सक्ने बताए । स्वास्थ्यतर्फका कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अनलाइनमार्फत इमेल गरेर निवेदन दर्ता गराइरहेका छन् । दैनिक झन्डै एक हजारको संख्यामा कर्मचारीले मन्त्रालयमा आएर नै गुनासो दर्ता गराउने गरेका छन् । स्वास्थ्यतर्फ २७ हजार ३ सय २ कर्मचारी समायोजन भएकामध्ये स्थानीय तहमा २२ हजार १ सय ७६, प्रदेशमा दुई हजार ३ सय ९४ र संघमा २ हजार ७६ कर्मचारी समायोजन भएका छन् । सरकारले गरेको समायोजनप्रति सरकारी चिकित्सक संघले आन्दोलन गरेको थियो । पछि समायोजन संशोधन गर्ने भनेपछि अहिले संघले आन्दोलन स्थगन गरेको छ । आएका गुनासालाई सेवा समूह हेरेर विभिन्न ११ कार्यदलले अध्ययन गरिरहेको छ । कार्यदलले अध्ययन गरेर गुनासोलाई समायोजन ऐनअनुसार सम्बोधन गर्न मिल्ने गुनासोलाई सिफारिस गर्नेछ । कार्यदलले सुनुवाइ समितिमा सिफारिस गर्ने र उक्त समितिले ऐनअनुसार भए–नभएको हेर्नेछ । सुनुवाइ समितिले कानुनबमोजिम समायोजन भएका कर्मचारीलाई संशोधन आवश्यक भए सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको संयोजकत्वमा गठित समायोजन निर्देशन समितिलाई गुनासो सम्बोधनका लागि सिफारिस गर्ने सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।
कर्मचारी समायोजन ऐन, २०७५ को दफा ८ अनुसार कडा रोग लागेका वा गम्भीर शारीरिक अशक्तता भएको भनी नेपाल सरकारले गठन गरेको मेडिकल बोर्डले प्रमाणित गरेका कर्मचारीको हकमा मेडिकल बोर्डको सिफारिस र रोगको पृष्ठभूमिसमेतलाई आधार लिई मन्त्रालयको कर्मचारी कल्याण शाखाले निवेदनका साथ संलग्न कागजात विशेषज्ञ चिकित्सकबाट अध्ययन गराई सम्बन्धित व्यक्तिका लागि उपचार सुविधाको उपलब्धता, पारिवारिक हेरचाह हुने ठाउँमा पुनः समायोजन गरिने छ । यसैगरी प्रदेश वा स्थानीय तहमा समायोजन भएका कर्मचारीमध्ये विभिन्न कारणबाट अपायक परी आपसी सहमतिमा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा र एक प्रदेशबाट अर्को प्रदेशमा गई काम गर्न संयुक्त निवेदन दिए निश्चित मापदण्डका आधारमा काम गर्न सक्ने आवश्यक व्यवस्था मिलाइने ऐनमा उल्लेख छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply