उमेर नाघे पनि कुर्सीमै ढलीमली
काठमाडौं । उमेर हद नाघिसक्दा पनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौला गैरकानुनी रूपमा पदमा टाँसिइरहेका छन् । उनको हठका कारण देशमा कानुन नै छैन कि भन्ने देखिएको छ ।
१० महिनाअघि लिमिटेडको महाप्रबन्धकमा नियुक्ति पाएका सिटौलाको उमेर अहिले ६५ वर्ष पुगिसकेको छ । कानुनअनुसारै उनको उमेरको हद नाघिसकेको छ । सार्वजनिक संस्थान निर्देशन बोर्ड (गठन तथा कार्यसञ्चालन आदेश–२०६९) अनुरूप उनले नियुक्ति पाएका थिए । उक्त आदेशबमोजिम लिमिटेडको महाप्रबन्धकमा खुला प्रतिस्पर्धाद्वारा नियुक्ति गर्न २०७० जेठ २३ गते अर्थ मन्त्रालयले सूचना जारी गरेको थियो । सूचना निस्किएपछि धेरैले आवेदन दिए पनि सिटौला, सुशील कोइराला र शिवहरि श्रेष्ठको नाम निस्किएको थियो । लिमिटेडकै पूर्वकर्मचारी सिटौलाले २०६९ असोज २८ गते ५८ वर्ष उमेर पुगेर अवकाश पाइसकेका हुँदा उनले महाप्रबन्धकका लागि उमेरको हद बाँकी रहेको हुँदा आवेदन दिएका थिए ।
त्यतिबेला सिटौला, कोइराला र श्रेष्ठको नाम निस्किए पनि लिमिटेडको महाप्रबन्धकको नियुक्ति नहुँदै कोइराला गोरखापत्र संस्थानको महाप्रबन्धक र श्रेष्ठचाहिँ नेपाल खाद्य संस्थानको महाप्रबन्धकमा नियुक्त भए । बोर्डको आदेशअनुरूप तीनजनामध्येबाट महाप्रबन्धक छान्नुपर्नेमा सिटौला एक्लो भएपछि तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले तीनजनाको सिफारिस नभएको भन्दै नियुक्ति रोकेका थिए ।
त्यसपछि भने सिटौलाले सर्वोच्च अदालतमा २०७१ भदौ १६ गते रिट दायर गरे । उनले अदालतमा ‘महाप्रबन्धकमा मेरो सिफारिस भए पनि नियुक्ति दिइएन, नियुक्ति पाऊँ’ भनी रिट दायर गरेका थिए । सर्वोच्च अदालतले २०७४ असार २५ गते ‘सिटौलालाई नियुक्ति दिनू’ भनेर आदेश दियो । सर्वोच्चले आदेश दिँदा बोर्डको आदेश–२०६९ को दफा १३ को उपदफा ३ टेकेर निर्णय गरेको थयो । सर्वोच्चले आदेश दिएपछि मन्त्रिपरिषद्ले २०७५ माघ २५ गते सिटौलालाई नियुक्ति गरेको थियो ।
तर, मन्त्रिपरिषद्ले अदालतको आदेश भन्दै सिटौलालाई नियुक्ति दिए पनि बोर्डको आदेशविपरीत उनी नियुक्त भएका थिए । आदेश–२०६९ को दफा १२ को उपदफा ७ (ख) मा स्पष्ट रूपमा लेखिएको छ, ‘३० वर्ष उमेर पूरा नभएको वा ६० वर्ष उमेर पूरा भएको व्यक्ति उम्मेदवार हुन अयोग्य मानिनेछ ।’ सिटौला ६० वर्ष त २०७१ असोज २८ गते नै पुगिसकेका थिए । ६० वर्ष पुग्नुभन्दा केही दिनअघि २०७१ भदौ १६ गते उनले सर्वाेच्चमा मुद्दा दायर गरेका थिए । २०७४ सालमा सर्वोच्चले फैसला गर्दा सिटौलाको उमेर ६४ वर्ष पुगिसकेको थियो ।
उमेर हद नाघ्दासमेत पदमा बसिरहेपछि लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले सिटौलालाई उमेर हदको सूचना दिएर जिम्मेवारीबाट हट्न सुझाव दिएका थिए । तर, सिटौलाले पद छाड्ने कुनै संकेत देखाएनन् । उनी अहिले ‘आफूलाई अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक संस्थान बोर्डले नियुक्त गरेको हुँदा सो मन्त्रालयले पद छाड्नु भन्ने पत्र नपठाएसम्म पद नछाड्ने’ जिकिर गर्दै आएका छन् । सिटौलालाई अर्थमन्त्री डा. युवराज खतिवडाको प्रस्तावमा नियुक्ति दिइएको थियो ।
कानुनलाई समेत बेवास्ता गर्दै उमेर नाघिसक्दा पनि पदमै रहिरहने सिटौलाको हठका कारण उनलाई अख्तियार लाग्नेसमेत बताइन्छ । उमेर हद नाघिसक्दा पनि पदमा रहेर काम गरिरहेका सिटौलाले अख्तियार दुरूपयोग गरेको हुँदा उनलाई अख्तियारले कारबाहीको प्रक्रिया अघि बढाउने सम्भावनासमेत बढेको छ । यदि अख्तियारले कारबाही प्रक्रिया अघि बढायो भने उनले अहिलेसम्म खाईपाई आएका तलबसुविधाको क्षतिपूर्ति तिर्नुपर्ने बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply