जनवाद खारेज गर्न वामदेवको प्रस्ताव
काठमाडौं । नेकपाको जारी स्थायी समिति बैठकमा नेता वामदेव गौतमले पार्टीको वैचारिक राजनीतिक कार्यदिशामै हलचल पैदा हुनेगरी अनौठो प्रस्ताव गरेका छन्– जनताको जनवादको खारेज, समाजवाद अबको कार्यदिशा ।
एकीकरणपछि नेकपाले जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादलाई आगामी महाधिवेशनमा छलफल गर्नेगरी थाँती राखेर समाजवादउन्मुख जनताको जनवादलाई पार्टीको कार्यदिशा बनाउँदै विधानको प्रस्तावनामा पनि समावेश गरेको छ । तर, त्यो कार्यदिशा नै खारेज हुनेगरी गौतमले समाजवादलाई नै किटानीका साथ कार्यदिशा बनाएर अघि जानुपर्ने प्रस्ताव गरेपछि खैलाबैला मच्चिएको छ । यद्यपि, उनले त्यसलाई फरक मतका रूपमा भन्दा पनि सुझावका रूपमा बैठकमा राखेकाले गम्भीरतापूर्वक हेरिएको छैन । तर, पार्टीले अवलम्बन गरिरहेको वैचारिक राजनीतिक कार्यदिशा नै बदल्नुपर्ने उनको प्रस्तावलाई आगामी महाधिवेशनमा छुट्टै समूह बनाएर नेतृत्व दाबी गर्न च्याँखे दाउ थाप्न खोजेको अर्थमा टिप्पणी गर्न खोजिएको छ ।
साबिक एमालेले जनताको बहुदलीय जनवादलाई नै पार्टी सिद्धान्तका रूपमा अवलम्बन गर्दै आएको छ । जबजले पुँजीवादी जनवादी क्रान्तिपछि पनि समाजवादमा जान बिभिन्न चरणहरू पार गर्नुपर्ने बताउँदै आएको छ । सामन्तवादको अवशेषको उन्मूलन, उपरि संरचनाहरूमा परिवर्तन गर्दै जनवादी व्यवस्थाको सुदृढीकरण र बहुदलीय प्रतिस्पर्धा गर्दै समाजवादमा जाने किटानी गरेको थियो । ती सबै चरण नै पार नगर्दै जबजको व्याख्याकारमध्येका एक गौतमले कसरी समाजवाद मात्रै अहिलेकै कार्यदिशा र कार्यभार बन्यो सार्बजनिक रूपमा सैद्दान्तिक हिसाबले पुष्टि गरेका छैनन् । ‘पार्टीको विधान र राजनीतिक प्रतिवेदनको थप ब्याख्या आवश्यक छ । पार्टी एकतापछिको राजनीतिक प्रतिवेदनमा समाजवाद र जनताको जनवादको व्याख्या प्रस्ट भएको छैन । हामी समाजवादतिरै जाने हो त्यसैले अब जनताको जनवाद भनिराख्नै पर्दैन । यसलाई थप प्रष्ट ब्याख्या गर्नुपर्छ,’ सोमबारको बैठकमा गौतमले भनेका थिए ।
पार्टीभित्र जहिले पनि क्रान्तिकारी आवरण देखाउने गौतमले २०५४ सालमा प्रगतिशील सुधारको कार्यनीति अवलम्बन गर्नुपर्ने भन्दै पार्टी फुटाएका थिए । शक्ति सञ्चयको कार्यनीति अवलम्बन गर्नुपर्ने कार्यदिशा नेपालगन्जको छैटौं महाधिवेशनबाट पारित भएपछि गौतम तत्कालीन एमालेबाट बाहिरिएका थिए । गौतमले बेलाबेला हलचल पैदा गर्नेगरी पार्टीभित्र आफ्ना कुराहरू राख्दै आएका छन् । अघिल्लो पुसमा केपी ओली सरकार सञ्चालनमा असफल भइसकेको भन्दै लिखित मत व्यक्त गरेका गौतम अहिले भने त्यसबारे मौन छन् । यद्यपि, वर्तमान संविधानमा प्रतिनिधिसभा निर्वाचन हारेको व्यक्ति मन्त्रीसमेत बन्न नपाउने व्यवस्था रहेकाले त्यसलाई संशोधन गरेर राष्ट्रियसभा सदस्यसमेत प्रधानमन्त्री बन्न पाउने बाटो खुलाउनुपर्ने भन्दै गौतमले सरकारी समाचार संस्था राससलाई अन्तर्वार्ता दिएका छन् । उनले चुनाव हारे पनि प्रधानमन्त्री बन्ने आफ्नो चाहना भने जीवितै रहेको खुलेर बताएका छन् । अस्थिर चरित्रका पात्रका रूपमा चिनिँदै आएका गौतम पार्टी योजना र संगठन परिचालनमा सशक्त कमान्डरका रूपमा परिचित छन् । तर, सैद्धान्तिक, वैचारिक मामिलामा मात्र होइन, स्वार्थपूर्तिका लागि जुनसुकै बेला जेसुकै सम्झौता गर्न पनि तयार रहेका कारण उनको प्रमुख नेतृत्वबारे भने सिंगो पार्टी पंक्ति आश्वस्त छैन । त्यसैले, नेकपा पंक्तिमा मदन भण्डारीले वामदेवका बारेमा गरेको एउटा टिप्पणी सधैं चर्चित छ । वामदेवबिनाको पार्टी लुलो हुन्छ तर वामदेवलाई मुख्य भूमिका दियो भने पार्टी धुलो हुन्छ । पार्टी उपाध्यक्षमा प्रस्तावित गौतमले कार्यदिशा नै फेर्नुपर्ने प्रस्तावको औचित्यलाई कति पुष्टि गरेर सफल हुन्छन्, त्यो भने प्रतीक्षाकै विषय छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply