सभामुखमा खुमलटारबाटै चौथो विकल्पको खोजी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयमै सभामुख चयन गर्न नसक्दा हिउँदे अधिवेशनका लागि बोलाइएको संसद् बन्धक बन्दै गएको छ । उपयुक्त र अनुभवी पात्रबाट चुन्ने कि विगतको पूर्वएमाले र माओवादी समूहको भागबन्डालाई निरन्तरता दिँदै चयन गर्ने विषयलाई ओली र प्रचण्डले अनावश्यक रूपमा तन्काइएकै कारण सभामुख चयन लम्बिएको छ । सभामुख चयन प्रक्रिया अघि बढाउन बुधबार प्रतिनिधिसभाको बैठक बोलाइएको छ । त्यसअघि सहमति खोज्न दुई अध्यक्षबीच मंगलबार बालुवाटारमा सभामुखकै विषयमा लामो छलफल भए पनि कुनै ठोस निष्कर्ष नआएको बताइएको छ ।
पूर्वसभामुख सुवास नेम्वाङ, उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे र नेता अग्नि सापकोटा नै सभामुखको मुख्य दाबेदार छन् । तर, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा भने तीन पात्र मात्र उपयुक्त भएजसरी बहस भइरहेको र त्यसरी अघि बढ्दा निकास आउने सम्भावना कम भएकाले चौथो व्यक्तिलाई पनि उम्मेदवारका रूपमा उभ्याउन सकिनेबारे छलफल भएको स्रोतले जनाएको छ । गत शनिबार खुमलटार पुगेका जनार्दन शर्मा, टोपबहादुर रायमाझी र देवेन्द्र पौडेललगायत नेताहरूले पूर्वभागनन्डाअनुसार कुनै हालतमा सभामुख तत्कालीन माओवादी समूहबाटै हुनुपर्ने भन्दै बरु मुख्य चर्चामा रहेका नामबाहेकको विकल्पमा जानसमेत तयार हुनुपर्ने भन्दै प्रचण्डलाई दबाब दिएका छन् । चौथो विकल्पका रूपमा अहिले पूर्वमाओवादी समूहकै शर्मा र रायमाझीले लबिङ तीव्र पारेका छन् । उनीहरू प्रधानमन्त्री केपी ओलीसँग बाक्लै भेटघाट गर्ने नेतामध्ये पर्छन् । पूर्वमाओवादी समूहका धेरै कुराहरू सेयरिङ गर्ने गरेको र बाक्लै आवतजावत गर्ने भएकाले प्रधानमन्त्री ओलीले पनि उनीहरूको नाममा सफ्ट कर्नर राखेको स्रोतले जनाएको छ । रायमाझीले महासचिव विष्णु पौडेलमार्फत पनि सभामुखमा आफ्नो रुचि जाहेर गरेको बताइएको छ ।
गत ११ गते सभामुख चयन प्रक्रिया अघि बढाउनेगरी संसद् बोलाइए पनि ओली र प्रचण्डबीच छलफल नहुँदा उपसभामुख तुम्बाहम्फेले राजीनामा नदिई १६ गतेसम्मका लागि सूचना टाँसेर बैठक स्थगित गराएकी थिइन् । संसद् बैठकको अघिल्लो दिन राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी ओलीलाई राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाएर तुम्बाहाम्फेलाई नै सभामुख बनाउन थप दबाब सिर्जना गरेकी थिइन् । विद्यार्थी आन्दोलनबाट स्थापित महिला नेतृ मात्र होइन, महिला आन्दोलनमै विद्यावारिधिसमेत गरिसकेकी तुम्बाहाम्फेलाई उपेक्षा गरेर अघि बढ्दा महिला आन्दोलनकै उपेक्षा हुने भन्दै राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरेको बुझिएको छ । राष्ट्रपतिको यस्तो दबाबकै कारण उपसभामुख तुम्बाहम्फेको राजीनामा तत्कालका लागि रोकिएर संसद् ६ दिनसम्मका लागि स्थगित गरिएको थियो ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply