आज प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण
काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गर्दैछन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जस्थित युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा.डा. उत्तमकुमार शर्मा र सोही विभागका वरिष्ठ सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण हुनेछ । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार साँझ अस्पताल भर्ना भएका थिए ।
प्रत्यारोपणमा ‘ब्याक सपोर्ट’का लागि प्रधानमन्त्री ओलीको पहिलो मिर्गौला प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्रा.डा. अनन्तकुमार पनि रहनेछन् । १२ वर्षअघि २०६४ साउनमा उनकै नेतृत्वमा दिल्लीस्थित एपोलो अस्पतालमा प्रधानमन्त्री ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि शल्यक्रिया सफल हुनेमा विश्वस्त बनेर उच्च मनोबलका साथ प्रस्तुत भएका प्रधानमन्त्री ओलीलाई सिंगै मुलुकले सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेको छ । उनी अस्पताल भर्ना भएयता स्वास्थ्यलाभको कामना गर्ने सिलसिला जारी छ ।
प्रधानमन्त्री ओलीलाई भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दान गरेकी छन् । त्यसका निम्ति प्रधानमन्त्री ओलीसँगै उनी पनि सोमबार अस्पताल भर्ना भएकी थिइन् । स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्रीको निर्णयपछि मुलुकको चिकित्सा क्षेत्र मात्रै होइन, आमजनता उत्साहित भएका छन् । देश, जनता र यहाँका चिकित्सकप्रति प्रधानमन्त्रीको विश्वासले नयाँ ऊर्जा पैदा गरेको र त्यसले मुलुकको चिकित्सक क्षेत्रमा मात्रै होइन, राजनीतिक क्षेत्रमा समेत गहिरो छाप छाड्ने विश्लेषण गरिएको छ ।
९० वर्षीय पिता मोहनप्रसाद ओलीको आशीर्वाद लिएर अस्पताल प्रस्थान गर्नुअघि प्रधानमन्त्री ओलीले देशवासीका नाममा भिडियो सन्देश जारी गरेका थिए । त्यसमा उनले मिर्गौला प्रत्यारोपणपछि थप ऊर्जा र आत्मविश्वास लिएर आफू पुनः काममा फर्कने विश्वास व्यक्त गरेका छन् । ‘म एकपटक पुनः आग्रह गर्छु– मेरो स्वास्थ्यलाई लिएर यहाँहरू ढुक्क रहनुस् । हामीले देखेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न केही दिनको अस्पताल बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर म काममा फर्कनेछु,’ प्रधानमन्त्रीले सम्बोधनमा भनेका छन् ।
त्यस्तै भिडियो सन्देशमा स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्न पाउँदा गर्व र खुसीको अनुभूति भइरहेको जनाउँदै प्रधानमन्त्री ओलीले जागृत हुँदै गरेका सपनालाई बीचमै छाडेर अलप नहुने मार्मिक सम्बोधनसमेत गरेका छन् । ‘कुनै समय मूच्र्छित रहेका हाम्रा सपनाहरूलाई हामी सबै मिलेर जगायौं । त्यसलाई ब्युँत्याउन गत निर्वाचनमा मेरो नेतृत्वको वरिपरि तपाईंहरू सबैले आफूलाई उभ्याउनुभयो । यस वर्षलाई हामीले समृद्धिको आरम्भ वर्ष भनेका छौँ । जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न,’ ओलीले भनेका छन्, ‘संसारमा कोही पनि अजम्बरी छैन । मेरो यो संकल्प पनि अजम्बरी बन्न होइन, हाम्रा जागृत हुँदै गरेका सपना साकार पार्न हो भन्ने यहाँहरूले बुझ्नु नै भएको छ ।’
आफ्नो सिंगो जीवन कुनै न कुनै संघर्षमा बित्दै आएको र मुलुकमा व्याप्त विविध समस्यासँग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न बाध्य हुन पुगेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले विज्ञान, आधुनिक प्रविधिको ज्ञान र सीपले मिर्गौला प्रत्यारोपण अहिले पहिलेजस्तो जटिल नमानिने भएकाले यसपटकको मिर्गौला प्रत्यारोपण तुलनात्मक रूपमा सजिलो हुने विश्वास उनले लिएका छन् । ओलीले अगाडि भनेका छन्, ‘त्यसमाथि आफ्नै मुलुकमा, आफ्नै मुलुकका अनुभवी चिकित्सकहरूद्वारा प्रत्यारोपण गर्ने सुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्त खुसी पनि छु । भनिन्छ नि– आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासको जग मजबुत तुल्याउन सकिन्छ ।’
आफ्नो स्वास्थ्यलाई लिएर सबैलाई ढुक्क रहन आग्रह गर्दै उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न केही दिनको अस्पताल बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर म काममा फर्किने बताएका छन् । प्रधानमन्त्री ओलीले अस्पताल भर्ना हुने अघिल्लो दिन सचिवालय बैठक मन्त्रिपरिषद् बैठक राखेर पनि आफू एक हप्ताभित्रै बालुवाटार फर्किने विश्वास व्यक्त गरेका थिए । विश्वलाई नै पिरोलिरहेको कोरोना भाइरसका कारण सिर्जित भएको नयाँ समस्या समाधानका लागि आवश्यक निर्णय लिने संयन्त्र र अन्य व्यवस्था मिलाएको भन्दै आफ्नो अस्पताल बसाइका क्रममा प्रभावकारी कार्यसम्पादन गर्न पनि ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री अस्पताल प्रस्थान गर्नुअघि उपराष्ट्रपति नन्दकिशोर पुनले बालुवाटारमै भेटेर सफल शल्यक्रिया र स्वास्थ्यलाभको शुभकामना दिएका थिए । त्यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटमार्फत तथा नेपालका लागि भारतीय दूतावासका कार्यवाहक राजदूत अजयकुमारमार्फत पनि प्रधानमन्त्रीले सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभका लागि शुभकामना दिएका छन् । ट्विटमार्फत मोदीले सफल उपचारका लागि भगवान् पशुपतिनाथसँग प्रार्थना गरेको र उपचारपछि नेपाल–भारतसम्बन्ध थप नयाँ उचाइमा पु¥याउन सहकार्यका लागि प्रतीक्षा गरिरहेको उल्लेख गरेका थिए । त्यस्तै, मोदीको सन्देश लिएर कार्यवाहक राजदूत डा. अजयकुमार बालुवाटार पुगेका थिए । प्रमुख विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । ट्विटमार्फत सभापति देउवाले भनेका छन्, ‘प्रधानमन्त्री एवं मेरा मित्र केपी शर्मा ओलीजीको मिर्गौलाको सफल प्रत्यारोपणको शुभकामना व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गर्छु ।’
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply