निमित्तलाई हटाएर निमित्त नै
काठमाडौं । दुई महिना पनि नपुग्दै नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी–निर्देशकबाट लेखनाथ कोइरालालाई हटाएर हितेन्द्रदेव शाक्यलाई ल्याइएको छ । गएको भदौ अन्तिम साता तत्कालीन कार्यकारी–निर्देशक कुलमान घिसिङको पदावधि सकिएपछि कोइरालाले निमित्तको जिम्मेवारी पाएका थिए ।
भदौ ३१ गतेदेखि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका कोइरालाले अस्ति सोमबारदेखि साबिककै अर्थ निर्देशनालयमा फर्किएका छन् । निमित्त कार्यकारी–निर्देशकको जिम्मेवारी पाएका शाक्यले भने सोमबार नै पद बहाली गरेका छन् । गएको शुक्रबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले शाक्यलाई प्राधिकरणको कर्पोरेट कार्यालयमा फिर्ता बोलाउने निर्णय गरेको थियो । जल, ऊर्जा तथा सिँचाइमन्त्री वर्षमान पुनले शाक्यलाई प्राधिकरणअन्तर्गतकै एनईए इन्जिनियरिङ कम्पनीबाट प्राधिकरणमै फिर्ता बोलाउन निर्देशन दिएका थिए । शाक्य सो कम्पनीमा काजमा कार्यरत रहँदै आएका थिए । शुक्रबार निर्णय भएपछि आइतबार शाक्यले सञ्चालक समितिको पत्र पाएर त्यही दिन प्राधिकरणमा हाजिर भएका थिए । उनी हाजिर भएलगत्तै मन्त्रालयले उनलाई निमित्तको जिम्मेवारी दिएको हो ।
प्राधिकरणको वरिष्ठ कर्मचारी रहे पनि कर्पोरेट कार्यालयमा कार्यरत नभएका कारण शाक्यले घिसिङको पदावधि सकिएलगत्तै निमित्त कार्यकारी–निर्देशकको जिम्मेवारी पाएका थिएनन् । तत्कालीन समयमा कर्पोरेट कार्यालयको अर्थ निर्देशनालयको उपकार्यकारी निर्देशक रहेका कोइरालाले निमित्तको जिम्मेवारी पाएका थिए । त्यतिबेला शाक्यले नै निमित्त पाउने अड्कल लगाइए पनि कोइरालाले निमित्त पाएका थिए । वरिष्ठताको आधारमा शाक्यले नै निमित्त पाउनुपर्ने भए पनि प्राविधिक समस्याका कारण त्यतिबेला उनी निमित्त पाउनबाट चुकेका थिए ।
प्राधिकरणको वरिष्ठ कर्मचारी भए पनि शाक्यलाई निमित्तको साटो कायममुकायम दिन भने मन्त्रालयले अनिच्छा देखाएको छ । एउटा निमित्तलाई हटाएर अर्को निमित्तलाई ल्याइनुभन्दा पनि शाक्यलाई कायममुकायम नै दिएको भए हुने कुरा नउठेको होइन । अझ, प्राधिकरणको नयाँ कार्यकारी निर्देशक छनोटका लागि कुनै प्रक्रिया सुरु नगरिएको हुँदा कार्यकारी निर्देशक नियुक्त हुन अझै कति समय लाग्ने हो, कुनै टुंगो छैन । निमित्तको जिम्मेवारी पाएका शाक्यलाई प्राधिकरणभित्र व्यवस्थापकीय कौशल भएका कर्मचारी मानिन्छ । आयोजना, उत्पादनलगायत क्षेत्रमा शाक्यलाई दक्ष मानिन्छ । विगतमा घिसिङ कार्यकारी निर्देशक हुँदा आयोजना, उत्पादनलगायत विषयहरूमा शाक्यसँग सल्लाह र परामर्श लिने गरेको बताइन्छ । तत्कालीन कार्यकारी निर्देशक घिसिङको भने वितरणमा दक्षता रहेको कारण विद्युत् आपूर्तिमा सहजता भएको बताउँदै आएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply