साझा लफडामै
काठमाडौं । अध्यक्ष तथा महाप्रबन्धक ममता झाको बहिर्गमनबिना कर्मचारीहरूको चालू आन्दोलन नरोकिने संकेत देखिएपछि दिनानुदिन ओरालो लाग्दै गइरहेको साझा प्रकाशनको संकट झनै चुलिएको छ । एक महिनादेखि अध्यक्ष झा कार्यालयमा अनुपस्थित रहेकाले पाठ्यक्रम छाप्नुपर्ने बेला साझाले तीव्र संकट सामना गर्नु परिरहेको हो ।
ऋण र भ्रष्टाचारमा चुर्लुम्मै डुबेको साझाका कर्मचारीहरू केही दिनदेखि रिले अनशनमा छन् । अध्यक्ष र कर्मचारीबीचको द्वन्द्व चर्किंदै जाँदा संस्था नै धराशायी हुने स्थिति उत्पन्न भएपछि केही दिनअघि शिक्षा मन्त्रालयका सचिव नारायणगोपाल मलेगो र साझाको सञ्चालक समितिका सदस्यहरू र कर्मचारी प्रतिनिधिबीच वार्ता भएको थियो । तर, उक्त वार्ता बिनानिष्कर्ष टुंगिएको थियो र अर्को वार्ता हुने भनिए पनि अहिलेसम्म हुन सकिरहेको छैन । सचिव मलेगो उपस्थित उक्त वार्तामा अध्यक्ष झालाई पनि बोलाइएको थियो । तर, झाले आफू बाहिर रहेको जनाउ दिँदै वार्तामा आउन असमर्थता जनाएकी थिइन् । तर, विश्वस्त सूत्रका अनुसार शिक्षा मन्त्रालयमा वार्ता चलिरहँदा अध्यक्ष झा भने नयाँबानेश्वरको एउटा होटलमा कफी पिउँदै थिइन् ।
साझा प्रकाशन सुधारका लागि प्रतिवेदन तयार गर्न गठित कार्यदलले अध्यक्ष झालाई हटाउन सकिने बाटो खोलिदिएको छ । प्रधानमन्त्री कार्यालयका सचिव राजुमानसिंह मल्लको संयोजकत्वमा गठित कार्यदलले संस्थाको साधारण सभा नहुन्जेलसम्मका लागि साहित्यिक व्यक्तिलाई मन्त्रिपरिषद्बाट नियुक्त गर्न सकिने सुझाव दिएको थियो । साधारण सभापछि अध्यक्ष निर्वाचित र महाप्रबन्धक चाहिँ खुला प्रतिस्पर्धाबाट चयन गरिनुपर्ने सुझाव पनि उक्त कार्यदलले दिएको छ । कार्यदलमा प्रगतिशील लेखक संघका अध्यक्ष अमर गिरी, नेपाल लेखक संघका अध्यक्ष विष्णुविभु घिमिरे, सञ्चालक हरिगोविन्द लुइँटेल र सहकारी मन्त्रालय, शिक्षा मन्त्रालयका सहसचिवका साथै सहकारी विभागका सहरजिस्ट्रार र जनक शिक्षा सामग्री केन्द्रका उपमहाप्रबन्धक सदस्य थिए ।
तथापि, नयाँ शैक्षिक सत्र सुरु हुन लागेको हुँदा जनक शिक्षाको पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मा लिएको साझाले कर्मचारीहरूको आन्दोलन चालू रहे पनि पाठ्यपुस्तक छाप्न र वितरण गर्नमा कुनै अवरोध सिर्जना नगर्ने प्रतिबद्धता जनाएका छन् । आन्दोलनरत कर्मचारीहरूले नै यस्तो प्रतिबद्धता जनाएपछि साझाको काम सुचारु हुने भए पनि अध्यक्ष झाको राजीनामाको सवालमा भने रत्तिभर नझुक्ने कर्मचारीहरूले बताएका छन् । कर्मचारीहरूले झाको राजीनामासँगै संस्थाको तत्काल पुन:संरचना, संस्थाको कारोबार र व्यापारलाई निरन्तरता दिइनुपर्ने र कर्मचारीको सञ्चयकोष, तलबभत्तँ, उपदान तथा अन्य सुविधा तत्काल उपलब्ध गराउनुपर्ने माग राखी आन्दोलनमा उत्रिएका हुन् । गएको फागुन ८ गते आन्दोलनरत कर्मचारीहरूमाथि अध्यक्ष झाको निर्देशनमा प्रहरीले दमन गरेपछि उग्र रूप लिन पुगेको हो ।
यसैबीच, राष्ट्रिय सहकारी बैंक लिमिटेडले साझा प्रकाशनलाई ऋण चुक्ता गर्नका लागि सार्वजनिक सूचना जारी गरेको छ । साझाले सो बैंकसित एक वर्षअघि १ करोड ६० लाख रुपियाँ ऋण लिएको थियो । एक वर्षभित्र तिरिसक्ने गरी लिएको ऋण भाका नाघिसक्दा पनि साझाले तिर्न सकेको छैन । सुरुमा सावाँ र ब्याज तिर्दै आए पनि अहिले ब्याजसमेत नतिरिरहेको बताइन्छ । त्यही कारण, गएको फागुन ३० गते एक दैनिकमा साझालाई कर्जा चुक्ता गर्नका लागि सो बैंकले ३५ दिने सूचना जारी गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply