बागमती प्रदेशमा आजदेखि ‘लाइसेन्स’ परीक्षा पुन: शुरू
२० भदौ,काठमाण्डौ । बागमती प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारीचालक अनुमतिपत्र लाइसेन्सको परीक्षा आजदेखि पुन:सञ्चालन गर्दैछ।
गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक ट्रायल परीक्षा स्थगन गरिएका थिए।
मन्त्रालयद्वारा भदौ १३ मा जारी सूचनामा प्रयोगात्मक परीक्षाका लागि आवेदन दिइ बायोमेट्रिक गरेका लिखित परीक्षा र लिखित परीक्षा दिइ प्रयोगात्मक परीक्षामा ट्रायल संलग्न हुने, एकपटक प्रयोगात्मक परीक्षा अनुत्तीर्ण हुने तथा कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजश्व बुझाइसकेका सेवाग्राहीका लागि परीक्षा सञ्चालन हुने जनाएको छ।
यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७८’ स्वीकृत गरेसँगै रोकिएका परीक्षा सञ्चालन गर्न मन्त्रालय मातहतका निकायलाई बाटो खुला भएको हो।
कोरोनाका कारण देशभर परीक्षा रोकिँदा करिब आठ लाख सेवाग्राही समस्यामा परेका जनाइएको छ। विभागका महानिर्देशक नमराज घिमिरेले अब सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७८ का अनुसार परीक्षा हुने जानकारी दिए।
यसैगरी परीक्षाका क्रममा भीडभाड नगरी भौतिक दूरी कायम गर्नुपर्ने, परीक्षा केन्द्रमा प्रवेश गर्नु अगाडि परीक्षार्थीको शारीरिक तापक्रम मापन गर्नुपर्ने, प्रश्नपत्र वितरण तथा हाजिरी गराउँदा उच्च सतर्कता अपनाउनुपर्ने र मापदण्डअनुसार परीक्षा सुरु हुनुअगावै परीक्षार्थीलाई ट्रायल हुने समय तोकी तोकिएको समयमा परीक्षा सञ्चालन गरिने उल्लेख छ।
तोकिएको समयमा उपस्थित हुन नसक्ने परीक्षार्थीलाई अनुपस्थित भएको मानिने र सोही दिनको अन्य सिफ्टमा सञ्चालन हुने परीक्षामासमेत सहभागी नगराउने मापदण्डमा प्रावधान छ। परीक्षार्थीलाई प्रयोगात्मक परीक्षाको दिन, सिफ्ट र समयको जानकारी परीक्षा सञ्चालन हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि उपलब्ध गराइने व्यवस्था मापदण्डमा गरिएको छ। परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० परीक्षार्थीलाई मात्र सहभागी गराइने भनिएको छ।
यसैबीच नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि वस्तुगत नमूना प्रश्न सार्वजनिक गरेको छ। विभागले ‘क’ ‘ख’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर सहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको अनुमतिपत्रको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक गरिएको हो।
लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्थासम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारी साधनको प्राविधिक पक्षसम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटी पूर्णाङ्क १०० रहने गरी चार/चार अङ्कका जम्मा २५ वस्तुगत बहुउत्तर प्रश्न सोधिने जनाएको छ। त्यही सङ्ग्रहभित्रबाट २५ वस्तुगत बहुउत्तर प्रश्न सोधिने र ३० मिनेटका परीक्षामा उत्तीर्ण हुन न्यूनतम ६० अङ्क ल्याउनुपर्ने छ । निर्देशिकामा प्रयोगात्मक परीक्षाका प्रावधानमा समेत परिमार्जन गरिएको बताइएको छ।
भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा प्रयोगात्मक परीक्षा
यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले प्रयोगात्मक परीक्षाका लागि ‘ट्रायल सेन्टर’का रूपमा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरलाई स्वीकृति दिएको छ।
चन्द्रागिरि नगरपालिका–१२ बलम्बूस्थित गुर्जुधारामा रहेको सो एकेडेमीले सरकारको मापदण्डअनुसार प्रयोगात्मक परीक्षा सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताएको छ।
नेपालको सबैभन्दा ठूलो र सुविधासम्पन्न सो एकेडेमी ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ। सो एकेडेमीमा सबै प्रकारका यातायातका साधनका लाइसेन्सको प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुविधा छ। कोभिड–१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा सुरु हुने एकेडेमीका अध्यक्ष राजेश घिमिरेले जानकारी दिए।
‘प्रयोगात्मक परीक्षार्थीका लागि सामाजिक दूरी अनिवार्य कायम गरिएको छ। ज्वरो मापन, स्यानिटाइजर तथा मास्क अनिवार्य गरिएको छ’ उनले भने।
सरकारले अवलम्बन गरेको सहकारी, सार्वजनिक र निजी क्षेत्र सहभागी तीनखम्बे अर्थनीतिअनुसार विसं २०७३ मा एकेडेमी स्थापना भएको थियो। ऐकेडेमीमा दुई पाङ्ग्रे, चारपाङ्ग्रे तथा ठूला सबै प्रकारका सवारीको प्रयोगात्मक परीक्षा दिन तथा प्रशिक्षण व्यवस्था रहेको एकेडेमीका प्रबन्ध निर्देशक माधव अधिकारीले बताए।
‘न्यूनतम शुल्कमा गुणस्तरीय सेवा दिइरहेका छौँ। निर्धारित स्वास्थ्य मापदण्ड पूरा गरी सबै प्रकारका यातायातका साधनको लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा आजदेखि सञ्चालनमा ल्याएका छौँ। गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता हो,’ उनले भने।
कोरोना भाइरसका जोखिमका कारण लामो समयसम्म बन्दाबन्दी हुँदा एकेडेमी सञ्चालनमा समेत आर्थिक सङ्कट परेको जनाइएको छ। सरकारले जग्गा भाडा छुट तथा अन्य सुविधा नदिँदा एकेडेमी चरम आर्थिक समस्यामा परेको हो।
‘सरकारको आग्रह, सेवाग्राही माग र चाहनालाई ध्यान दिएर मात्र एकेडेमी सञ्चालन गरेका हौँ। हामी चरम आर्थिक सङ्कट छौँ, सरकार तथा स्थानीय निकायबाट समेत कुनै सुविधा पाएका छैनौँ”, एकेडेमीका सञ्चालक रामनारायण घिमिरेले भने।
एकेडेमीले सामाजिक दायित्वअन्तर्गत बन्दाबन्दीका समयमा गर्भवती, मिर्गौला, मुटु, क्यान्सर, फोक्साका बिरामीलाई आफ्ना सवारी साधनमार्फत अस्पताल जान र आउन निःशुल्क यातायातको व्यवस्था गरेको थियो।
यसैगरी नगरपालिकाद्वारा स्थापित कोरोना कोषमा रु एक लाख आर्थिक सहयोगसमेत गरेको थियो। एकेडेमीले दक्ष चालकद्वारा सवारी सिक्न चाहनेका लागि विशेष सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण सञ्चालन गर्दै आएको छ।
सम्बन्धित समाचार
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
Leave a Reply