तलबाटै बढार्ने प्रचण्ड–नीति
काठमाडौं । पच्चीस वर्षपछि हुन लागिरहेको महाधिवेशनमा पुन: आफ्नो वर्चस्व कायम राख्न एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आफूइतरका नेता–कार्यकर्ताहरूलाई प्रतिनिधि चयनमै ठेगान लगाउने रणनीति अपनाएका छन् । प्रचण्डको त्यस्तो रणनीतिपछि केन्द्रीय प्रतिनिधिहरूमा अहिलेसम्मको परिणामअनुसार नब्बे प्रतिशतभन्दा बढी प्रचण्ड पक्षधर चयन भएका छन् । धेरै प्रतिनिधि चयन हुने काठमाडौं र ललितपुरजस्ता जिल्लाको परिणामले विराटनगरमा हुन गइरहेको एमाओवादी महाधिवेशनमा प्रचण्डको एकलौटी हुने निश्चित देखिएको छ ।
तीन दिनअघि भएको काठमाडौंको सम्मेलनमा सर्वसम्मतको नाममा प्रचण्ड पक्षधरले कब्जा जमाउन पुगेको छ । सम्मेलनका अधिकांश प्रतिनिधिले केन्द्रीय प्रतिनिधि चयन चुनावी प्रक्रियाबाट हुनुपर्ने माग राखे पनि प्रचण्ड पक्षधरका ठूला नेताहरूसमेत बढारिने स्थिति उत्पन्न भएपछि सर्वसम्मत गर्ने टुंगो गरिएको थियो । अलि बढी आक्रोश व्यक्त गर्ने र चुनावको कुरा उठाउनेहरूलाई मनोनीतमा पार्ने आश्वासन दिएर थामथुम पारिएको थियो । केन्द्रीय प्रतिनिधि बन्न वञ्चित एक माओवादी कार्यकर्ताले भने– ‘चुनाव गराएर हारिएको भए पनि चित्त बुझाउने ठाउँ हुन्थ्यो । तर, चुनाव नै नगरी सर्वसम्मतको नाटक रचियो र ऊर्जावान कार्यकर्ताहरूलाई प्रतिनिधि बन्नबाट वञ्चित तुल्याउने काम भएको छ ।’
काठमाडौंबाट केन्द्रीय प्रनिनिधिमा चयन भएकामध्ये अधिकांश प्रचण्ड पक्षधर चुनिएपछि अहिले डा.बावुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पक्षधर रन्थनिएका छन् । तर, गुटबन्दीको कारण प्रतिनिधि चयन नभएकाहरूलाई मनोनीत कोटामा पार्ने आश्वासन दिए पनि त्यस्तो नहुने अनुमान गरिएको छ । र, अहिले नै तलबाटै बढार्ने नीतिअनुरूप प्रचण्ड पक्षधरले अग्रसर भएको बुझिएको छ । यद्यपि, डा.भट्टराई पक्षधरले पनि प्रतिनिधिहरूमा आफ्नो पक्षका मानिस पार्न निकै जोडबल गरेका थिए । काठमाडौंमा डा.भट्टराई पक्षका हिसिला यमी, देवेन्द्र पौडेलहरू भए पनि उनीहरूबाहेक अरू प्रभावशाली व्यक्ति चयन हुन सकेनन् ।
केन्द्रीय प्रतिनिधि चयनमा डा.भट्टराई र श्रेष्ठ निकटहरुलाई छानी–छानी फ्याँकिएको छ । पूर्व एकताकेन्द्रका स्वनाम साथी, अन्जना विसंखे, हरिगोविन्द लुइँटेल, चन्डेश्वर श्रेष्ठलाई प्रतिनिधि बन्नबाट वञ्चित तुल्याइएको छ भने डा.भट्टराई र उनकी पत्नी यमीका निकट रहेका खिमलाल देवकोटा, भूमिनन्द देवकोटा, सविना अर्याल, जागृत रायमाझी, तारा विक, ठाकुर देवकोटाहरू पनि प्रतिनिधि चयन हुन सकेनन् । प्रतिनिधि चयन नभएकाहरूलाई मनोनीत गर्ने भनिएको छ । एमाओवादीले सम्मेलनका लागि २५ प्रतिशत प्रतिनिधि मनोनीत गर्न पाउने व्यवस्था गरेको छ ।
त्यसरी नै, एमाओवादीमा चैतेहरूको नराम्ररी बिजोग हुन पुगेको छ । केन्द्रीय प्रतिनिधि चयनमा चैतेहरू बढारिएका छन् । एमालेबाट एमाओवादीमा ठूलो भाग खान गएका डा.डिल्लीराज खनाल, जेबी टुहुरे, गोपाल सिवाकोटी ‘चिन्तन’, पुराना कम्युनिस्ट नन्दकुमार प्रसार्इं, खेमराज मायालु पनि चयन हुन सकेनन् । उनीहरूलाई अध्यक्ष प्रचण्डले मनोनीत गर्ने आश्वासन दिएको बुझिएको छ ।
बाहिरबाट हेर्दा एमाओवादीमा प्रचण्ड, डा.भट्टराई र नारायणकाजी श्रेष्ठको गरी तीन गुट रहेको देखिए पनि भित्री रूपमा भने त्यस्तो नभएको बुझिन्छ । ‘एमाओवादीमा गुटको अस्तित्व छैन । भट्टराईको गुट छ भनिए पनि उनी गुट बनाउने र टिकाउने सवालमा अत्यन्तै कमजोर छन् । ‘एमाओवादीभित्र गुट होइन, एउटा व्यक्तिको एकाधिकार हावी छ’– एकजना सदस्यले भने ।
सम्मेलनका क्रममा काठमाडौंमा कुनै अप्रिय घटना नभए पनि देशका केही जिल्लामा भने कुर्सी हानाहानसम्मको स्थिति उत्पन्न भएको छ । सबभन्दा चर्को विवाद त रूपन्देही जिल्लामा भएको छ । अध्यक्षमा केन्द्रीय नेताहरू वामदेव क्षेत्री, हकिकुल्ला खाँ, माधव शर्मा र टंकमणि बन्जाडेले दाबी गरेपछि निकै विवाद चर्किएको थियो र अन्त्यमा कुर्सी हानाहानसमेत भएको थियो । त्यस्तै, विवाद रसुवामा पनि भएको थियो, त्यहाँ एकअर्का समूहबीच कुटपिटसमेत हुन पुगेको छ । एमाओवादीको रौतहट सम्मेलनमा भने प्रचण्ड र भट्टराई समूहबीच बेग्लाबेग्लै सम्मेलन हुने भएको छ । भोजपुरा राज्य समितिका संयोजक प्रभु साह र जिल्ला संयोजक विन्देश्वर यादवले एक ठाउँमा र प्रचण्ड समूहका सभासद् अशोक जयसवाल र सत्यनारायण भगतले अर्कै थलोमा सम्मेलन आयोजना गर्न लागिरहेका छन् । यसरी नै, धनुषामा पनि तीव्र विवाद भएको छ । धनुषामा एमाले परित्याग गरेर गएका रामचन्द्र झाले रामचन्द्र मण्डललाई अघि सारेका छन् भने श्रवण यादवले दीपक यादवलाई अघि सारेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply