प्रधानमन्त्रीलाई बिहा गर्न समय ‘अपुग’
काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले विदेशी पत्रकारसमक्ष आफ्नो जीवनका भित्री कुरा खोल्नुभएको छ । चीनको एसिया प्यासिफिक डेली (एपीडी) मा ‘एट सेन्टेन्सेस टु स्पेल आउट एन अथेन्टिक सुशील कोइराला’ शीर्षकमा प्रकाशित मुख्य समाचारमा भनिए अनुसार, गत वैशाख २९ गते आफ्नै निवास बालुवाटारमा चीनको सिन्ह्वा न्युज एजेन्सीका काठमाडौं ब्युरो प्रमुख चाउ सेन्पिङसमक्ष प्रधानमन्त्री कोइरालाले त्यसरी मन खोल्नुभएको हो ।
कुराकानीका क्रममा कोइरालाले आफ्नो निजी जीवनका कुरा पनि खोल्नुभएको छ । बिहाका बारेमा प्राय: मुख नखोल्ने ७५ वर्षीय कोइरालाले आफूले लोकतन्त्रसँग बिहा गरेको उल्लेख गर्नुभएको छ । पत्रिकामा प्रकाशित आठमध्ये केही बुँदा यस्ता छन् :
म राजनीतिक योगी हुँ
योगी र गुरुहरू धार्मिक मानिस र नेता हुन् । तिनीहरू आम मानिसमा धार्मिक मूल्यहरू प्रवद्र्धन गर्छन् । जहाँसम्म मेरो कुरा छ, म राजनीतिक योगी हुँ ।
विद्यार्थी जीवनका मेरा दिनहरूदेखि नै मैले मेरो पूर्ण जीवन स्वतन्त्रताका लागि समर्पित गरें । मैले कहिल्यै पनि सरकार वा पार्टीको पदका लागि आकांक्षा राखिनँ । आज पनि म यहाँ नेपालको प्रधानमन्त्री भएर सेवा गरिरहँदा समेत त्यस्तो महसुस गर्दिनँ र मलाई सत्ताप्रति लोभ छैन । जनताका मागहरू सम्बोधन गर्नका लागि मसँग केही निश्चित मूल्य र उद्देश्यहरू छन् । हाम्रा लागि असल शासन नै सबभन्दा महत्त्वपूर्ण छ । नेपाल जस्ता विकासशील मुलुकमा भ्रष्टाचार भयावह छ । हामी पारदर्शिता, उत्तरदायित्व, समृद्धि र भ्रष्टाचारविहीनता निश्चित गर्न चाहन्छौं । यसका लागि म धेरै सचेत छु र मैले मन्त्री र सरकारी अधिकारीहरूलाई यो कुरा पालना गर्न भनेको छु ।
मैले लोकतन्त्रसँग बिहा गरेको छु
जब मानिसहरू मैले जीवनभर किन बिहा गरिनँ भनेर सोध्छन्, म सधैं जवाफ दिन्छु, मैले लोकतन्त्रसँग बिहा गरेको छु ।
म भन्न सक्दिनँ, मैले बिहा गरेको भए मेरो जीवन कति फरक हुने थियो ! साँच्चै भन्दा मसँग समय नै भएन । म तीन वर्ष भारतीय र तीनदेखि चार वर्ष नेपाली जेलमा रहें । हामी निकै कठिन दिनहरूमा थियौं ।
मलाई केही चिजको पनि लोभ छैन । म नेपाली जनताको जीवनस्तर उकास्न र हाम्रो मुलुकको प्राकृतिक स्रोतहरूको उपयोग बढाउन चाहन्छु ।
मसँग जादूको छडी छैन
दोस्रो संविधानसभाको निर्वाचनका बेला मतदाताले मसँग भने– ‘तपाईं मेरो मत चाहनुहुन्छ, ठीक छ, यो सडक पहिला पूरा गर्नूस् ।’ मैले तिनीहरूलाई जवाफ दिएँ– ‘म जादुगर होइन र १५ दिनभित्र न म यो सडक पूरा गर्न सक्छु न त त्यस्तो झुटो वाचा नै गर्न सक्छु । मसँग जादुको छडी छैन ।’
म ठान्दिनँ कि म मेरो दायित्वमा असफल भएको छु । म नयाँ सरकारमा आएको साढे दुई महिना पूरा भएको छ । यस अवधिमा हामीले जे हासिल गरेका छौं, त्यो धेरै महत्त्वपूर्ण छ । शान्ति प्रक्रिया पूरा गर्ने बाटो मजबुत बनाउँदै संसद्ले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएकाहरूको छानबिनसम्बन्धी विधेयक पारित गरेको छ । हामीले संविधानसभाका पाँच वटा समितिहरू बनाएका छौं । मुख्यत: हाम्रो प्राथमिकता नयाँ संविधान लेख्नु हो । हामीले जनतासमक्ष वाचा गरेका छौं– एक वर्षभित्र यो काम पूरा गर्नेर्छौं ।
म फेरि चीन जान इच्छुक छु
मैले दुई पटक चीनको भ्रमण गरेको छु । पहिलो पटक तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालासँग सन् १९९२ मा हो । हामीले धेरै ठाउँको भ्रमण गर्यांै र म चीनबाट धेरै प्रभावित भएको थिएँ । मेरो दोस्रो चीन भ्रमणका बेला म तीन दिन त्यहाँ बसें ।
आउँदो जुनमा युनान प्रान्तमा दोस्रो चाइना–साउथ एसिया एक्स्पो आयोजना हुँदैछ । यस्तो कार्यक्रममा सहभागिता जनाउनु मेरा लागि धेरै महत्त्वपूर्ण कुरा हो । म फेरि चीन जान इच्छुक छु तर यो कहिले हुनेछ, म ठ्याक्कै भन्न सक्दिनँ । मेरो कार्यतालिकाले मलाई युनान जाने अनुमति नदिन सक्छ । पहिला हामीले संविधान निर्माण पूरा गर्नुछ, अरू सबैभन्दा हाम्रो प्राथमिकता यसमा छ । तर, भविष्यमा म पक्का पनि चीन भ्रमण गर्नेछु । यसका बारेमा शंका छैन ।
हाम्रो चीनसँग धेरै राम्रो सम्बन्ध छ र भावी दिनमा हामी यसलाई अझ बढाउन चाहन्छौं । नेपालसँग धेरै स्रोत छ र हामी चीनबाट सहयोग चाहन्छौं । हामी जलविद्युत्, कृषि, पर्यटन जस्ता विषयमा सहकार्य गर्न सक्छौं ।
हामी भारत र चीन निकट देख्न चाहन्छौं
यो शान्तिको युग हो । यस ऐतिहासिक समयक्रममा हामीले विश्वमै शान्ति कायम गर्नका लागि आफूले सक्दो गनुपर्छ । चीन र भारतबीचको सम्बन्ध विस्तारै विकास भइरहेको छ । हाम्रो विकास र समस्या बुझ्नका लागि चीन र भारत अझ नजिक आऊन् भन्ने हामी चाहन्छौं । सीमालगायतका विषयमा चीन र भारत कुराकानीमा छन् । शान्ति स्थापना हुनेछ र यसबाट हामी पनि लाभान्वित हुनेछौं । चीन र भारत दुवै विश्वास गर्छन्– नेपाल लोकतन्त्र र स्थायित्व चाहन्छ । तिनीहरू हामीलाई सहयोग गर्न धेरै इच्छुक छन् । नेपाल आफ्ना दुवै छिमेकीबाट लाभ लिन चाहन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply