मानपदवीमा क्या मनपरी !
काठमाडौं । शाहीकालीन मुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउन र चोलेन्द्रशमशेर राणा जस्ता विवादित न्यायाधीशलाई सर्वोच्च अदालतमा ल्याउन ज्यान छोडेर लाग्न बाँकी नराखेका वामदेव गौतमले सरकारद्वारा वितरण गरिने मानपदवी, अलंकार र पदवीमा पनि छानी–छानी त्यस्तै पात्रहरूलाई प्राथमिकता दिएका छन् ।
गृहमन्त्रीको अध्यक्षतामा रहने विभूषण समितिको सिफारिसमा गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट सार्वजनिक नामावली हेर्दा गणतन्त्रका लागि लडेका, जनपक्षीयका रूपमा परिचित र निष्कलंक व्यक्तिहरूले लाजले टाउको निहुराउनुपरेको छ । गौतमले खोजी–खोजी आफ्ना निटस्थ, जिल्लावासी, आफूलाई सहयोग गर्ने र दरबारिया पृष्ठभूमि रहेकालाई सिफारिस गरेका थिए । त्यसबाहेकका नामहरूमा भने गृहमन्त्री गौतममाथि सरकारको नेतृत्व गरिरहेको कांग्रेस पूरै हावी देखिएको छ । एक मन्त्रीले बुधबारलाई दिएको जानकारी अनुसार, सरकारी कर्मचारी र अरू केही नामहरूमा कांग्रेसले अडान लिएर घुसाएको थियो भने त्यति नसुनिएका, विवादित र आफन्तहरूका नाम गौतमले राखेका थिए । उनले भने– ‘हामीलाई त बोल्न पनि गाह्रो भइसक्यो ।’
जनसेवाश्री (पञ्चम) तक्मा पाउने टेकबहादुर विष्ट पञ्चायतकालीन गृहराज्यमन्त्री हुन् । राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माका ससुरा प्युठान निवासी विष्टले गत चुनावमा आफूलाई सघाएबापत गौतमले तक्मा दिएका हुन् । उनी गौतमका पीए विजयविराज विष्टका ठूलाबुबा पनि हुन् । यी त एक उदाहरण मात्र हुन् । गौतमले नमिता–सुनिता हत्याकाण्डको पर्दापास गर्ने पत्रकार किशोर श्रेष्ठलाई पदक दिलाउन नसके पनि त्यही काण्डमा नाम मुछिएका नीर शाहलाई भने सुप्रवल जनसेवाश्री (तृतीय) पदवी दिएका छन् । यसैगरी, शाही शासनकालमा राजाभन्दा पनि चर्को राजावादी हुँदै जिल्ला–जिल्ला पुगेर उद्घोषण गर्ने दाङकी कोमल ओली, शाहीकालमै नेपाल टेलिभिजनका महाप्रबन्धक बनेका शम्भुजित बाँस्कोटा, शाहीकालका ललितपुरका मेयर प्रेमलाल महर्जन पनि गौतमको रोजाइमा परेका छन् । तमाम प्रगतिशील साहित्यकारहरूको साटो शाहीकालमा ज्ञानेन्द्रको प्रशस्तीमा पुस्तक लेख्ने पर्साकी शान्ति चौधरीलाई पुरस्कृत गरिएको छ । प्युठानकै डा. लेखराज सुवेदी र प्रहरी उपरीक्षक ठाकुर ज्ञवालीलाई पनि तक्मा प्राप्त भएको छ ।
पञ्चायतकालमा दरबारको चाकडी गर्नेलाई पदक दिने परम्परालाई पछ्याँदै गृहमन्त्री गौतमले आफ्ना व्यक्तिगत सुरक्षा गार्डका रूपमा काम गरेका प्रहरी निरीक्षक अवधेश विष्टलाई मात्र तक्मा दिएका छैनन्, प्युठान र बर्दियामा मुख्य निर्वाचन अधिकृतका रूपमा खटिएका जिल्ला न्यायाधीशद्वय विष्णुप्रसाद उपाध्याय र ऋषिप्रसाद अधिकारीलाई पनि छोडेका छैनन् । वरिष्ठलाई उछिनेर एआईजीमा सिफारिस हुन सफल प्रतापसिंह थापालाई गौतमले तक्मा दिनुले पनि उनीहरूबीचको हिमचिम कस्तो रहेछ भन्ने देखिन्छ ।
मुख्यमा कांग्रेस हावी
यसअघि तत्कालीन लोकप्रिय प्रधानमन्त्री मनमोहन अधिकारीसँगै नेपाल रत्न प्रदान गर्दा छोरी सुजाताले लिन नमानेकोमा यस पटक गौतमले गिरिजाप्रसाद कोइरालालाई दोहोर्याएर नेपाल रत्न दिने निर्णय गरेका छन् भने मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसँगै कांग्रेसकी नेतृ शैलजा आचार्य र नेता भीमबहादुर तामाङलाई मरणोपरान्त महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) प्रदान गरिएको छ । पहिलो गिरिजाप्रसाद र अहिले प्रधानमन्त्री सुशील कोइरालासँगै रहेका प्रहरी निरीक्षक महेन्द्र मरासिनीलाई पनि चतुर्थ पदक दिएको छ भने प्रमका एडीसी कर्णेल प्रकाश देउजालाई महापौरख भाष्कर अलंकार दिइएको छ । यसैगरी, राष्ट्रपतिका स्वकीय सचिव ललितबहादुर बस्नेतलाई पनि तक्मा दिने निर्णय गरिएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply