के हो नेतृत्व हस्तान्तरण ?
काठमाडौं । सात दिनअघि काठमाडौंमा सुरु भएको नेकपा (एमाले)को नवौं महाधिवेशनमा थुप्रै विषयवस्तुको उठान भए पनि एउटा समूहले भने चालू महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुनुपर्ने आवाज उठाइरहेका छन् । तर, नेतृत्व हस्तान्तरणको कुरा उठाउनेहरूले ‘हस्तान्तरण’ शब्दको अर्थ बुझेर नै कुरा उठाइरहेका छन् कि त्यत्तिकै हावाको भरमा अर्थ र भाव नै नबुझी दौडिरहेका हुन् ? यो प्रश्न पनि चोटिलो रूपमा उठेको छ ।
नेतृत्व हस्तान्तरणको कुरा जोडदार रूपमा उठाउनेहरूले भने ‘हस्तान्तरण’को शाब्दिक अर्थ बुझ्न एक पटक बृहत् नेपाली शब्दकोष पल्टाउनुपर्ने देखिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित ‘बृहत् नेपाली शब्दकोष’ को संशोधित र परिमार्जित सातौं संस्करण–२०६७ को पृष्ठ १३३६ पल्टाउने हो भने ‘हस्तान्तरण’ शब्दको अर्थ सहजै पत्ता लगाउन सकिन्छ । त्यसमा लेखिएको छ–‘१.कुनै वस्तु अरूका हातमा दिने काम, हातेसारी । २.आफ्नो जिम्मामा रहेको वस्तु कसैको जिम्मा लगाउने काम । ३.बेचबिखन । ४.सम्पत्तिको हक एक व्यक्तिबाट अर्को व्यक्तिमा सारिने कानुनी कार्य, दाखिलखारेज ।’
महाधिवेशनमा अध्यक्षका प्रत्यासी केपी शर्मा ओली पक्षधरहरूले ‘नेतृत्व हस्तान्तरण’को कुरा उठाइरहेका छन् । बुटवलमा सम्पन्न एमालेको आठौं महाधिवेशनले नेतृत्वको जिम्मा झलनाथ खनाललाई सुम्पिएको थियो । पार्टी अध्यक्षीय प्रणालीमा गएपछि खनालले एमालेको नेतृत्व गर्दै आउनुभएको हो । नवौं महाधिवेशनमा भने अध्यक्ष खनाल उम्मेदवार हुनुहुन्न र वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता ओली अध्यक्षको प्रत्यासी हुनुहुन्छ, जसमध्ये कोहीसँग पनि हस्तान्तरण गर्नुपर्ने कुनै चीज छैन ।
अध्यक्षका प्रत्यासी वरिष्ठ नेता नेपालतिर इंगित गर्दै नेतृत्व हस्तान्तरणको कुरा उठाइँदा एउटा प्रश्न स्वाभाविक रूपमा उब्जिन्छ– के अहिले एमालेको नेतृत्व बरिष्ठ नेता नेपालको हातमा छ ? आठौं महाधिवेशनपछि नेपाल अध्यक्ष हुनुभएको भए अहिले नेतृत्व हस्तान्तरणको कुरा उठाउनेहरूको तर्कमा दम रहेको ठान्न सकिन्थ्यो तर उहाँ त आठौं महाधिवेशनपछि पार्टीको वरिष्ठ नेताको हैसियतमा हुनुहुन्थ्यो र अहिले अध्यक्ष पदको प्रत्यासी हुनुहुन्छ । तसर्थ, यो महाधिवेशनबाट नेतृत्व हस्तान्तरण त स्वत: हुने देखिन्छ । किनकि, आठौं महाधिवेशनपछि नेतृत्व गर्नुहुने खनाल अहिले अध्यक्षमा उठ्नुभएको छैन र अध्यक्षका दुई प्रत्यासीमध्ये जसले निर्वाचन जिते पनि नेतृत्व हस्तान्तरण स्वत: हुने देखिएको छ । शब्दकोषमा उल्लेख भएको शब्द ‘आफ्नो जिम्मामा रहेको वस्तु कसैको जिम्मा लगाउने काम’ जस्तै अब यो महाधिवेशनबाट वरिष्ठ नेता नेपाल र ओलीबीच जसले जिते पनि स्वाभाविक रूपमा नेतृत्व हस्तान्तरण नै हुने देखिन्छ । यदि नेपालसँग हस्तान्तरणको माग गर्ने हो भने त उहाँबाट प्राप्त हुने पद बरिष्ठ नेता मात्रै हुन्छ ।
बुर्जुवाहरूले लगाउने गरेको कम्युनिस्टहरू शब्दको लफ्फाजीमा फस्ने गरेको आरोपलाई ओली समूहका व्यक्तिहरूले सही सावित तुल्याइदिएका छन् । स्वत: हुने नेतृत्व हस्तान्तरणलाई बढी उछालेर ओली समूहका व्यक्तिहरूले शाब्दिक लफ्फाजीमा अग्रता कायम गरेको देखिएको छ । तर, स्वत: हुने हस्तान्तरणभन्दा पनि यो महाधिवेशनले मूलत: पुस्तान्तरणकै विषयलाई जोडदार रूपमा उठाएको छ र पुस्तान्तरणबिना एमालेले गति लिन नसक्ने पनि महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले बताउँदै आएका छन् । महाधिवेशन प्रतिनिधि सोभियत ढकाल भन्छन्– ‘हामीले पुस्तान्तरण हुनुपर्ने कुरा उठाउँदै आइरहेका छौं । अब एमालेको नेतृत्व युवा पुस्ताको काँधमा आउनुपर्छ भन्ने हाम्रो मान्यता हो । यो महाधिवेशनपछि एमाले नेतृत्वको पुस्तान्तरण हुनेमा वरिष्ठ नेता माधवकुमार नेपालले पनि सहमति जनाउनुभएको हुँदा हामीले उहाँको नेतृत्व स्वीकारेर जान तयार भएका हौं ।’
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply