दुई धरोहरको स्मरण
अर्धसामन्ती र अर्धऔपनिवेशिक स्थितिबाट गुज्रिरहेको तत्कालीन नेपाली समाजमा परिवर्तनका रेखा कोर्ने संकल्पबोध उमारेर कम्युनिस्ट आन्दोलनको बीजारोपण गर्नुहुने नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ आज हामीबीच नरहनुभएको ३६ वर्ष बितिसकेको छ । यो अवधिमा नेपालको कम्युनिस्ट आन्दोलनले धेरै ठूलो र अग्रगामी छलाङ मारिसकेको छ । सामन्ती राज्यव्यवस्था पतन भई देशमा गणतन्त्रको सुनौलो किरण चौतर्फी छरिइरहेको छ । मूलत: ०४६ सालमा पञ्चायती व्यवस्थाको अवसानसँगै देशमा राजनीतिक परिवर्तन मात्र छाएन, समाजका हरेक क्षेत्र र तप्काले प्रगतिको सुनौलो मार्ग अवलम्बन गर्ने आधारविन्दुहरू पनि क्रमश: फेला पार्दै गयो । अहिले देश प्रगतिको दिशातिर जुन गतिमा अग्रसर भइरहेको छ, यी सबै देशमा आएको राजनीतिक परिवर्तनको द्योतक हो भन्नु मनासिब होला ।
पुष्पलालको देहावसान हुँदा देशमा निरंकुश पञ्चायती व्यवस्थाको जगजगी कायम थियो । निरंकुशतन्त्रको जाँतोमुनि पिसिएका जनतामा परिवर्तनको भोक नजागेको भने थिएन । जनतामा भित्रिँदै गएको राजनीतिक चेतना र परिवर्तनको लालसाले ०३६, ०४६ र ०६२/६३ मा जनउभार उर्लियो र यो स्वाभाविक पनि थियो । किनकि, जनतामा परिवर्तनको लोभ पलायो भने त्यसलाई कुनै पनि निरंकुश शक्तिले रोक्न सक्दैन भन्ने यथार्थ विगतका जनआन्दोलनहरूले पुष्टि गरिसकेको छ । तसर्थ, विगतमा देशमा परिवर्तनका जेजति धर्साहरू कोरिए, त्यसको पृष्ठभूमिमा पुष्पलालले नेपाली भूमिमा रोप्नुभएको कम्युनिस्ट आन्दोलनको बीजारोपणकै प्रतिफल थियो भन्नु अत्युक्ति नहोला ।
जहानियाँ राणा शासनको आखिरी वर्षमा पुष्पलालले नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्नुभयो । केही सहकर्मीहरूलाई लिएर उहाँले नेपालमा कम्युनिस्ट आन्दोलनको जग बसाल्नुभयो । तत्कालीन समयमा कम्युनिस्ट आन्दोलनको जग बसाल्नु त परैको कुरा भयो, त्यसको परिकल्पना गर्नुसमेत अत्यन्तै जोखिमको विषय थियो । प्रजातन्त्रको आश गर्नेहरूलाई हत्या, दमन र देशनिकाला गरिरहेको त्यस बेला देशमा सर्वहारावर्गको राज्यसत्ता स्थापना गर्ने परिकल्पनासहित कम्युनिस्ट आन्दोलनको जग बसाल्नु अत्यन्तै चुनौतीपूर्ण विषय हुनु स्वाभाविकै थियो । तर, पुष्पलालले त्यो साहस जुटाउनुभयो र मध्ययुगीन र बर्बर राजनीतिका पृष्ठपोषक राणा शासनको जरा उखेल्न देशमा एउटा कम्युनिस्ट पार्टीको आवश्यकताबोध महसुस मात्रै गर्नुभएन, कम्युनिस्ट पार्टी स्थापना गरेर जीवनभर लोकतन्त्र स्थापनार्थ लडिरहुनभयो । आज देशमा कम्युनिस्ट पार्टीप्रति जनतामा जुन विश्वास र भरोसा छ, कम्युनिस्ट आन्दोलनको विकास जुन गति र रफ्तारमा भइरहेको छ र लाखौँ जनताको ढुकढुकीमा कम्युनिस्ट पार्टी जसरी टाँसिएर बसेको छ, यसमा पुष्पलालले जग नबसालिदिनुभएको भए अहिले एउटा सम्पन्न, परिपक्व र मजबुत घर निर्माण हुने थिएन ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मरण गरिरहँदा नेपाली प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा र विचारक बीपी कोइरालालाई पनि उत्तिकै स्मरण गर्नु वान्छनीय हुनेछ । राणा शासन र पञ्चायती निरंकुशताविरुद्ध अथक लडाइँ जारी राखेकै बेला निधन हुनुभएका कोइरालाको अहिले जन्मशताब्दी मनाउने क्रम प्रारम्भ भएको छ । कोइरालाको जन्मशताब्दीलाई नेपाली कांग्रेसले भव्य रूपमा मनाउने तयारी गरिरहेको छ । विगतमा परम्परागत रूपमै कोइरालाको स्मृति–दिवश मनाउने नेपाली कांग्रेसले यसपटक भने जन्मशताब्दीको सन्दर्भ पारेर केही रचनात्मक कार्यक्रमहरूमा पनि चासो देखाएको छ । कोइरालाको जन्मशताब्दीलाई विशेष अभियानसहित देशभरि नै कांग्रेसले मनाउन लागेको हो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनलाई विशिष्ट उचाइँ, नयाँ धार, मोड र गतिशीलता प्रदान गर्न कोइरालाको प्रयास अथक रहेकोमा कुनै द्विविधा छैन । देशबाट जहानियाँ राणा शासन अन्त्य गरेर प्रजातन्त्रको सुन्दर बिऊ रोप्न उहाँ र उहाँका परिवारको समेत अहम् भूमिका रह्यो । राणा शासन फ्याँक्न प्रवासमा रहेर आन्दोलन गर्दा उहाँले पारिवारिकदेखि यावत् समस्याहरूलाई बेपर्वाह गर्दै निरन्तर आन्दोलनमै डटिरहनुभयो । फलस्वरूप, देशमा प्रजातन्त्र स्थापना भयो र सत्ताको हिस्सेदार बन्ने सुअवसर कोइरालाले पाउनु पनि भयो । ००७ सालमा आएको प्रजातन्त्रले दरबारिया षड्यन्त्रलाई चिर्दै अगाडि बढे पनि १० वर्षपछि नै देशमा निरंकुश राजतन्त्रको जग बसालिन पुग्यो । तर, जीवनभर निरंकुशतन्त्रका विरुद्ध लडाइँ छेडेका कोइराला विचलित हुने सवालै थिएन र उहाँले निरंकुश राजतन्त्रलाई पन्छाएर देशमा गुमेको प्रजातन्त्र फिर्ता ल्याउन आन्दोलनलाई जारी राख्नुभयो । लामो समयसम्म प्रवासमा रहेर पञ्चायती व्यवस्थाविरुद्ध लडाइँ लडे पनि उहाँ ०३३ सालमा मेलमिलापको नीति लिई भारत प्रवासबाट स्वदेश फर्कनुभयो । तथापि, मेलमिलापको नीति लिई स्वदेश फर्किएपछि पनि उहाँलाई तत्कालीन राज्यव्यवस्थाले बक्रदृष्टिले हेर्न छाडेन र उहाँलाई अनेकथरिका प्रताडना दिने कार्य जारी नै राख्यो । तर पनि, स्वदेशमै बसेर उहाँले पञ्चायती निरंकुशताविरुद्ध आफ्नो आवाज बुलन्द पार्दै जानुभयो । कुनै पनि संकटपूर्ण परिस्थितिलाई निर्भयतापूर्वक सामना गर्न माहिर कोइरालाले देशभित्रै बसेर भुसझैं भित्रभित्रै सल्किइरहेको निरंकुशताविरुद्धको आन्दोलनलाई थप बल प्रदान गर्न सहयोग पुर्याउनुभयो ।
अहिले नेपालको कम्युनिस्ट एवम् प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा पुष्पलाल श्रेष्ठ र प्रजातान्त्रिक आन्दोलनका धरोहर बीपी कोइरालालाई स्मरण गरिँदैछ । यी दुई महान् योद्धाले हिजोका दिनमा तत्कालीन निरंकुशतन्त्रविरुद्ध अथक संघर्ष जारी नराखेका भए र देशमा परिवर्तनको रेखा कोर्न नसघाएका भए आजको नेपाली राजनीति सहज हिसाबले अगाडि बढ्न मुस्किलै पथ्र्यो । तसर्थ, आजका दिनमा यी दुई हस्तीलाई स्मरण गर्नुअघि उहाँहरूले देखाउनुभएको बाटो, अँगालेका नीति एवम् विचारमा देशको राजनीतिलाई अग्रसर गराउन सक्नु नै उहाँहरूप्रतिको साँचो स्मरण हुनेछ ।
सम्बन्धित समाचार
-
ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
-
आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply