माओवादीमा ‘विभिषण’ को ?
काठमाडौं । माओवादीको तीव्र आलोचना गर्दै पूर्वप्रधानसेनापति रुकमांगद कटवालले हालै बजारमा ल्याएको आत्मकथाले दुवै माओवादीभित्र तरंग सिर्जना गरेको छ । उक्त पार्टीलाई गाली गर्दागर्दै त्यहीँभित्रका केही नेतालाई माया गर्दै कटवालले ‘उच्च सम्मान’ व्यक्त गरेपछि पुस्तक पढ्ने कार्यकर्ताबीच तिनको खोजी भएको छ ।
कटवालले पुस्तक सुरु गर्नुअघि धन्यवाद दिँदै लेखेका छन्– ‘माओवादीभित्रै रहेर विभिषण जसरी सत्यको पक्षमा सघाउने नेताहरूप्रति मेरो सधैं उच्च सम्मान रहनेछ ।’ स्पष्टै छ– कटवालले उल्लेख गरेको ‘सत्य’ को अर्थ एमाओवादी अध्यक्ष पुष्ककमल दाहाल नेतृत्वले कारबाही गरेर हटाउन खोज्दा प्राप्त सहयोग नै हो । मुख्यत: त्यही काण्डलाई आधार बनाएर माओवादीको तीव्र आलोचना गरिएको पुस्तकभित्र एमाओवादी र ड्यास माओवादी दुवैका नेताहरूले प्रशस्त स्थान पाएका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग एक साप्ताहिक म्यागजिनका सम्पादकमार्फत आफ्नै निवासमा पहिलो पटक भेट भएको खुलासा गर्दै दाहालले उनकी पत्नी सीता र छोरा प्रकाशसहित कैयौं पटक डिनर खुवाएको उल्लेख गरेका छन् । त्यसक्रममा मित्रता बढ्दै जाँदा दाहालले आफूलाई ‘दाइ’ भन्ने गरेको पनि कटवालले खुलाएका छन् ।
त्यतिबेला विभाजित भइनसकेको माओवादीभित्रैबाट कटवाललाई नियमित सूचना जाँदोरहेछ भन्ने उनको पुस्तकबाट छर्लंग हुन्छ । त्यसक्रममा उनले माओवादीका सबैथरी नेताहरूसँग सम्पर्कमा रहे पनि कृष्णबहादुर महारामाथि विशेष रूपमा भर परेको देखिन्छ । कटवालले पुस्तकमा लेखेका छन्– ‘हाम्रो नेतृत्वलाई बुझाउन सकिएन’– सञ्चारमन्त्रीसमेत रहेका महराले मलाई पटक–पटक भन्नुभएको थियो ।’ पुस्तकमा कटवालले महराको नाम विभिन्न प्रसंगमा उल्लेख गरेका छन् । यसबाट पनि एमाओवादीभित्रबाट कटवालसँग राम्रो पहुँचमा रहेका नेता महरा नै होलान् भन्ने अन्दाज गर्न सकिन्छ । एमाओवादीभित्र महरालाई विभिन्न शक्ति केन्द्र र एजेन्सीहरूसँग सम्पर्क रहेको नेताका रूपमा लिइन्छ । दाहाल प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार ओम शर्मालाई उनले ‘पुराना चिनजानका’ भनेर सम्झिएका छन् । कटवालले बाबुराम भट्टराई र हिसिला यमी एक–दुई पटक आफनो घरमा आएको उल्लेख गरेका छन् ।
ड्याससँग पनि हिमचिम
पूर्वप्रधानसेनापति कटवालले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ पनि आफ्ना निवासमा आइरहने भन्दै उनको खुलेर प्रशंसा गरेका छन् । उनले पुस्तकमा लेखेका छन्– ‘मोहन वैद्य पनि आफ्नै समूह लिएर आउनुहुन्थ्यो । कहिलेकाहीं रामबहादुर थापा उहाँसँगै हुने । वैद्यजी थोरै बोल्ने, हृदयबाट बोलेजस्तो । असाध्यै आत्मीय । छलछामी कुरा नगर्ने ।’ कटवालसँग नियमति भेटघाट गर्नेमा नेत्रविक्रम चन्द र हितमान शाक्यको पनि नाम छ ।
ओली, देउवा र भण्डारीको प्रशंसा
कटवालले आफ्नो पुस्तकमा एमाले अध्यक्ष केपी ओली, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र एमाले उपाध्यक्ष विद्या भण्डारीको खुलेर प्रशंसा गरेका छन् । उनले ओलीले संकटका बेला सेनाको पक्षमा बोलेको र आफूलाई एमाओवादी सरकारले हटाउँदा मध्यरातसम्म शीतल निवासमा बसेर राष्ट्रपतिको पत्र जंगी अड्डामा आइसकेपछि मात्रै त्यहाँबाट निस्केको अनि भण्डारीले चाहिँ रक्षामन्त्री हुँदा सेनाले भनेका सबै कुरा मानेर अभिभावकत्व ग्रहण गरेको भन्दै उनले प्रशंसा गरेका छन् ।
यसैगरी, पूर्वप्रधानमन्त्री देउवाले प्रधानमन्त्री हुँदा सेनालाई बलियो बनाउन भूमिका खेलेको, सेनाका हरेक माग पूरा गरेको, अन्तर्राष्ट्रिय क्षेत्रमा जाँदा पनि सेनाका अधिकारीहरूलाई साथमा लिएर उनैलाई ‘ब्रिफ’ गर्न लगाएको, आफूलाई हटाउँदा संसद् बहिष्कार गर्ने घोषणा गरेको जस्तो कारण उल्लेख गरेका छन् ।
अरू पार्टीका को–कोसँग दोस्ती ?
पूर्वप्रधानसेनापति कटवालले आफ्नो पुस्तकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उल्लेख तटस्थ रूपमा गरेका छन् । दरबारले दु:ख दिएको मामिलामा उनले आफ्नो सहानुभूति र असहमति प्रकट गरेका छन् भने सेनापति हुने बेलामा उनले भेट्न खबर पठाए पनि आफूले नभेटेको भनेका छन् ।
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको उनले खुलेर प्रशंसा गरेका छन् भने गिरिजाप्रसाद कोइरालालाई पनि आदरका साथ उल्लेख गरेका छन् । कोइराला प्रधानमन्त्री र आफू प्रधानसेनापति हुँदाका प्रसंगलाई उनले केलाएका छन् । कोइरालाका बारेमा कटवालको टिप्पणी छ– ‘गिरिजाप्रसाद कोइरालाको कमजोरी उहाँकी एक्ली छोरी र छोरीको कमजोरी सत्ता र शक्ति ।’ यसैगरी, अर्का पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई पनि उनले महत्त्वका साथ उल्लेख गरे पनि बाँकी पूर्वपञ्चका बारेमा उल्लेख गरेका छैनन् ।
पुस्तकमा कटवालले एमाले उपाध्यक्ष वामदेव गौतमले राजाका हातबाट दशैंको टिका लगाएकोमा प्रशंसा गरेका छन् भने आफूलाई हटाउँदा पुष्पकमल दाहाललाई साथ दिएकोमा आलोचना गरेका छन् । गौतम पनि नियमित कटवालकोमा जाने नेताको सूचीमा छन् ।
त्यसैगरी, अरू नेताहरू राति र गोप्यमा भेट्न आए पनि एमालेका भरतमोहन अधिकारीले भने आफूलाई दिउँसै भेट्ने गरेको कटवालले उल्लेख गरेका छन् । एमालेका नेताहरू अमृतकुमार बोहरा, विष्णु पौडेल, राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराईहरूको राजनीतिक विश्लेषणबाट आफूले लाभ लिएको उनले उल्लेख गरेका छन् ।
तराईका नेताहरू उपेन्द्र यादव, विजय गच्छदार, शरतसिंह भण्डारी, अनिलकुमार झा आदिसँग पनि आफ्नो नियमित कुराकानी हुने गरेको उनको भनाइ छ । कम्युनिस्ट नेता नारायणमान बिजुक्छेलाई आफैंले सेनाका पक्षमा उभ्याएको र डा. रामवरण यादवलाई राष्ट्रपतिमा जिताउन भूमिका खेलेको पनि उनको पुस्तकमा उल्लेख छ ।
एमालेका पूर्वअध्यक्ष झलनाथ खनालले एमाओवादीलाई सघाएकोमा उनले चित्त दुखाएका छन् । बुटवल महाधिवेशनमा केपी ओलीलाई जिताउन लागेको भनेर खनालले तुष बोकेको उनको अनुभव छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply