मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर १४ गतेदेखि मध्यपहाडि(पुष्पलाल) लोकमार्ग यात्रा विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार (२०८० कात्तिक २२ गते) पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको २५औं सचिवालय बैठकले मध्यपहाडि लोकमार्ग यात्राको मिति तय गरेको हो ।
लोकमार्ग यात्रा विशेष अभियान मंसिर १४ गते बिहान साढे ८ बजे बैतडिको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नु भई आरम्भ हुने छ र पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन गरिने छ । अभियानको नाम ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ राखिएको छ ।
अभियान मध्यपहाडि लोकमार्गमा सञ्चालन गरिए पनि विकास निर्माण र सामाजिक एकताको सन्देश दिने सिङ्गो देशको राष्ट्रिय अभियानको रूपमा अभियानलाई अगाडि सारिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
देशमा सामाजिक सद्भाव बढाउँदै एकता कायम गर्ने अभियानको अर्को उद्देश्य रहेको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीको नेतृत्वमा सञ्चालन गरिने अभियानका क्रममा मध्यपहाडि लोकमार्गका विभिन्न शहरी क्षेत्रमा सभा, भेला, अन्तरक्रिया गर्दै, ऐतिहासिक स्थलहरूको अवलोकन, उद्यमी व्यवसायीहरूसँग भेटघाट, राम्रा काम गर्नेहरूलाई प्रोत्साहन गर्दै, जनताका गुनासा सुन्दै, विकासका चुनौतीहरूका बारेमा जानकारी लिँदै अगाडि बढ्ने भएको छ ।
यसअघि पार्टीको पाँचौँ केन्द्रीय कमिटी बैठकले पार्टी स्थापनाको ७५औँ बर्षका अवसरमा मध्यपहाडि लोकमार्ग यात्राको कार्यक्रम तय गरेको थियो ।
भूकम्प पीडितका लागि अस्थायी घरटहरा बनाउन एकहजार स्वयंसेवक परिचालन गरिने
बैठकले जाजरकोट भूकम्पका कारण ठूलो जनधनको क्षति भएको प्रति दुःख व्यक्त गर्दै भूकम्पबाट ज्यान गुमाउने (१५३ जना)हरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । बैठकले घाइते भई उपचाररत ३६४ जनाको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
सचिवालय बैठकले भूकम्पबाट पूर्ण र आंशिक गरी झण्डै ३४ हजार घरहरूमा क्षति पुगेका कारण घरबास गुमाएकाहरूको अस्थायी बसोबासको व्यवस्था गर्न मंसिर १ गतेदेखि भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ । पार्टीले अस्थायी घरटहरा निर्माणका लागि एकहजार स्वयंसेवक परिचालन गर्ने र उनीहरूले पाँचहजार कार्यदिनमा एककरोड मूल्य बराबरको श्रमदान गरी अस्थायी तर न्यानो घरटहरा बनाउने उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । उक्त कार्यको संयोजन पार्टीको कर्णाली प्रदेश कमिटीले गर्ने निर्णय सचिवालय बैठकले गरेको छ ।
त्यस्तै, बैठकले भूकम्प पीडितका लागि राहत वितरणको काम निष्पक्ष, पारदर्शी र प्रभावकारी ढङ्गले गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।
केन्द्रीय कमिटी बैठक मंसिर ६ गते च्यासलमा
बैठकले मंसिर ६ गते केन्द्रीय कमिटी छैटौं बैठक बोलाउने निर्णय गरेको छ । मध्यपहाडि लोकमार्ग यात्रा विशेष अभियानको कार्य विन्यासका लागि डाकिएको केन्द्रीय कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासल, ललितपुरमा बस्नेछ ।
यस्तै, आजको सचिवालय बैठकले जिल्ला अधिवेशनको डेडलाइन सारेको छ । यसअघि माघ मसान्तसम्म जिल्ला अधिवेशन गरिसक्न सर्कुलर गरिएकोमा त्यसलाई परिमार्जन गरेर जेठ मसान्तसम्म पुर्याइएको छ ।
छ केन्द्रीय कमिटी सदस्य पद रिक्त
बैठकमा छ जना केन्द्रीय सदस्यको पद रिक्त भएको जानकारी गराइएको छ । गत प्रदेश अधिवेशनमा उम्मेदवार बन्नु भएका केन्द्रीय सदस्यहरूको पद रिक्त भएको जानकारी गराइएको हो ।
पार्टीको विधानको धारा ६७ (४) मा कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्य पदमा उम्मेदवार भएमा पद रिक्त भएको मानिने छ भनिएको छ ।
लुम्बिनी प्रदेशमा हरि रिजाल, बाग्मतीमा कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहाल, गण्डकीमा मायानाथ अधिकारी, कर्णालीमा गुलावजङ्ग शाह र कोशी प्रदेशमा विनोद ढकाल प्रदेश अधिवेशनमा उम्मेदवार बन्नुभएकाले उहाँहरूको केन्द्रीय सदस्य पद रिक्त भएको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो ।
सम्बन्धित समाचार
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
-
नारायणघाट–मुग्लिन सडक मर्मत तयारी: एमसीए–नेपालद्वारा महत्वपूर्ण ओरिएन्टेसन कार्यक्रम
-
कालीगण्डकी नदीमा रैथाने माछाको विविधता: स्वाद, पोषण र प्राकृतिक शुद्धताको प्रतीक
-
नेपालमा सम्बन्ध विच्छेदको दर दोब्बर, हरेक १० विवाहमध्ये एक टुट्दै
-
नेपालमा चेरी खेतीको भविष्य उज्यालो, पहाडी जिल्लामा ठूलो सम्भावना
-
विद्यार्थी ठगीको आरोपमा ९५ कन्सल्टेन्सीमा प्रहरीको आकस्मिक अपरेशन
-
पर्यटन मन्त्रालयद्वारा नेपाल वायुसेवा निगममा नयाँ नियुक्ति
-
निर्माण व्यवसायी संघको चेतावनी : लागत समायोजन नभए विकास आयोजना ठप्प हुने
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
Leave a Reply