बारमा क–कसलाई बन्देज ?
काठमाडौं । अब बहुविवाह गर्ने कानुन व्यवसायीहरूका अगाडि ठूलै तगारो तेर्सिएको छ । बहुविवाह गर्ने नयाँ व्यवसायीहरूले त यो व्यवसायबाट नै हात धुनुपर्ने हुन्छ, बहुविवाह प्रकरणमा मुछिएका कतिपय पुराना व्यवसायीहरूलाई आफ्नी जेठी पत्नीले बहुविवाहको मुद्दा हालेको खण्डमा त्यस्ता बहस गर्नमा बन्देज लाग्नेछ ।
अरूका मुद्दा–मामिलामा बहस गर्ने कानुन व्यवसायीहरू गलत आचरणका नहोऊन् भनेर नेपाल बार एसोसिएसनले कानुन व्यवसायीहरूभित्र शुद्धीकरण अभियान थालेको छ । बारको केही दिनअघि सम्पन्न साधारण सभाले आफ्नो विधानमा व्यापक संशोधन गरी बहुविवाहमा सजाय पाएकालाई सदस्यता नदिने नयाँ व्यवस्था गरेको छ । तर, अदालतले ठहर गरेर सजाय पाइसकेकाहरूको हकमा मात्र नयाँ व्यवस्था लागू हुने बारका उपाध्यक्ष टीकाराम भट्टराईले बताए ।
भट्टराईका अनुसार, कानुन व्यवसायीबीच शुद्धीकरण ल्याउनका लागि विधान संशोधन गरेर यस्तो प्रावधान थपिएको हो । ‘हामीले शुद्धीकरणका लागि यस्तो गरेका हौं । अरू संघसंस्थाले पनि शुद्धीकरण थाले राम्रो हुन्थ्यो’– उनले भने । बहुविवाह ठहर भएर सजाय पाएकाहरूलाई वकालतमा बन्देज लगाइनेसहित भ्रष्टाचारी प्रमाणित भएका व्यवसायीले पनि वकालत पेसाबाट बिदा लिनुपर्ने हुन्छ । यसैगरी, बारको विधानमा किर्ते जालसाजी गर्ने, मानव बेचबिखन गर्ने, जबर्जस्ती करणी गर्ने र ज्यान मुद्दा लागेका कानुन व्यवसायीहरूले पनि वकालत गर्न पाइने छैन । ‘जालसाजी गरेर मुद्दा खेप्ने र त्यसपछि वकालत गर्न आउनेहरूलाई पनि संशोधित विधानले रोकेको छ’– भट्टराईले भने ।
बारले नयाँ व्यवस्था गरेपछि बहुविवाह प्रकरणमा मुछिएका केही व्यवसायीहरूलाई अब साँच्चैको अप्ठेरो पर्ने भएको छ । कानुन व्यवसायसँगै राजनीति गर्ने पूर्वमन्त्री कर्णबहादुर थापा र उनकी कान्छी श्रीमती कमला ओलीलाई कर्णकी जेठी पत्नीले बहुविवाहको मुद्दा उठाएको खण्डमा उनीहरू दुवैको वकालत गर्ने लाइसेन्स धरापमा पर्ने देखिन्छ । बाजुराका थापाले जिल्लामै स्थानीय महिलासित बिहे गरेका थिए । जेठी तर्फबाट सन्तानहरू भए पनि उनले झापाकी कमला ओलीसित दोस्रो विवाह गरेका थिए । सौता–सौताबीच बेलाबखत झडप पर्ने गरेको बताइन्छ ।
यसैगरी, वकालत पेसा गर्दागर्दै एमाओवादीको राजनीतिमा छिरेका खिमलाल देवकोटाले पनि त्यस्तै हविगत भोग्नुपर्ने देखिएको छ । यदि उनकी पहिली पत्नीले बहुविवाहको मुद्दा उछालेको खण्डमा उनले वकालत गर्न पाउने छैनन् । देवकोटाले आफ्नै सालीलाई दोस्री श्रीमतीको रूपमा भित्र्याएको बताइन्छ ।
कानुन व्यवसाय गर्दागर्दै नेपाली कांग्रेसको राजनीतिमा छिरेकी अर्घाखाँचीबाट अघिल्लो संविधानसभाको निर्वाचनमा विजयी पुष्पा भुसालको सवालमा भने बारको संशोधित विधानले छुने वा नछुने प्रस्ट देखिँदैन । किनकि, भुसालका पति डा.चोपलाल भुसालले उनलाई दोस्री पत्नीका रूपमा भित्र्याएका हुन् । अरूको श्रीमान्माथि सौता बन्न जानेको हकमा भने विधानले केही नबोलेको हुँदा भुसाल भने जोगिनेमा परेकी छन् । तर, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, एमालेका नेता विरोध खतिवडालगायतका पहिली पत्नीले मुद्दा मामिलाको सहारा लिएको खण्डमा भने उनीहरूका पनि वकालत गर्ने बाटो बन्द हुने देखिन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply