अग्रज नेतृ रहिनन्
काठमाडौं । जीवनको लामो अध्याय नेपालको प्रजातान्त्रिक एवम् कम्युनिस्ट आन्दोलनका लागि समर्पण गरेकी अग्रणी महिला नेतृ साहना प्रधान अब स्मृतिहरूमा मात्र बाँच्नेछिन् । सोमबारको मध्यरातसँगै उनी पञ्चत्वमा विलिन हुन पुगेकी छिन् । ८८ वर्षीया प्रधान बितेको तीन वर्षयता नशासम्बन्धी बिमारीका कारण थलिएकी थिइन् । गएको जेठ २३ गते मस्तिष्कघात भएपछि उनलाई उपचारका लागि वयोधा अस्पतालमा भर्ना गरिएको थियो ।
नेतृ प्रधानको दु:खद् अवशानमा देश/विदेशका राजनीतिज्ञहरूले गहिरो चिन्ता व्यक्त गरेका छन् । नेकपा (एमाले)ले प्रधानको निधनमा तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने बताएको छ । हिजो बसेको एमाले पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । नेतृ प्रधानको निधनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एक जना असल अभिभावक, लोकतान्त्रिक आन्दोलनले एक जना अग्रणी योद्धा र नेपाली महिलाहरूले एक जना प्रेरक व्यक्तित्व गुमाएको उल्लेख गरेका छन् । एमालेद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘पार्टीलाई थप एकताबद्ध र सुदृढ गर्दै मुलुकको पहिलो राजनीतिक शक्तिको रूपमा स्थापित गर्ने क्रममा नै, संविधान निर्माण गरेर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने तथा नेपाललाई छोटो समयभित्रै समृद्ध, समुन्नत र सबल बनाउने अभियानमा अघि बढ्ने क्रममा नै उहाँप्रति साँचो श्रद्धाञ्जली अर्पण गर्न सकिन्छ ।’
पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नेतृ प्रधानको निधनमा गहिरो शोक व्यक्त गर्दै लोकतान्त्रिक आन्दोलनले एक अग्रणी योद्धा र नेपाली महिलाहरूले एक प्रेरक व्यक्तित्व गुमाएको बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठानका तर्फबाट विज्ञप्ति जारी गर्दै नेता नेपालले नेपाली महिला आन्दोलन र त्यसका मुद्दाहरूको उठान र कार्यान्वयनमा नेतृ प्रधानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पनि उल्लेख गरेका छन् ।
नेतृ प्रधानको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नका लागि हिजो बिहान एमाले केन्द्रीय कार्यालय बल्खुमा राखिएको थियो । प्रधानलाई अन्तिम श्रद्धाञ्जली दिन एमालेका सबै नेताहरूदेखि नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, एनेकपा (माओवादी)का वरिष्ठ नेता डा.बाबुराम भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
वि.सं.१९८४ साल असार २७ गते काठमाडौंमा जन्मिएकी प्रधान सानैदेखि राजनीतिमा सक्रिय भएकी हुन् । ००४ सालमा राणाविरोधी संगठित नारा लगाउनेमध्येकी उनी एक थिइन् । त्यतिबेला, महिलाहरूले पनि पढ्न पाउनुपर्छ भनेर उनीलगायत दिदी साधना, कनकलता र स्नेहलता १५ दिनसम्म अनशन बसेका थिए । उनीलगायत महिला नेतृहरूको अनशनपछि तत्कालीन राणा प्रधानमन्त्री पद्मशमशेरले उनीहरूको माग पूरा गरेका थिए । ००४ साल असारमा गठित नेपाल महिला संघको उनी संस्थापक केन्द्रीय सदस्य थिइन् भने ००७ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेकी उनी अखिल नेपाल महिला संघको संस्थापक महासचिव र नेपाली कम्युनिस्ट आन्दोलनको पहिलो पुस्ताकी अग्रणी नेता थिइन् । राणाविरोधी आन्दोलनमा सफलता पाएपछि प्रधानले काठमाडौंका विभिन्न स्कुलहरूमा अध्ययन गरेकी थिइन् भने ००९ सालमा भारतको पटना बोर्डअन्तर्गत नेपालबाट बीएको परीक्षा दिनेमा उनी एक मात्र महिला थिइन् ।
दाजु गंगालाल श्रेष्ठलाई राणा शासकबाट मृत्युदण्ड दिएपछि राजनीतिमा होमिएका नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसित ००९ सालमा बिहे बन्धनमा बाँधिएकी प्रधान कम्युनिस्ट राजनीतिमा कुनै न कुनै हिसाबले सक्रिय भइरहिन् । ०१७ सालको राजनीतिक ‘कु’ पछि पनि उनी तत्कालीन पञ्चायती व्यवस्थाको विरुद्धमै खडा भइरहिन् । ०३५ सालमा पुष्पलालको निधन भएपछि उनी राजनीतिमा झनै सक्रियतापूर्वक लागिन् । पुष्पलालको निधनपछि पार्टीको प्रवक्ताको जिम्मा बलराम उपाध्यायले लिएका थिए भने उनी चाहिँ पोलिटब्युरो सदस्यका रूपमा सक्रिय थिइन् ।
पञ्चायती निरंकुशताविरुद्ध लड्ने क्रममा ०३२ सालमा त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवाबाट निष्कासित भएकी उनी ०३५/३६ सालको आन्दोलन र ०४२ सालको सत्याग्रहमा सक्रिय हुँदा गिरफ्तार समेत भएकी थिइन् । ०४३ सालमा गठित नेकपा (माक्र्सवादी)को उनी सचिव बनिन् । ०४६ सालमा संयुक्त वाम मोर्चाको अध्यक्ष बनेकी उनले जनआन्दोलनको सह–कमान्डरको भूमिका निर्वाह गरेकी थिइन् । जनआन्दोलनपछि गठित अन्तरिम सरकारमा वरिष्ठ मन्त्रीका रूपमा उद्योग– वाणिज्य मन्त्रालयको जिम्मेवारी सम्हालेकी उनी ०४७ सालमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकीकरण भएपछि झनै नेतृत्वदायी भूमिका निभाउनेमा पर्दछिन् ।
०४८ को आमनिर्वाचनमा काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएकी उनी ०५१ सालको मध्यावधि निर्वाचनमा पनि निर्वाचित भएकी थिइन् । ०५३ मा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीका रूपमा क्रियाशील उनी एमाले विभाजन भएपछि बनेको मालेको ०५४ देखि ०५८ सम्म अध्यक्ष रहिन् । ०६२/६३ को जनआन्दोलनपछि पुन:गठित सरकारमा उनले उपप्रधान तथा परराष्ट्रमन्त्रीको जिम्मेवारी समेत सम्हालेकी थिइन् ।
उनका एक छोरा उमेश श्रेष्ठ र र एक छोरी उषा श्रेष्ठ रहेका छन् । नेतृ प्रधानको शोकमा एमालेले आगामी असोज ११ गते श्रद्धाञ्जली कार्यक्रम राख्ने भएको छ भने देशैभरि श्रद्धाञ्जली कार्यक्रमहरू आयोजना गर्ने पनि जनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply