‘धोका’ पाएपछि बामदेव असन्तुष्ट
काठमाडौं । नवौं महाधिवेशनमा केपी ओलीलाई अध्यक्षमा जिताउन निर्णायक भूमिका निर्वाह गरेका एमाले उपाध्यक्ष वामदेव गौतम त्यतिबेलाको सम्झौता कार्यान्वयन नभएपछि असन्तुष्ट बनेका छन् । ओली अध्यक्ष बनेको १५ दिनभित्र संसदीय दलको नेता बनाउने आश्वासनले हावा खाएछि गौतममा छटपटी बढेको छ ।
गत आइतबार उपाध्यक्ष गौतमलाई भेटेर फर्किएको एक स्रोतका अनुुसार, गौतमले त्यतिबेलाको सम्झौता कार्यान्वयन त परै जाओस्, अध्यक्ष ओलीले त्यसका विषयमा सामान्य कुराकानी गर्न पनि रुचि देखाएका छैनन् । स्रोतले भन्यो– ‘त्यतिबेला पनि यस्तो सम्झौता कार्यान्वयन हुँदैन कि भन्ने वामदेव कमरेडलाई लागेको रहेछ । तर, विकल्प यही हो भनेर उहाँले साथ दिनुभयो । अहिले उहाँलाई बेवास्ता गरिएको छ ।’
ओलीलाई अध्यक्षको उम्मेदवार बनाउन गौशालास्थित मदन भण्डारी फाउन्डेसनको कार्यालयमा मध्यरातमा ओलीका तर्फबाट पाँच र गौतमका तर्फबाट १० जना सहभागी बैठकमा ओलीलाई अध्यक्ष बनाउने, अध्यक्ष बनेको १५ दिनमा उनले संसदीय दलको नेता छोडेर गौतमलाई बनाउने र दुई वर्षभित्र ओलीले अध्यक्ष छोडेर गौतमलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो । एमालेको अर्को महाधिवेशनमा ७० बर्से उमेर हदका कारण उम्मेदवार नै बन्न नपाउने भएपछि अहिले गौतम आफ्नो भविष्यका बारेमा थप चिन्तित भइरहेको बताइन्छ । अहिले ६७ वर्षमा हिँडिरहेका गौतम अर्को पटक उम्मेदवार बन्न पाउने छैनन् । ‘जे–जे हुने हो, यही चार वर्ष हो भन्ने उहाँलाई लागेको छ’– चुनावमा पदाधिकारीमा लडेर पराजित एक नेताले भने– ‘यसबीचमा सम्झौता कार्यान्वयन नभएर धोका हुन्छ कि भन्ने उहाँलाई लागेको छ ।’
माधवको बहाना
ओलीले दलको नेताबाट राजीनामा दिएमा गौतम सर्वसम्मत हुने अवस्था छैन । ओली समूहले त्यस्तो अवस्थामा माधव नेपालले नै दलको चुनाव लड्ने र जित्ने सूचना गौतमलाई दिइरहेको छ । ‘लड्दिनँ भन्दाभन्दै झलनाथ खनाल लड्दा त जम्मा २३ मत फरक पर्यो भने माधव नेपाल लडे भने पूरै परिणाम उल्टिन्छ र दलको नेता फुत्किन्छ’ भन्दै गौतमलाई थुम्थुम्याउने गरिएको छ । तर, गौतमले चाहिँ ‘हिजो महाधिवेशनमा पनि त हामी मिलेर माधवलाई हराएका हौं, सबै मिल्ने हो भने सकिन्छ, मलाई नदिने बहाना हो’ भन्ने गरेका छन् ।
पार्टीमा पनि सल्लाह हुँदैन
एमालेका वरिष्ठ उपाध्यक्ष रहेका र आफूलाई जिताउन निर्णायक भूमिका निर्वाह गरेका गौतमसँग अध्यक्ष ओलीले न्यूनतम सल्लाह पनि नगर्दा उनी थप असन्तुष्ट छन् । उपप्रधानमन्त्रीका रूपमा पार्टीका तर्फबाट सरकारमा नेतृत्व गरिरहेका गौतमले कर्ण थापा र भीम आचार्यलाई मन्त्रीबाट हटाएको खबर सञ्चारमाध्यमबाट थाहा पाएको गुनासो गर्दै आएका छन् । ‘पार्टीमा कुनै सल्लाह हुँदैन’– गौतमनिकट स्रोतले भन्यो– ‘जेमा पनि विद्या भण्डारी भनेपछि उहाँ झस्किनुभएको छ ।’
गृहमा गञ्जागोल
तेस्रो पटक गृहमन्त्री भएपछि गौतमले मन्त्रालयको काममा कुनै रुचि देखाएका छैनन् । गृहमा उनीसँग पहिला पनि काम गरिसकेका एक अधिकारीका अनुसार, मन्त्रालयका काममा गौतम यति धेरै उदासीन पहिला थिएनन् । उनले भने– ‘सरुवा, बढुवा, पदस्थापन आदिमा उहाँको कुनै रुचि छैन । पार्टीबाट जे आउँछ, त्यसबाहेक उहाँको कुनै दबाब छैन । जबकि, पहिला साना–साना कुरामा पनि रुचि हुन्थ्यो ।’ गौतमले अहिले मन्त्रालयमा हुने कुनै पनि ‘साना कुरा’मा पटक्कै रुचि नदेखाएको र पहिला त्यस्तो काममा सघाउनेहरूलाई पनि हप्काएर पठाउने गरेको एक अधिकारीले बताए ।
गृहमन्त्री गौतमले प्रहरीमा सरुवा–बढुवा समयमा गर्न नसेको, कर्मचारी सरुवा गर्दा न्याय गर्न नसेको, ठूला आर्थिक योजना बढी ध्यान दिएको, अरू मन्त्रालयसँग समन्वय गर्न नसकेको, आफ्नै टिमको समन्वय गर्न नसकेको जस्ता गुनासा ओलीसमक्ष बारम्बार पुग्ने गरेका छन् । ‘यो उनको अन्तिम मौका हो, छोडिदिऔं’ भन्दै ओलीले बेवास्ता गर्ने गरेका छन् ।
पार्टीमा अझै निर्णायक
उमेर हदका कारण चार वर्षपछि पार्टीबाट अवकाश लिने भए पनि पार्टीमा रहँदासम्म गौतम निर्णायक बन्न चाहन्छन् । अहिले १७ जना सदस्य रहेको स्थायी समितिमा गौतमले साथ नदिएमा अध्यक्ष ओली अल्पमतमा पर्छन् भने विस्तार गरेर २१ बनाउँदा पनि गौतमले निर्णायक मत आफैंसँग राख्न खोजेका छन् । दुई ओली र एक नेपालका तर्फबाट थपिएर २० हुँदा गौतमले आफ्नो तर्फबाट किरण गुरुङको नाम अघि सार्नुको कारण पनि त्यही हो । त्यस्तो अवस्थामा ओलीका ९ र नेपालका १० हुन्छन् भने किरणसहित गौतमले जसलाई साथ दियो, उही बहुमतमा पुग्छ । पोलिटब्युरोमा पनि त्यही स्थिति देखिएको छ । ६२ सदस्यीय पोलिटब्युरोमा मताधिकार भएका पूर्ण सदस्य ४७ छन् । तीमध्ये अहिले ओलीका २५ र नेपालका २२ छन् । जबकि, ओलीको समूहमा रहेका गौतमसँग चार सदस्य छन् । गौतमसहित राधा ज्ञवाली, यामलाल कँडेल र किरण गुरुङले ओलीको साथ छोड्नासाथ उनी त्यहाँ पनि अल्पमतमा पर्छन् । एक नेताले बुधबारसँग भने– ‘चार वर्ष निर्णायक मत आफ्नो हातमा राख्ने र त्यस आधारमा आफूनिकट नेता–कार्यकर्तालाई सेट गर्ने उहाँको योजना छ ।’
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply