महन्थको मुद्दाका करोडौंको कारोबार
काठमाडौं । जनकपुरमा रहेको जानकी मन्दिरको महन्थ हुँदा मन्दिरको करोडौं सम्पत्ति झ्वाम पारेमा रामतपेश्वर दास वैष्णव फेरि महन्थ बनेर मन्दिरको सम्पत्ति चुस्ने दौडमा पैसाको बिटो बोकेर लागेका छन् ।
२०५३ सालमा गुठी संस्थानबाट पाँच वर्षका लागि महन्थ नियुक्त राम तपेश्वरले भक्तहरूले दान गरेको हजारौं बिघा जग्गा सर्वसाधारणलाई बेचेर करोडौं कुम्ल्याएका थिए । उनले जेठी श्रीमती निर्मलादेवी ठकुरानीलाई जानकी मन्दिरनजिकै मन्दिरकै जग्गामा महल बनाएर राखेका छन् । काठमाडौं आउँदा महँगा पाँचतारे होटलमा बस्ने मासु र रक्सीका सौखिन उनी महिलासँगको मामिलामा पनि कमजोर भएको बताइन्छ । अर्कैसँग विवाह भइसकेकी ठकुरानीसँग सम्बन्ध बढेपछि उनको श्रीमान्को हत्या भएको थियो । त्यसपछि ठकुरानीले तपेश्वरसँग विवाह गरेकी थिइन् । त्यसअघि तपेश्वरको एक जना एयर होस्टेजसँग प्रेम सम्बन्ध थियो । ठकुरानीसँग विवाह गर्दैछ भन्ने थाहा पाएपछि ती एयर होस्टेजले विवाह मण्डपमै हंगामा मच्चाएकी थिइन् । त्यसबेला उनलाई अनेक प्रभोलन दिएर थामथुम पारिएको थियो । अहिले तपेश्वरले ती एयर होस्टेजलाई कोटेश्वरमा बंगला किनेर राखिदिएका छन् भने धापासीमा तिनैको नाममा २१ रोपनी जग्गा किनिदिएको बताइन्छ ।
जानकी मन्दिरको पशुपति मन्दिरसँग भन्दा बढी सम्पत्ति छ । सीतालाई उनका भक्त खासगरी मारवाणी समुदायका र अरू वृद्धवृद्धाले आफ्नै छोरी जस्तै मान्छन् र दानस्वरूप जग्गा, सुनका सुटकेश, चुरा, पाउजुलगायतका सामान दान दिने गर्छन् । जानकी मन्दिरसँग हजारौं बिघा जग्गा छ । गत वर्ष संस्थानले साधु प्रवृत्तिका जगदीश दास वैष्णवलाई महन्थ नियुक्त गरेपछि उनकै पहलमा गुठीले ती जग्गामा टहरा बनाएर बसेका डेढ सय परिवारलाई उठाएको थियो । त्यहाँ अझै पनि दुई सय घरपरिवार मन्दिरको जग्गामा बसिरहेका छन् । भारतमा पढेर आएका जगदीश सम्पत्तिको नाममा केही नभएका, अविवाहित व्यक्ति हुन् । उनको प्रवचन भारतको आस्था च्यानलबाट पनि प्रसारण हुनेगर्छ ।
जगदीश नियुक्त भएपछि उनलाई हटाएर आफै महन्थ हुन राम तपेश्वर सर्वोच्च गएका थिए । यस काममा उनले नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र विमलेन्द्र निधिलाई पनि प्रयोग गरिसकेका छन् । स्रोतका अनुसार, निधिलाई तपेश्वरले पाँच करोड रुपियाँ दिएको बताउने गरेका छन् । पैसा पाएपछि निधिले देउवालाई भेटेर तपेश्वरको मुद्दा जिताउन पहल गर्न आग्रह गरेको स्रोतको दाबी छ । प्रधानन्यायाधीश रामकुमारप्रसाद साहलाई विगतमा एउटा अभियोग लाग्दा देउवा र निधिले नै बचाएका हुनाले उनीहरूले त्यसैलाई समाएर प्रधानन्यायाधीशलाई चेपुवामा पारेको बताइन्छ । प्रधानन्यायाधीशलाई भेट्न निधि र तपेश्वर सँगै गएका थिए । तपेश्वर बाहिर बसे भने निधिले भित्र प्रधानन्यायाधीशसँग कुरा गरे । तर, प्रधानन्यायाधीशले कुनै पनि हालतमा आफूले तपेश्वरलाई मुद्दा जिताउन नसक्ने बरु उहाँले चाहेको न्यायाधीशको इजलासमा पारिदिन सक्ने बताएका थिए । त्यति मात्र होइन, निधिले प्रधानमन्त्री सुशील कोइराला र अर्थमन्त्री रामशरण महत मात्र भएको दुई सदस्यीय मन्त्रिपरिषद्का बेला दुवैलाई भेटेर तपेश्वरको मुद्दा जिताउन सहयोग गर्न आग्रह गरेका थिए । मन्त्री महतले महान्यायाधिवक्ता बाबुराम कुँवरलाई बोलाएर कुरा गर्दा सरकारवादी हुने उक्त मुद्दामा त्यसो गर्न नसकिने र मुद्दा आफूले हार्ने बताएपछि त्यही कुरा निधिलाई सुनाएका थिए । निधिले त्यसो भए जसरी हुन्छ गुठी संस्थान प्रमुखबाट पञ्चलाल महर्जनलाई हटाउन आग्रह गरेका थिए । त्यसबेला भूमिसुधार मन्त्रालय पनि महतकै जिम्मामा थियो । महतले महर्जनलाई हटाए पनि । तर, पछि उनी सर्वोच्च अदालतबाट रोक्का आदेश लिएर गए ।
निधि र तपेश्वरको इच्छाअनुसार अहिले यो मुद्दा न्यायाधीशद्वय चोलेन्द्रशमशेर राणा र दीपकराज जोशीको इजलासमा परेको छ । गत पुस २८ गते अन्तिम फैसला सुनाउने भनेर पाँचौं पेसी राखिएको थियो । फेरि माघ २८ लाई अन्तिम फैसला सुनाउने भन्दै छैटौं पेसी राखिएको छ । मुद्दाको फैसला आफ्नो पक्षमा पार्न तपेश्वर एक करोडभन्दा बढी पैसा बोकर हिँडेको बताइन्छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply