बाग्मती सभ्यताको पुन:जागरण
गत शनिबार राजधानीमा अचम्मको दृश्य देखिएको छ । बिदाको दिन भन्दै अबेरसम्म सुत्ने वा बिहानै अल्छी गर्ने काठमाडौंका अधिकांश मानिसहरू त्यसदिन बिहानै घरबाट निस्किए । अघिपछि बाग्मती छेउछाउ पुग्दा कस्तो गन्हायो भन्दै हातले नाक छोपेर हिँड्ने मानिसहरू त्यस दिन चाहिँ बाग्मतीलाई माया गर्दै उसकै छेउमा गएर उभिए । एकले अर्काको हात समाते, बाग्मतीतिर फर्के र क्षमा माग्दै भने, अबदेखि हामी तिमीलाई फोहोर पार्ने छैनौं । उनीहरूले प्रतिबद्धता जनाए, हामी तिमीलाई सफा गर्नेछौं । मुख्य सचिव लीलामणि पौडेलले सय साताअघि सुरु गरेको अभियानप्रति समर्थन जनाउँदै मानिसहरू त्यसरी बाग्मती किनारमा पुगेका थिए । केही समययता बाग्मती सफाइ अभियानले निरन्तरता पाउँदै आएको छ । मुख्य सचिव लीलामणि पौडेलको सपना र सक्रियताको परिणामस्वरूप सुन्दरीजलबाट सुरु भएको यो सफाइ अभियानले अहिले सबैको समर्थन पाएको छ । उक्त दिन पनि उहाँकै पहल र आह्वानमा एक लाखभन्दा बढी मानिसले हातेसाङ्लो बनाएर बाग्मती सफाइ अभियानप्रति आफ्नो ऐक्यबद्धता जनाएका थिए । एक बिहान बाग्मतीको छेउमा पुगेर हात उठाउँदैमा, त्यसको तस्बिर हतार–हतार फेसबुकमा हाल्दैमा र प्रचार गर्दैमा बाग्मती सफा हुने होइन । तर, त्यस घटनाले जे जस्तो संकेत दिएको छ, त्यो चाहिँ सकारात्मक छ । कम्तीमा बाग्मतीमा फोहार गर्दैनौं भन्ने सार्वजनिक संकल्पले नागरिकमा चेतना जगाउनका लागि पक्कै पनि सकारात्मक भूमिका निर्वाह गर्नेछ । राजधानीमा त्यस दिन अपूर्व जमघट देखिएको छ । आपसी विवादका कारण एक ठाउँमा बस्न पनि नसकिरहेका राजनीतिक दलहरू त्यस अभियानमा चाहिँ एकै ठाउँमा उभिएका छन् । कांग्रेस, एमाले, एमाओवादी, माओवादीलगायतका दलहरूका शीर्ष नेताहरू आफ्ना कार्यकर्तासहित बाग्मतीको किनारमा पुग्नुलाई पार्टीगत र व्यक्तिगत स्वार्थबाट माथि उठेर नेताहरू राष्ट्रका जल्दाबल्दा मुद्दामा एक ठाउँमा उभिएको घटनाका हेर्नुपर्छ ।
बाग्मती आफैं फोहोर भएको होइन, हामीले फोहोर गरिरहेका छौं । त्यसका लागि धेरै लामो चौडा कुरा गरेर पनि गर्नुपर्दैन, जबसम्म हाम्रो घरबाट निस्किने ढल सिधै बाग्मतीमा पुर्याइन्छ, तबसम्म जतिसुकै प्रचार वा पहल गरे पनि बाग्मती सफा हुन सक्दैन । मुख्य सचिव लीलामणि पौडेलले सुरु गरेको अभियान प्रशंसनीय छ । साथै, उहाँ आफैं पनि नीतिगत निर्णय गर्ने ठाउँमा हुनुहुन्छ । साथसाथै, अब चाहिँ घरको ढलको प्रशोधनका लागि ठाउँ–ठाउँमा प्रशोधन केन्द्रहरू राख्ने व्यवस्था गर्नुपर्छ । ती प्रशोधन केन्द्रहरूमा प्रशोधित भएपछि मात्रै ढललाई बाग्मतीमा मिसाउने व्यवस्था नगर्दासम्म जतिसुकै कोसिस गर्दा पनि बाग्मती सफा हुन सक्दैन । हुन त अहिले बाग्मतीको किनारमा ठूला–ठूला ढलहरू हाल्ने काम भइहरहेको देखिन्छ । त्यो काम पूरा भएमा पक्कै पनि त्यसले बाग्मतीलाई सफा राख्नका लागि ठूलो भूमिका निर्वाह गर्न सक्छ ।
कुनै पनि मुलुकको राजधानी कति राम्रो छ भन्ने मापन त्यस क्षेत्रको फोहोर व्यवस्थापन कसरी गरिएको भन्ने कुराले निर्धारण गर्दछ । काठमाडौं विश्वका फोहोर सहरहरूको सूचीमा पर्दछ । खासगरी, यहाँको फोहोर व्यवस्थापनमा कुनै दीर्घकालीन योजना छैन । कहिले ओखरपौवा त कहिले सिसडोल भन्दै फोहोरको फोहोरी राजनीति रुमल्लिरहन्छ । फोहोरको उचित व्यवस्थापन नहुँदा फैलिने गरेका देखिने वा नदेखिने रोगहरूको लोखाजोखा नै छैन । फोहोरलाई प्रशोधन गरेर त्यसबाटैं आर्थिक आर्जन गर्ने र त्यसले फोहोर व्यवस्थान गर्न सक्ने प्रविधि विकास भइसकेको कति धेरै समय बितिसक्दा पनि हाम्रो काठमाडौंमा चाहिँ घरछेउमा फोहोर थुपार्ने, केही दिनपछि नगरपालिकाका कर्मचारी आउने, टकमा हाल्ने र लिएर एक ठाउँमा फाल्ने पुरानै चलन कायम छ । एकातिर काठमाडौंका जति पनि ढल छ, त्यो सिधै बाग्मतीमा जोडिएको छ भने अर्कातिर बाग्मती नजिक घर हुनेहरूले आफ्नो घरको जुनसुकै फोहोर विसर्जनका लागि पनि बाग्मतीलाई नै रोज्ने गरेका छन् । यस अवस्थाले गर्दा बाग्मती दिनप्रतिदिन रोगी, जीर्ण र मृत प्राय: बन्दै गएको छ । अहिले सुरु भएको बाग्मती सफाइ अभियानलाई काठमाडौंको फोहोर व्यवस्थापनसँग जोडेर अघि बढाउनुपर्छ । अनि मात्र त्यस महान् अभियानले अपेक्षित सफलता पाउँछ । साथै, जनचेतना र नागरिक जिम्मेवारी निर्वाहको पाटो त छँदैछ ।
सम्बन्धित समाचार
-
ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
-
आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply