अबको ध्यान पुनर्निर्माणमा
बैशाख १२ गते आएको भूकम्पका पराकम्पनहरू रोकिएका छैनन् । र, मानिसहरूका मनमा भूकम्पको त्रास पनि रोकिएको छैन । भूगर्वविद्हरूले अब ठूला भूकम्पहरू जाँदैनन् भनेर आश्वस्त पार्न खोजिरहेका छन् । तर, स–सानो धक्का आउँदा पनि मानिसहरू आत्तिरहेका छन् । यो क्रम अझ केही समयसम्म चलिरहनेछ । तर, प्रकृतिको नियम भनौं वा जीवनको अनिवार्यता, मर्नेहरू मरेर गए । शोक मनाउँदा मनाउँदै पनि हामीले एउटा गर्नैपर्ने काम छ– बाँचेकाहरूले भोलिका लागि सोच्नैपर्छ । त्यसबाहेक हामीसँग अर्को कुनै विकल्प छैन । कठोर प्राकृतिक विपत्तिले हामीलाई लामो समय शोक मनाएर बस्न पनि अनुमति दिइरहेको छैन । किनभने, लगत्तै वर्षायाम सुरु हुन गइरहेको छ । यो खेतीपातीको मौसम पनि हो । यस कुरालाई दृष्टिगत गरी जतिसक्दो छिटो अब बसोबासको व्यवस्था गर्नुपर्छ । जनताले सबै कुरा गुमाएका छन् । उनीहरूका घर लडेका छन्, प्रियजनहरू गुमेका छन्, वस्तुभाउ पुरिएका छन् । यस्तो अवस्थामा आफैं अस्थायी घर बनाएर बस्ने अवस्था पनि छैन । त्यसैले सक्दो छिटो सरकारले उनीहरूका लागि अस्थायी बसोबासको व्यवस्था मिलाउनुपर्छ । लाखौं नागरिकलाई वर्षायाममा पालमुनि बसाल्न सम्भव हुँदैन । दुई–चार दिन टाउको लुकाउन पाल काम लाग्ला तर जब वर्षे झरी दर्किनेछ, माटो गिलो हुनेछ, त्यस्तो बेलामा पालले काम दिनेछैन । त्यही भएर तत्कालका लागि पालभन्दा घरबारविहीन मानिसहरूलाई जस्तापाताको जरुरी छ । गाउँघरमै पाइने काठ, बाँस, जस्ता सामग्री प्रयोग गरेर उनीहरूले अस्थायी टहरा बनाउन सक्छन् र पानी छेक्नका लागि जस्तापाताले सहयोग गर्दछ । त्यसैले अब बाँडिने राहतका लागि पालमा होइन, जस्तापातामा जोड दिन आवश्यक छ ।
साथै यतिबेला हामीले दीर्घकालीन निर्माणका लागि पनि विचार पुर्याएनांैं भने यस्तै विपत्तिको नियमित आकस्मिकता पर्खेर बस्नुपर्ने हुन्छ । छियाछिया परेको देशलाई अझ बढी मजबुतीका साथ सग्लो बनाउने गरी लाग्नुपर्ने छ । त्यसका लागि टालटुले र काम चलाउ होइन, बैज्ञानिक तरिकामा आधारित भएर पुनर्निमाणको काममा जुट्नुपर्छ । त्यसका लागि सरकारले स्थानीय साधन–स्रोतमा आधारित भएर बढी टिकाउ प्रविधि जनतालाई दिनुपर्छ । त्यसका लागि आवश्यक मात्रामा स्थानीय बासिन्दालाई तालिम दिएर कम खर्चमा कसरी बढी भरपर्दा र बलिया घर बनाउन सकिन्छ र भूकम्पबाट बच्न सकिन्छ भनेर सिकाउनुपर्छ । अहिले बेलामा सरकारले केही गरेन भने जनताले हिजो जस्तै आफूले सके अनुसार कच्ची घर बनाउँछन् । त्यसपछि फेरि अर्को दिन भूकम्प आउँदा यस्तै भौतिक र मानवीय क्षति बेहोर्नुपर्ने हुन्छ । त्यही भएर अहिले बेलैमा सरकारले यसतर्फ ध्यान दिनुपर्छ । त्यसका लागि इन्जिनियरहरूको सीप र क्षमतालाई प्रयोग गर्नुपर्छ ।
थिलोथिलो भएको सिंगो राष्ट्रलाई पुनर्निर्माण गर्नु पर्नेछ । व्यक्तिका घर मात्र होइन, प्रधानमन्त्री कार्यालयदेखि तमाम सरकारी भवनहरू बिग्रिएका छन्, ऐतिहासिक सम्पदाहरू ढलेका छन् । यस्तो बेलामा दीर्घकालीन सोच बनाएर सरकारले अब आफ्नो सम्पूर्ण ध्यान पुनर्निर्माणमा खर्च गर्नुपर्छ । स्रोत–साधन र प्रविधिको अधिकतम उपयोगबाट भावी पुस्तालाई समेत सुरक्षित गराउने गरी सरकार अघि बढ्नुपर्छ । दु:खको घडीमा नेपाललाई सहयोग गर्नका लागि अघि बढेका सहयोगी हातहरूलाई पनि त्यही दिशामा परिचालन गर्नुपर्छ । अरु सबै कुरालाई थाँती राखेर छिटोभन्दा छिटो सरकारले पुनर्निर्माणको दीर्घकालीन योजना बनाउनुपर्छ र मुलुकलाई सुरक्षित बनाउन हरसम्भव प्रयत्नहरू गर्नुपर्छ । अनि मात्र जनताले सरकारलाई आफ्नो अभिभावकका रूपमा सम्झना गर्नेछन्, सम्मान गर्नेछन् ।
सम्बन्धित समाचार
-
ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
-
आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply