परराष्ट्रमन्त्री ‘हल्का’
काठमाडौं । ‘मलाई कुनै लोभ छैन, यसभन्दा बढी पाउनु पनि केही छैन’ भन्दै बिनामोलाहिजा काम गर्ने घोषणा गरेका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे आफ्ना पछिल्ला अभिव्यक्तिका कारण कूटनीतिक क्षेत्रमा आलोचित बनेका छन् । राजदूत नियुक्तिका विषयमा उनले गरेको भाषणलाई लिएर आलोचना बढेको हो ।
प्रमुख दुई दलको सरकार भएका कारण सबै कुरा मन्त्री पाण्डेले चाहे जस्तो हुन सम्भव पनि भएन र उनीसँग त्यो अपेक्षा पनि छैन । तर, राजदूत नियुक्तिका बारेमा पटक–पटक उनले दिनै तोकेर अभिव्यक्ति दिने गरेको तर त्यसअनुरूप नियुक्ति हुन नसेकपछि उनले बोलेका कुरालाई हल्का रूपमा लिन थालिएको छ । साउन २ गते आफ्नै मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी परराष्ट्रमन्त्री पाण्डेले एक साताभित्र राजदूत नियुक्त हुने घोषणा गरेका थिए । त्यसअनुरूप त्यही दिन अनलाइनहरूमा समाचार आयो भने भोलिपल्टका पत्रपत्रिकाहरूमा पनि स्थान पायो । तर, तीन साता बितिसक्दा राजदूत नियुक्तिले ठोस आकार नपाउँदा मन्त्री पाण्डे स्वयम् हल्का बनेका छन् ।
असारको अन्तिम साता प्रधानमन्त्री सुशील कोइरालालाई उनका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले साह्रै करकर गरेपछि एमाले अध्यक्ष केपी ओलीसँग राजदूत नियुक्तिका बारेमा कुरा गरेका थिए । तर, अहिलेसम्म संविधानसभामा रिक्त दुई स्थान, प्रमुख निर्वाचन आयुक्त, राजदूतलगायतका पदमा कोइरालाले कुनै चासो नदेखाएका कारण असन्तुष्ट बनेका ओलीले खासै महत्त्व दिएनन् । पछि माधव नेपालले फोन गरेर ‘किन राजदूत नियुक्त नगरेको ?’ भनी प्रश्न गर्दा कोइरालाले जवाफ दिए– ‘मलाई के भन्नुहुन्छ ? तपाईंकै पार्टीका अध्यक्षसँग नाम माग्दा पाएको छैन । अनि कसरी नियुक्त गर्ने ?’ सम्भवत: मन्त्री पाण्डेले त्यसैलाई आधार मानेर एक सातामा राजदूत नियुक्त गर्ने घोषणा गरेका थिए ।
मन्त्री पाण्डेको उक्त घोषणालगत्तै राजदूतका आकांक्षीहरूले ‘लौ हुनै लागेछ’ भनेर दौडधुप तीव्र पारेका थिए । यसअघि मन्त्री, सचिव भइसकेका, संवैधानिक निकायमा दोहोर्याएर नियुक्ति खाएर उमेर हदका कारण अवकाश पाएकादेखि राजनीतिक दलका कार्यकर्तासम्म राजदूतका लागि दौडमा सक्रिय भएपछि नेताका घरमा जाम नै लागेको थियो । अन्तर्राष्ट्रिय समुदायले समेत बल्ल–बल्ल राजदूत नियुक्ति हुने भएछ भनेर चासो प्रकट गरेका थिए । तर, यसपटक पनि मन्त्री पाण्डेको भनाइ भाषणमै सीमित रहेपछि उनीहरूले मन्त्रीलाई नै हल्का रूपमा लिन थालेको कूटनीतिक स्रोतले बतायो ।
प्रधानमन्त्रीका सल्लाहार रहेका दिनेश भट्टराईले जातेजाते राजदूत हुने रहरले लबिङ थालेपछि एमालेमाथि त्यति छिटो नगरे फरक पर्दैन भनेर दबाब परिरहेको छ । भारतस्थित नेपाली दूताबासमा अधिकृत रहँदा अवैध काममा लागेका कारण भट्टराईलाई ०५२ सालमा एमालेकै सरकार हुँदा बीचैमा नेपाल फिर्ता बोलाइएको थियो । मन्त्री पाण्डे त्यस्ता विवादित र कूटनीतिक मर्यादाविपरीत काम गरेका व्यक्तिलाई कुनै हालमा राजदूत नबनाउने पक्षमा छन् ।
बेलायत, जर्मनी, श्रीलंका, बहराइन, ओमन, साउदी अरबिया, ब्राजिललगायतका देशमा लामो समयदेखि नेपाली दूताबास नेतृत्वविहीन छन् ।
मन्त्रालयमा दिनदिनै गनगन
यता, झापाका कृष्णप्रसाद सिटौलाको भएभरको शक्ति प्रयोग गर्दा पनि अघिल्लो पटक राजदूत हुन नसकेका सहसचिव दुर्गाबहादुर सुवेदी क्षेत्री यसपटक मन्त्री पाण्डेको चाकडीमा जुटेका छन् । मलाई जापानी भाषा आउँछ, म अब जापान जान्छु भन्दै गफ दिएर हिँड्ने सुवेदीले अहिले मन्त्री पाण्डेलाई भेटेर ‘हजुर म कांग्रेस होइन, मलाई जापान होइन, कतार पठाइदिए पनि हुन्छ’ भन्दै रोइकराइ गरिरहेका छन् । प्रशासन महाशाखा प्रमुख रहेका सुवेदी दिनको एक पटक मन्त्रीको कार्यकक्षमा पस्ने गरेको सचिवालयमा कार्यरत स्रोतले बतायो । यसैबीच, बिनाप्रतिस्पर्धा ओबर्थर कम्पनीलाई नै एमाआरपी छपाउन दिने परराष्ट्र मन्त्रालयको निर्णय पनि विवादमा परेको छ । किन र के कारणले टेन्डर गरिएन भन्दै प्रश्न उब्जेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply