गृहमन्त्रीका सामु प्रहरीले भने– ‘तपाईंका कारण हाम्रो शिर निहुरिएको छ’
काठमाडौंं । नेपाल प्रहरीका माथिल्लो तहका सबै अधिकृतहरूका सामु त्यसरी आफ्नै आलोचना सुन्नुपर्ला भन्ने कुरा गृहमन्त्री वामदेव गौतमले सायदै सोचेका थिए होला । तर, गत शुक्रबार उनकै सामुन्ने प्रहरी अधिकृतले पचासौँ जनाका बीचमा भने– ‘तपाईंका कारण हाम्रो शिर निहुरिएको छ ।’
कार्यक्रम थियो– माथिल्लो तहका प्रहरी अधिकृतका लागि अयोजित २१ दिने व्यवस्थापन तालिमको समापन । प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेका गौतम सामुन्ने त्यसरी कुरा राख्ने अधिकृत हुन्, डीआईजी नवराज सिलवाल । तालिममा सहभागी सात डीआईजी र १३ एसएसपीका तर्फबाट बोल्ने मौका पाएका सिलवालले गृहमन्त्री गौतमलाई सम्बोधन गर्दै भने– ‘अहिले नेपाल प्रहरीको अधिकार खोसेर सशस्त्र प्रहरीलाई दिने जुन काम भएको छ, त्यसबाट हाम्रो मनोबल खस्किएको छ । ताप्लेजुङको ओलाङचुङ्गोलामा नेपालको झन्डा फहराएर बसेको सिपाहीको पनि आज यही कारणले शिर निहुरिएको छ, काम गर्ने जाँगर नै मरेको छ ।’
नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच चलेको क्षेत्राधिकारको विवादका बारेमा बोल्दै डीआईजी सिलवालले उक्त कुरा राख्दा मञ्चमा बसेका गृहमन्त्री गौतमले कति असजिलो महसुस गरेका रहेछन् भन्ने पछि उनको भाषणका बेला थाहा भयो । १ घन्टा २० मिनेट बोलेका गौतमले अधिकांश समय डीआईजी सिलवालकै भनाइको खण्डन गर्नमा बिताएका थिए । उनको भनाइ थियो– ‘म नेपाल प्रहरीसँगै नजिक छु, मैले कहिल्यै पनि टाढा सोचेको छैन । मानवअधिकारका दृष्टिले पनि पक्राउ गर्दा सूचना दिएर गर्नुपर्छ भनेर मात्र गरेको हुँ । यसबाट नेपाल प्रहरीले मनोबल गिरेको महसुस गर्नुपर्दैन ।’
गृहसचिव सूर्य सिलवालका साथै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सबै एआईजी र भावी आईजीका दाबेदारहरू समेत एकै ठाउँ भएका बेला उक्त कुरा उठेपछि त्यहाँ विशेष चर्चाको विषय बनेको थियो । कतिपयले नेपाल सरकारले निर्णय गरिसकेको विषयमा बोलेको भनेर टिप्पणीसमेत गरेका थिए । तर, बाँकीले चाहिँ आफ्ना कुरा राख्नुपर्छ भन्दै थपेका पनि थिए ।
दास क्यापिटलमाथि बहस
सुन्दै अचम्म लाग्ने कुरा पनि समापन समारोहमा भएको थियो । गृहमन्त्री गौतमले भाषण गरिरहँदा तपाईं त्यहाँ पुगेको भए उनले प्रहरीलाई सम्बोधन गरिहेका छन् वा एमालेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोलिरहेका छन् ? छुट्याउन गाह्रो पर्ने थियो । त्यसको सुरुआत पनि उनै सिलवालले गरेका थिए । तालिमका क्रममा
स्वामी आनन्द अरुणको प्रवचन सुन्नुका साथै उनको आश्रममा समेत पुगेका तालिमेहरूका तर्फबाट बोल्दै उनले फ्याट्ट भनिहाले– ‘दास क्यापिटल लेख्ने कार्ल माक्र्स पनि आध्यात्मिक थिए । म उनी आध्यात्मिक मानिस हुन् भनेर बहस गर्न र प्रमाणित गर्न सक्छु ।’
जीवनभर माक्र्सलाई उद्धृत गर्दै भाषण गरेका, उनकै नाममा पार्टी बनाएर राजनीति गरेका र उनकै दर्शनका आधारमा क्रान्ति हुन्छ भनेर लागेका वरिष्ठ वामपन्थी नेता गौतमलाई त्यति भए पुग्यो । आफ्नो बोल्ने पालोमा उनले मञ्चबाट माक्र्सवादका विविध पाटाबाट धाराप्रवाह व्याख्या दिए । उनको भनाइ थियो– ‘धर्मलाई माक्र्सले अफिम भन्नुभएको छ । धर्म र अध्यात्मक फरक कुरा हो । धर्म नमान्ने मानिस पनि आध्यात्मिक हुन सक्छ । माक्र्स धर्म मान्दैनथे । उनले धर्मलाई अफिम भनेका छन्….।’ माक्र्सको दास क्यापिटललाई सिलवालले गलत बुझेको र गलत उद्धृत गरेको पनि उनले टिप्पणी गरे । अरू प्रहरी अधिकृत भने कहाँको यो बबाल आइलाग्यो भन्दै दिक्क मानिरहेका थिए ।
काठमाडौँ विश्वविद्यालयका प्राध्यापक, बैंकर, प्रधानमन्त्रीका सल्लाहकारदेखि स्वामी आनन्द अरुणले समेत दिइएको उक्त तालिममा उपेन्द्रकान्तको ब्याचले बिदा लिएपछि डीआईजीबाट सिधै आईजी हुने ब्याचका डीआईजी र त्यसपछि आईजी हुने ब्याचका एसएसपीहरू सहभागी थिए । डीआईजी सिलवालका साथै जयबहादुर चन्द, प्रकाश अर्याल, बमबहादुर भण्डारी, मधु पुडासैनी, विजयलाल कायस्थ र अस्पतालका डीआईजी डा. दिनेश पोखरेल सहभागी थिए । त्यसैगरी, एसएसपीहरू रमेश खरेल, सर्वेन्द्र खनाल, राजेन्द्रमान श्रेष्ठ, गणेश केसी, रमेश भट्टराई, पुष्कल रेग्मी, मिलन बस्नेत, छविलाल जोशी, उत्तम कार्की, भोगबहादुर थापा, ज्ञानविक्रम शाहलगायत थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply