संविधान प्रारम्भ गर्दा…
काठमाडौं । संविधानसभाले भदौ ३० मा पारित गरी संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले असोज १ मा प्रमाणीकरण गरेको नेपालको संविधान असोज ३ मा जारी भएको छ । संविधानसभाको अन्तिम बैठकमा राष्ट्रपति डा.रामवरण यादवले संविधान प्रारम्भ भएको घोषणा गरेपछि ०६३ मा बनेको अन्तरिम संविधान प्रतिस्थापन भएको छ ।
० संविधानसभाले संविधान बनाउँदैन कि भन्ने आशंका जस्तै संविधान जारी गर्ने बेलासम्म पनि केही भइहाल्छ कि भन्ने त्रास र आशंका ब्याप्त थियो । खासगरी छिमिकी भारत खुलेरै संविधानको विपक्षमा उभिएको देखिएपछि यस्तो आशंका बढ्नु अस्वाभाविक थिएन ।
० संविधानसभा नियमावलीले संविधान प्रारम्भ भएको घोषणा गर्ने अधिकार राष्ट्राध्यक्षलाई दिएको र राष्ट्रपति यादवले दु्रतमार्गबाट संविधान जारी गर्ने प्रक्रिया र कतिपय अन्तरवस्तुप्रति असन्तुष्टि जनाएका कारण अन्तिमसम्म के हुन्छ भन्ने आशंका कायमै थियो ।
० संविधान प्रारम्भ भएको घोषणा गर्ने समय असोज ३ गते साँझ ५ बजे तय भए पनि राष्ट्रपति डा. यादवले ४५ मिनेट ढिलो गरेका थिए ।
० निमन्त्रणा कार्डमा ४ बजेको समय दिइएको भए पनि नेपालस्थिति विदेशी नियोगका प्रमुखहरूलाई ४:४५ मा उपस्थित हुन खबर गरिएको थियो ।
० संविधानसभा नयाँ बानेश्वरमा मध्याह्न अघिदेखि नै सभासद्, पत्रकार र अन्य आमन्त्रित व्यक्तिहरूको आगमन सुरु भएको थियो ।
० विदेशी कूटनीतिज्ञहरूमध्ये भारतीय राजदूत रणजित राय ढिला उपस्थित हुने मध्येमा थिए ।
० दुलहीझंै सिगारिएको संविधानसभा भवनमा संविधान जारी हुने ऐतहासिक दिनमा सेल्फी नखिच्ने सायद कोही थिए । राजनीतिकर्मीलाई सधैं गाली गर्ने पेसाकर्मी र सर्वसाधारणसमेत सभासद्सँग सामूहिक र व्यक्तिगत रूपमा फोटो खिचाउन लालायित देखिन्थे ।
० विभिन्न जातीय पोसाकमा आएका मध्ये रसुवातिरकी एक तामाङ सभासद्सँग त तस्बिर खिचाउन तँछाडमछाड नै भएको देखिन्थ्यो । एमाओवादी अध्यक्ष पुष्कमल दाहालसम्मले उनीसँग फोटो खिच्न भ्याएका थिए ।
० संविधानसभाले संविधान जारी गर्ने औपचारिक समारोह सुरु नगर्दै संविधानसभा भवन वरपर राजनीतिक दलका कार्यकर्ता र हजारौं सर्वसाधारणको भीड लागेको थियो । उनीहरूले राष्ट्रिय झन्डा हल्लाएर सुसेली हाल्दै संविधानको स्वागत गरेका थिए ।
० प्लसटुका विद्यार्थी र युवापुस्ताको उल्लेख्य उपस्थिति देखिने भीडमा नेपाल–नेपाल भन्ने नारा लागेको थियो ।
० संविधान प्रारम्भ भएको घोषणासँगै संविधानसभा समापन भएलगत्तै नेपाली सेनाले आतिसबाजी सुरु गरेपछि त नयाँ बानेश्वर क्षेत्रको भीड थामिनसक्नु भयो । आतिसबाजीको डाङडाङडुङडुङ र तारा खसेझै उजेलिएको आकास हेर्दै क्षणभरमा दशौ हजार सर्वसाधारण बानेश्वर चोकमा जम्मा भए । उनीहरूले राति अबेरसम्म नाराबाजीसहित खुसियाली मनाएका थिए ।
० संविधानसभाको अन्तिम बैठक सुरु हुने बेलासम्म पनि फोरम लोकतान्त्रिकका विजय गच्छदारसहितका असन्तुष्ट नेताहरू संविधानमा हस्ताक्षर गर्न आए–आए भन्ने चर्चा थियो । तर, उनका अन्तिम पाइला कुन शक्तिले रोक्यो रोक्यो, सकैले यसै हो भनेन ।
० राष्ट्रपति रामवरण यादवले संविधानसभा भवन परिसरमा सैनिक सलामी लिँदासम्म पनि सभासद्हरू गच्छदारकै बाटो हेरिरहेका थिए । दुई तिहाइले पारित गरे पनि पुग्ने संविधानमा ९० प्रतिशत सभासद्को हस्ताक्षर भए पनि धेरैले गच्छदारलाई आएको हेर्न चाहेका थिए ।
० उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुरहरू भने जे गरे पनि आउँदैनन् भन्ने यकिन भएकाले उनीहरूको कसैले खोजी गरेन ।
० दुई वर्षका लागि निर्वाचित भएका राष्ट्रपति यादव आठ वर्षसम्म पदमा बसेर बिदा हुन लाग्दासम्म पनि उनले सलामी ग्रहण गर्ने शैली नमिलाएको देख्दा भीभीआईपीका सुरक्षाकर्मीदेखि कर्मचारीसम्मले आश्चर्य प्रकट गरेका थिए ।
० सुरक्षामा खटिने र शीतलनिवासको व्यवस्थापन सम्हाल्नेहरूले यति त सिकाइदिनुपर्ने भन्दै दुवै हात अगाडि खप्टिएर उभिएका राष्ट्रपतिको बडिल्याङ्वेजसमेत नमिलेको इंगित गर्दै टिप्पणी समेत भएको थियो ।
० संविधानसभामै नआउलाझैं गरी घुर्की लगाएका राष्ट्रपति यादवले संविधान प्रारम्भ भएको घोषणा गर्नुअघि संविधानको पुस्तकलाई पटक–पटक ढोगेका थिए ।
० संविधानसभा अध्यक्ष नेम्वाङले संविधान प्रारम्भ भएको घोषणाका लागि सभा र आफ्नो तर्फबाट धन्यवाद ज्ञापन गर्दा पनि यादवले त्यसैगरी नमस्कार गरिरहे । बल्कोनीको अघिल्लो रोहमा रहेको प्रेस ग्यालरी हटाएर पछाडि खुम्च्याइएका पत्रकारहरूले यो दृश्यलाई नियालिरहेका थिए ।
० संविधानले कानुनका दृष्टिमा सबैलाई समान बनाए पनि संविधान बनेको खुसियालीमा सभाध्यक्ष नेम्वाङले दिएको रात्रीभोजमा भने सार्वभौम नेपाली नागरिकलाई चार वर्गमा विभाजित गरिएको थियो ।
० मर्यादाक्रममा सचिवभन्दा तल रहने सुरक्षा निकायका प्रमुखहरूलाई राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक अंगका पदाधिकारीसहितको अति विशिष्ट समूहमा राखिएको थियो भने संविधान निर्माण गर्ने सार्वभौम जनताको प्रतिनिधि सभासद्, नेपाल सरकारका सचिवहरूलाई दोस्रो श्रेष्णीमा अलग्गै खुवाइएको थियो ।
० ती दुवै स्थानको समाचार संकलन र छायांकनका लागि समेत पुहँच नदिइएका पत्रकारहरूलाई भने भवन बाहिरको बगैंचामा आमन्त्रित सर्वसाधारणको भीडमा लाइन लाग्ने सूचना टाँगिएको थियो ।
० संसद्का बैठकहरूका प्रेसलाई प्रवेश दिने कार्यको प्रारम्भ गरेका नेम्वाङले अघिपछि भने पत्रकारलाई पदेन सभासद् भन्ने गरेकोमा आज किन यस्तो गरे भने जिज्ञासा राखेका थिए ।
० राष्ट्रपतिसँगै कुर्ची नपाएकोमा सधैं गुनासो गर्ने उपराष्ट्रपति परमानन्द झाले अन्तिम बैठकमा बाल्कोनीमा प्रधानन्यायाधीशसँगैको स्थान पाएका थिए । पत्रकार रोह पछाडि हटाइएका कारण यसपटक पत्रकारले उनको गुनासो सुन्न पाएनन् ।
० संविधान जारी गर्ने प्रक्रियाको विरुद्धमा जेहादै छेडेका कांग्रेस सभासद् अमरेशकुमार सिंह, सुरेन्द्र चौधरीको समूहलाई गगन थापाले समेत साथ दिएको देखिन्थ्यो । बैठकको पछिल्लो रोहमा बसेर अनिच्छापूर्वक संविधानमा हस्ताक्षर गरेका थापाले राष्ट्रपतिबाट संविधान जारी भएको घोषणा भएको अन्तिम बैठकमा एमाओवादी नेता बाबुराम भट्टराईले जस्तै हर्षको कुनै संकेत दिएनन् ।
० सधै पत्रकार र युवा जमातमा झ्याम्निे थापा र भट्टराई त्यसदिन कतिबेला आए–गए कसैलाई हेक्का भएन । पछि थाहा भयो, भट्टराई त राष्ट्रपति पनि ननिस्किँदै निस्किसकेका रहेछन् ।
० राष्ट्रपति डा. यादवले संविधान जारी भएको घोषणा गर्नासाथ अरूले टेबुल ठटाएर स्वागत गरे पनि बाबुराम भट्टराईले भने समर्थन जनाएनन् ।
सम्बन्धित समाचार
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
- प्रधानमन्त्री ओलीले पठाए मोदीलाई नेपाल भ्रमणको निम्तो
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
Leave a Reply