केरुङबाट पाइपलाइन आउला ?
काठमाडौं । आखिर संकटकै बेला उपायहरू निस्किँदा रहेछन् । नयाँ संविधान पारित भएको २४ घन्टा नबित्दै दक्षिणतिरका छिमेकी भारतले अघोषित रूपमा नाकाबन्दी लगाएर इन्धन आपूर्तिमा व्यवधान खडा गरेपछि उत्तरी छिमेकी चीनसँग पेट्रोलियम पदार्थ ल्याउन बाध्य तुल्याइयो । सुरुमा अनुदानस्वरूप चीनले १३ लाख लिटर इन्धन दिने टुंगो गरेसँगै चीनबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्नेबारे दुई देशबिच सम्झौतासमेत हुन पुगेको छ ।
अब नेपाल आयल निगम र पेट्रो चाइनाबिच भएको सम्झौताले मूर्त रूप लिने क्रमसँगै अरू नयाँ उपायहरू पनि निस्किएका छन् । नेपाललाई दीर्घकालीन रूपमै इन्धन आपूर्ति गर्ने हिसाबले चिनियाँ पक्षले नेपालको सीमावर्ती आफ्नो भूभाग केरुङबाट नुवाकोटको पिपलटारसम्म पाइपलाइन बिछ्याउनेतिर चासो राखेका छन् । अनुदानस्वरूप केरुङमा आएको इन्धन लिन गएका सरकारी अधिकारी र निगमका टोलीलाई चिनियाँ पक्षले प्रस्ताव राख्दै भनेका थिए, ‘तपाईंहरू तयार हुनुभयो भने हामी एक वर्षभित्रै पाइपलाइन बिछ्याउन तयार छौं । तपाईंहरू सरकारबाट निर्णय गराउनोस्, हामी तुरुन्तै काम थाल्नेछौं ।’
चिनियाँ पक्षले राखेको पाइपलाइनको प्रस्तावप्रति निगम सकारात्मक रहेको बताइन्छ । निगम कर्मचारी संघका अध्यक्ष देवीप्रसाद न्यौपाने भन्छन्, ‘नेपाल र भारतका निगमबीच ४० वर्षदेखि व्यापारिक सम्बन्ध रहँदै आएको छ । तर, नाकाबन्दी लगाएपछि केही खटपट हुनपुग्यो । यस्तो स्थितिमा कुनै अरू छिमेकीले पाइपलाइन बिछ्याउने प्रस्ताव राख्छ भने त्यसलाई हामीले सकारात्मक रूपमालिएर कार्यान्वयन गराउने दिशातिर अघि बढ्नुपर्छ ।’
यदि, चिनियाँ पक्षले राखेको पाइपलाइनको प्रस्तावलाई मूर्त रूप दिने हो भने त्यो छोटो अवधिमै सम्पन्न हुने बताइन्छ । अहिले चीनको केरुङदेखि पीपलटारसम्म पाइपलाइन बिछ्याउँदा ४९ किलोमिटर मात्रै बिछ्याउनुपर्ने हुन्छ । त्यो दूरी भनेको केही महिनाअघि रक्सौल–अमलेखगन्ज पाइपलाइनको दूरीभन्दा १० किलोमिटर मात्रै बढी हो । रक्सौल–अमलेखगन्ज पाइपलाइनको दूरी ३९ किलोमिटर रहेको छ र उक्त पाइपलाइनसम्बन्धी प्रसंग उठेको २५ वर्षपछि मात्रै केही महिनाअघि सम्झौता भएको हो । तर, केरुङ–पिपलटार पाइपलाइनका लागि नुवाकोटको विदुर नगरपालिकामा अवस्थित पिपलटारमा भने निगमले अमलेखगन्जमा जस्तै ठूलाठूला डिपो बनाउनुपर्ने हुन्छ । केरुङदेखि पिपलटारसम्म पाइपलाइन बिछ्याउँदा सबभन्दा बढी इन्धन खपत हुने काठमाडौं उपत्यकाका लागि छोटो र सर्वसुलभ रूपमा इन्धन भित्रिने मार्ग त्यही नै हुने देखिन्छ । किनकि, पीपलटारदेखि काठमाडौंसम्मको दूरी ६५ किलोमिटरभन्दा बढी रहेको छैन ।
अहिले केरुङबाट नेपालमा पेट्रोलियम पदार्थ भित्र्याउँदा बाटोको खराब अवस्थाले गर्दा लक्ष्यअनुरूप इन्धन भित्रिने सम्भावना नरहेको बताइन्छ । सरकारले केरुङबाट दैनिक १२ हजार लिटर पेट्रोलियम पदार्थ ल्याउने लक्ष्य लिए पनि बाटोका कारण सम्भव नहुने स्थिति रहेको छ । न्यौपाने भन्छन्, ‘अहिले बाटोको अवस्था र क्षमताले गर्दा लक्ष्यअनुरूप इन्धन भित्र्याउन सकिने स्थिति छैन ।’ बाटोकै कारण केरुङबाट दैनिक ६ देखि ९ हजारभन्दा बढी पेट्रोलियम पदार्थ भित्र्याउन नसकिने निगम सूत्रले बतायो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply