संस्थापन नै गुटबन्दीमा
काठमाडौं । पार्टीका भ्रातृ संगठन अनेरास्ववियुको आसन्न अधिवेशनलाई लिएर नेकपा (एमाले) मा संस्थापन पक्ष नै खुला रूपमा गुटबन्दीमा उत्रेको छ । संस्थापन समूहले विद्यार्थी संगठनको एउटा समूहको अलग्गै भेला बोलाएर उम्मेदवारी घोषणा गरेपछि यसले पार्टीको नवौं महाधिवेशनपछि मेटिँदै गएको गुटबन्दीको घाउलाई पुन: बल्झाएको छ ।
जति लुकाए पनि पार्टीभित्रको गुटबन्दी लुक्ने विषय अब रहेन । पार्टीभित्र प्रतिपक्षमा रहुन्जेल उक्त पक्षले संस्थापन पक्षका खिलाफमा गर्ने व्यवहार एमालेभित्र सामान्य बनिसकेको छ । अहिले संस्थापनमा पुगेको समूहले हिजो पार्टीभित्र संस्थापनइतर पक्ष हुँदा गरेका गुटगत व्यवहार आम कार्यकर्ताले भुलेका छैनन् । तर, संंस्थापन पक्षबाटै हुने खुलेआम गुटबन्दीले पार्टीलाई कुन दिशातिर लैजाँदै छ भन्ने प्रश्न एमाले पंक्तिमा जोडदार रूपमा उठ्न थालेको छ । निश्चय नै माउ पार्टीको गुटको प्रभाव विद्यार्थी संगठनमा पनि छ । त्यहाँ पनि केपी ओली समूह र माधव नेपाल समूहमा विद्यार्थीहरू विभाजित छन् । विभाजित संगठनलाई एकताबद्ध बनाउन पार्टी नेतृत्वले बढी पहलकदमी लिनुपर्ने हो । मूलत: पार्टीको संस्थापन पक्षले दुवै समूहका विद्यार्थीलाई एक ठाउँमा बोलाएर, छलफल गरेर सर्वसम्मत नेतृत्व चयनका लागि अग्रसरता लिनुपर्ने हो । तर, सहमतिका लागि सिन्को भाँच्नेसम्मको प्रयास नगरी पार्टीको संस्थापन पक्षले गत आइतबार अल्फाबिटा कम्प्लेक्समा एउटा समूहको मात्र भेला बोलाएर नवीना लामा नेतृत्वमा उम्मेदवारको एकपक्षीय घोषणा गरेको छ । उक्त उम्मेदवारी घोषणालाई लिएर सोही दिन हलभित्रै केही नेताविरुद्ध उक्त समूहकै विद्यार्थी नेताहरूले नाराबाजीसमेत गरेका थिए । सहमतिको प्रयास नगरी गुटबन्दीलाई जीवन्त देखाउन संस्थापनबाट भएको यस प्रकारको शैलीको पुरै पार्टी पंक्तिमा आलोचना सुरु भएको छ ।
यता, लामाको घोषणासँगै अध्यक्षको दाबेदारी प्रस्तुत गर्दै आएको दीपक गौतम समूहमाथि नैतिक दबाब उत्पन्न भएको छ । संस्थापन पक्षले एक पटक बोलाएर सर्वसम्मत नेतृत्व चयनको प्रयास सम्म नगरी एक पक्षीय रूपमा उम्मेदवारी घोषणा गरेपछि अलग्गै अर्को समूहको उम्मेदवारी घोषणा गर्नैपर्ने बाध्यता आइलागेको गौतम समूहका एक विद्यार्थी नेताले बताए । केही दिनभित्रै गौतमको नेतृत्वमा उम्मेदवारी घोषणा गर्ने तयारीमा अर्को समूहमा छ । माघ २७ र २८ मा हुने सम्मेलनका लागि प्रतिनिधि चयनको काम लगभग पूरा भएको छ । देशभरबाट आएका प्रतिनिधिको प्रारम्भिक आँकलनमा लामा समूहभन्दा गौतम समूह निकै अगाडि देखिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply