एमालेमा संस्थापनबाटै संस्थागत गुटबन्दी
काठमाडौं । महाधिवेशन सकिएको २० महिनासम्म संगठनात्मक काम ठप्प बनेकोमा नेतृत्वको कार्यशैली र क्षमतामाथि नैतिक प्रश्न खडा भइरहेका बेला एमालेमा संस्थापन पक्षले नै समानान्तर गतिविधिलाई संस्थागत गर्ने अनौठो अभ्यास सुरु गरेको छ ।
अर्को महाधिवेशनको निर्णय भइसकेको अवस्था भए त्यसलाई अस्वाभाविकभन्दा पनि वैचारिक र सांगठनिक नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धाका रूपमा लिन सकिन्थ्यो तर कार्यकाल सकिन तीन वर्ष चार महिना बाँकी छँदै संस्थापनले नै पार्टी कार्यालयबाटै समानान्तर गुटबन्दी गरेर अनौठो सन्देश दिइएको चर्चा हुन थालेको छ । नवौं महाधिवेशनमा आफ्नो समूहमा रहेका देशभरका नेता–कार्यकर्ता बोलाएर अध्यक्ष केपी शर्मा ओलीले दुई दिने कार्यकर्ता भेला गरेका हुन् । मदन भण्डारी फाउन्डेसनको नाम र ब्यानरमा आयोजित कार्यक्रममा सहभागी नेता–कार्यकर्तालाई प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेललगायतका नेताले प्रशिक्षित गरेका छन् भने सबैलाई बोलाएर अध्यक्ष ओलीले भने प्रधानमन्त्री निवास बालुवाटारमा रात्रिभोज खुवाएका छन् । भेलामा पार्टी र सरकार सञ्चालनदेखि दसौं महाधिवेशनको नेतृत्वको विषयमा सात प्रदेश र जनसंगठनसहित आठवटा समूहमा बन्दसत्रमा छलफल भएको थियो । भेलाबाट नेता माधवकुमार नेपाल देशभर सक्रिय बनेको, दसौं महाधिवेशनमा उनी नै अध्यक्ष बन्ने भन्दै हल्ला फिँजाइएको, बहुमतले पेल्न नसक्दा अल्पमतले सक्रियता देखाएर अराजकता निम्त्याइरहेको, सरकारका मन्त्रीहरूले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै सहभागीहरूले आलोचना गरेका थिए ।
दुई अध्यक्ष, दुई सञ्चालक
फाउन्डेसनकी अध्यक्ष राष्ट्रपति विद्यादेवी भण्डारीकी पुत्री उषाकिरण हुन् । फाउन्डेसनकै ब्यानरमा शनिबार कार्यक्रम आयोजना भए पनि अध्यक्षता भने पोलिटब्युरो सदस्य भानुभक्त ढकालले गरेका थिए । त्यसो त अध्यक्ष मात्रै दुई जना होइन, कार्यक्रम सञ्चालकसमेत दुईजना फेरिएका थिए । सुरुमा एमाले केन्द्रीय सदस्यहिक्मत कार्कीले कार्यक्रम सञ्चालन गरे पनि भाँती नपुगेको भन्दै बीचैमा अर्का केन्द्रीय सदस्य डा. राजन भट्टराईले कार्यक्रम चलाएका थिए । ‘जनताको बहुदलीय जनवाद र समृद्धिको यात्रा’ शीर्षकमा स्थायी समिति सदस्य शंकर पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए भने भेलामा सचिव प्रदीप ज्ञवाली, पृथ्बीसुब्बा गुरुङ, भानुभक्त ढकाललगायतले धारणा राखेका थिए । स्थायी समिति सदस्य शंकर पोखरेल, पोलिटब्युरो सदस्य भानुभक्त ढकालसहित ४ सय नेता–कार्यकर्ता सहभागी थिए । संस्थापनबाट निर्वाचित केन्द्रीय सदस्य, आयोगका सदस्यहरू, जिल्ला अध्यक्ष, प्रतिनिधित्व नभएका जिल्लाबाट उपाध्यक्ष र सचिव, विभिन्न जनसंगठनका प्रमुख तथा पदाधिकारीहरूसहित करिब ४ सय सहभागी थिए । तर, गुटमै प्रभावशाली अनुहार रहेका महेश बस्नेत, गोकुल बाँस्कोटा, कृष्णप्रसाद दाहाललगायत एक दर्जन नेता भने नुपस्थित थिए ।
पार्टी कार्यालयमा १० घन्टा छलफल
भेलाबाट निकालिएको समूहगत निष्कर्षका विषयमा महासचिव ईश्वर पोखरेलले सातवटै प्रदेशका टोलीसँग दोस्रो दिन आइतबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म पार्टी कार्यालय, धुम्बाराहीमा छलफल गरेका थिए । भेलामा प्रदेश नम्बर १ बाट विनोद ढकाल, २ बाट अच्यूत मैनाली, ३ बाट देवी ज्ञवाली, ४ बाट टुकराज सिग्देल, ५ बाट नरुलाल चौधरी, ६ बाट यमलाल कँडेल, ७ बाट कर्णबहादुर थापा र जनसंगठनबाट राजेन्द्र अर्यालले समूहगत छलफलको निष्कर्ष राखेका थिए । प्रत्येक टोलीका कम्तीमा ६० जनासँग पोखरेलले छुट्टाछुट्टै छलफल गरेका हुन् ।
बहुमतले पेल्न सकिएन
भेलाका सहभागीले केन्द्रीय कमिटीमा बहुमत हुँदाहुँदै महाधिवेशन सकिएको २० महिनासम्म नयाँ संविधानअनुसार प्रादेशिक ढाँचामा संगठन निर्माण, केन्द्रीय विभागलाई पूर्णता, राष्ट्रिय परिषद् गठन, सल्लाहकार परिषद्लाई पूर्णता र ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गर्न नसकेको भन्दै नेतृत्वको असफलतामाथि आलोचना गरेका थिए । उनीहरूले यही कमजोरीलाई समातेर नेता माधवकुमार नेपाल पक्षले अल्पमतका नाममा समानान्तर गतिविधि गरेर नेतृत्वलाई खुइल्याइरहेको भन्दै अराजकता रोक्न बहुमतका आधारमा निर्णय लिएर अघि बढ्नुपर्ने धारणा राखे ।
दसौं महाधिवेशनपछिको नेतृत्व टुंग्याऊँ
आन्तरिक भेलामा झलनाथ खनाल, माधवकुमार नेपाल, केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल एउटै पुस्ताका नेता भएकाले अब नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्ने धारणा राखिएको थियो । ओलीले नेतृत्वको हस्तान्तरणको नारा नवौं महाधिवेशनमै अघि सारेर नेतृत्व सम्हालेकाले अबको नेतृत्वका विषय स्पष्ट हुनुपर्ने भन्दै उनीहरूले नेता पोखरेल र ज्ञवालीलक्षित प्रश्न गरेका थिए । सहभागीहरूले पुराना नेताबाट पार्टी नचल्ने भन्दै वैचारिक नेतृत्व शंकर, बौद्धिक र सांगठनिक नेतृत्व प्रदीपले गर्ने गरी अघि बढ्दा उपयुक्त हुनेसम्मका सुझाव राखेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply